मोरङमा ठूल्ठूला अपराधिक घटना, २१८७ जना पक्राउ
विराटनगर : शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने मोरङमा १ वर्षको अवधिमा प्रहरीले विभिन्न अपराधिक घटनासँग सम्बन्धित २ हजार ३ सय १६ वटा मुद्दा दर्ता गरेको छ।
दर्ता भएकामध्ये १ हजार ४ सय ५६ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ८६० वटा मुद्दा फर्छ्यौट हुन बाँकी छ। विभिन्न अपराधिक घटनामा संलग्न २ हजार १ सय ८७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये १ हजार ९ सय ४८ पुरुष र २ सय ३९ जना महिला छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार १ वर्षको अवधिमा मोरङबाट ४ सय ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको छ। पक्राउ परेकाबाट १ सय ८९ वर्ष ५ महिना ३ दिन कैद र ७० करोड ५४ लाख ८० हजार ७ सय ७६ रूपैयाँ जरिवाना असुल भएको जानकारी डीएसपी दाहालले दिए।
उनका अनुसार भन्सार चोरी तस्करीमा प्रयोग भएका १९ वटा सवारीसाधन र त्यसमा संलग्न २८ जना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। १२ करोड ८१ लाख ४ हजार ८ सय मूल्य बराबरको तस्करीका सामान बरामद गरिएको दाहालले बताए। त्यसमध्ये अवैध हुण्डी कारोबारको ७ करोड १९ लाख ६८ हजार ६ सय ५० रूपैयाँ प्रहरीले बरामद गरेको थियो।
प्रहरीले १ वर्षमा लागूऔषध गाँजा १ हजार ३ सय ८३ किलो बरामद गरेको छ। चरेश ५ सय ग्राम, ब्राउन सुगर (खैरो हेरोइन) २ सय ६९ ग्राम १ सय ९ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सुल २ हजार ६८, मनोद्धिपक सुई २ हजार २ सय ५४ एम्पुल बरामद गरेको छ। २ हजार २ सय २१ लिटर अवैध घरेलु मदिरा र ८ सय किलो कच्चा पदार्थ बरामद भएको छ। त्यही अवधिमा मोरङमा ३७ हजार १ सय २२ वटा सवारीसाधनलाई कारबाही गर्दा २ करोड ४६ लाख ९६ हजार रूपैयाँ राजस्व संकलन भएको छ।
पछिल्लो १ वर्षमा भएका ७ सय ३९ वटा सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ। १ हजार १ सय ४४ जना घाइते भएका छन्। डीएसपी दाहालका अनुसार ४ हजार ६ सय ८३ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। त्यसबाट १ लाख ९ हजार ६ सय २८ जना लाभान्वित भएको उनले बताए।
उनका अनुसार एउटा भरुवा बन्दुक, ६ वटा पेस्तोल तथा ७ राउण्ड गोलीसहित १० जनालाई पक्राउ गरिएको छ। प्रहरीले ४० क्यूफिट अवैध काठ बरामद गरेको थियो। काठ तस्करीमा प्रयोग गरिएको एउटा पिकअप गाडीसहित ५ जना पक्राउ परेका छन्। नदीजन्य पदार्थको दोहन एवं चोरी तस्करीमा संलग्न ८ जनालाई पक्राउ गरिएको दाहालले बताए। २६ वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गर्दा ५ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको छ। चोरी भएकामध्ये ३८ वटा मोटरसाइकल फेला परेका छन्।
मोरङमा एसपी पोखरेलले चलाएका अभियानहरू
एसपी दीपक पोखरेल जिल्लाको नेतृत्वमा रहँदा प्रहरी कार्यालय परिसरमा वृक्षरोपण गर्नेदेखि मोटरसाइकल ग्यारेज, हल तथा मिसिल भण्डार कक्ष निर्माण र हिरासत कक्षमा थुनुवाका लागि ‘डाइनिङ हल’को व्यवस्था गरिदिएका छन्। उनले तल्लो दर्जाका प्रहरीको गुनासो सम्बोधन तथा मनोबल वृद्धिका लागि सप्ताहिक रूपमा ‘कार्यालय प्रमुखबाट गुनासो सुनुवाई तथा सम्बोधन’ कार्यक्रम र मासिक रूपमा प्रहरी कर्मचारीसँग ‘टी वीथ टिम’ कार्यक्रम सञ्चालनमा ल्याएका थिए।
लागूऔषध न्यूनीकरणका लागि ‘म सक्छु’ (आई क्यान) अभियान चलाएर दुव्र्यसनीलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने कार्य पोखरेलको प्राथमिकतामा पर्यो। उनले मातहतका कार्यालयमा अनुसन्धान टोली परिचालन गरेर सहायता प्रदान गर्नेदेखि लागूऔषधको बढ्दो कारोबार रोक्न र सामुदायिक सचेतनामूलक गतिविधिलाई अभियान सञ्चालन गरे।
अनुसन्धानमा खटिने कर्मचारीलाई विशेष प्रशिक्षण दिने, घरेलु मदिरा नियन्त्रण एवं नष्ट गर्ने र हातहतियारको अवैध कारोबार रोक्न विशेष अप्रेशन चलाउनेदेखि विपद् उद्धार, अवैध भन्सार चोरी तस्करी नियन्त्रण, भारतबाट आयात भएका माछा तथा ब्रोइलर कुखुरा नष्ट गर्ने अभियान उनले चलाए।
पोखरेलका अनुसार मोटरसाइकललगायतका सवारीसाधन चोरी नियन्त्रण, लैंगिक हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम, लागूऔषधविरुद्धको सचेतना र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध नियन्त्रणका लागि अन्तरक्रियालगायतका अभियान चलाइयो । प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि कार्यक्रम, ‘समुदायसँग चिया’, ‘प्रहरीसँग विद्यार्थी’ र ‘पीडित पुनः भेटघाट’लगायतका नयाँ कार्यक्रम पोखरेलले चलाएका छन्।
उनले विभिन्न अपराधबाट पीडित भएकाहरुसँग भेटघाट गरेर उनीहरुको अवस्थाका बारेमा जानकारी लिँदै पीडितलाई न्याय दिलाउन भूमिका खेलेका थिए। १ वर्षको अवधिमा ४१ वटा ‘पीडित पुनः भेटघाट कार्यक्रम’ सञ्चालन गरिएको थियो । त्यस क्रममा ३ सय १७ जना पीडितसँग भेटभाट गरी उनीहरुको पछिल्लो अवस्था र प्रहरीका तर्फबाट गर्नुपर्ने थप सहयोगका बारेमा जानकारी लिइएको थियो।
अर्कोतर्फ कोशी प्रदेशको नामकरणविरुद्ध भएका विभिन्न विरोध र अन्दोलनका कार्यक्रममा सुरक्षा व्यवस्था चुस्त एवं मजवुत बनाउनेतर्फ प्रहरीले महत्वपूर्ण भूमिका खेल्यो। आन्दोलनका बेला एसपी पोखरेल आफैं फिल्डमा खटिन्थे। आन्दोलनबाट हुने सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न प्रहरीले संयमित हिसाबले भूमिका खेलेको थियो।
हालः एसपी पोखरेल कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् भने उनको ठाउँमा एसपी नवराज कार्की आउने भएका छन्।
३८ प्रहरीलाई कारबाही
मोरङमा १ वर्षको अवधिमा प्रहरी संगठनको मर्यादा र आचरणविपरीत काम गर्ने ३८ जना प्रहरी कारबाहीमा परेका छन्। जवानदेखि जुनियर अधिकृतसम्म कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेमा १ जना सइ, ३ असइ, १ वरिष्ठ हवल्दार, ८ हवल्दार, ३ सहायक हवल्दार र २२ जना जवान रहेका छन्।
त्यस्तै शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै उत्कृष्ट काम गर्ने ३ सय १ जना पुरस्कृत पनि भएका छन्। जसमा ४ जना डीएसपी, १४ जना इन्सपेक्टर, ११ जना वरिष्ठ सइ, १५ जना सइ, ४५ जना असइ, २४ जना वरिष्ठ हवल्दार, ४५ जना हवल्दार, ५७ जना सहायक हवल्दार र ८६ जना जवान छन्।
यी हुन् मोरङमा भएका ठूला अपराध
१. २०७९ फागुन ७ गते बूढीगंगा गाउँपालिका-२ मा २८ वर्षीया प्रियंका सोनारको हत्या गरेर शव नरसिंह चौधरीको ग्वालीमा छाडिएको थियो। हत्यामा संलग्न प्रियंकाका पति विराटनगर महानगरपालिका-१९ का रमेशकुमार सोनारसहित कटहरी गाउँपालिका-५ का ३५ वर्षीय उमेश सरदार र ६२ वर्षीय रमानन्द राय पक्राउ परे । अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि तीनै जनालाई कारागार चलान गरिएको छ।
२. विराटनगरकै तुलसी सहकारीले रकम हिनामिना गरेको भनेर बचतकर्ताले २०७९ फागुन १६ गते प्रहरीमा किटानी जाहेरी दिए। अनुसन्धानबाट १ हजार ३ सय ७ जना बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रूपैयाँ सहकारीले ठगी गरेको खुल्यो। साथै, सहकारीको १६ करोड ९७ हजार ४२ लाख बढीको स्रोत खुलेन। प्रहरीले सहकारीमा आवद्ध ८ जनालाई प्रतिवादी बनाएर मुद्दा चलायो। पक्राउ परेका ३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो।
३. मोरङको सुनवर्षी नगरपालिका-१ मा फागुन १७ गते १४ वर्षीय बालक विशाल माझीको हत्या भयो। हत्यामा संलग्न ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी पत्नी ३४ वर्षीया डल्ली पासवान पक्राउ परे। अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि दुवै जनालाई कारागार चलान गरिएको छ।
४. बेलबारी नगरपालिका-१ नक्सालबारीकी ५३ वर्षीया देवी महतको फागुन २५ गते हत्या भयो। प्रहरीका अनुसार आफ्नै पति ५७ वर्षीय हेमकर्ण महतले खुकुरीले टाउकोमा प्रहार गरेर उनको हत्या गरेका थिए। हेमकर्ण चैत २ गते पथरीशनिश्चरे नगरपालिका-१० बाट पक्राउ परे। अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई कारागार चलान गरिएको छ।
५. एसईई परीक्षा दिइरहेका २ सय ५ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गर्यो। विभिन्न विद्यालयमा परीक्षा दिइरहेका उनीहरूलाई चैत २२ गते र २६ गते प्रहरीले पक्राउ गरेको थियो। सार्वजनिक मावि, सरस्वती मावि र जनता माविबाट पक्राउ परेकामाथि इलाका प्रहरी कार्यालय बेलबारी तथा सर्वोदय मावि र सरस्वती माविबाट पक्राउ परेकामाथि इलाका प्रहरी कार्यालय रंगेलीबाट अनुसन्धान भएको थियो। संगठित रूपमा नक्कली परीक्षार्थी परिचालन गर्ने गिरोहसमेत पक्राउ परेको थियो। नक्कली परीक्षार्थीसहित उनीहरुलाई परिचालन गर्नेहरु अदालतको आदेशपछि धरौटीमा रिहा भएका थिए।
६. विराटनगर महानगरपालिका-३ पिपल चोकस्थित जयकिशोर चौधरीको घरबाट सुन चाँदीका गरगहना चोरी गर्ने संगठित गिरोह गत जेठ ३ गते पक्राउ पर्यो। ३८ किलो चाँदी र २ तोला सुनसहित १९ वर्षीय विवेक कामत, २१ वर्षीय राजकुमार कामत र २२ वर्षीय श्रीकान्त दास पक्राउ परेका थिए। अदालतले उनीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो।
७. विराटनगर-१० मा साउन १९ गते २० वर्षीय हलिम साफीमाथि तरवार प्रहार भयो। तरवार प्रहार गर्ने २२ वर्षीय समिर मियाँ, २४ वर्षीय सदाफ भनिने मोहमद आसिफ, मोहमद उजाले र ४० वर्षीय ईस्रारुण कुरैसी पक्राउ परे। उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा चलायो। अदालतले कुरैसी र उजालेलाई १ लाख धरौटीमा छाड्न तथा अरु २ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
८. विराटनगर-९ स्थित ग्रीनक्रस अस्पतालमा असार १४ गते जन्मिएको नवजात शिशुलाई बेपत्ता बनाइयो। अविवाहित युवतीबाट जन्मिएको शिशुलाई चिकित्सकसमेतको मिलेमतोमा सन्तानविहीन दम्पतीलाई बिक्री गरेको पत्ता लाग्यो। घटनामा संलग्न युवतीका प्रेमी भोजपुरको हतुवागढीका २७ वर्षीय गोविन्द राई, शिशु बिक्री गर्ने वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण, ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ की ४६ वर्षीया दिलमनी राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहाकी ३८ वर्षीया निर्मला यादव र अस्पताल सञ्चालक ५५ वर्षीय कृष्ण खवास पक्राउ परे। प्रहरीले नवजात शिशुको सकुशल उद्धार गरेको थियो।
९. शृङ्खलाबद्ध लुटपाटमा संलग्न गिरोह भदौ २२ गते मोरङको बूढीगंगा गाउँपालिका-५ कोयलपुरबाट पक्राउ पर्यो। उक्त गिरोहले सुनसरीको इलाका प्रहरी कार्यालय दुहवीमा कार्यरत प्रहरीलाई आक्रमण गरेर चाइनिज पेस्तोलसमेत लुटेर लगेको थियो। प्रहरीबाट लुटपाट गरिएको पेस्तोलसहित अर्को कटुवा पेस्तोल, लुटिएका गरगहना, मोबाइल, मोटरसाइकल र नगदसहित गिरोह पक्राउ परेको हो। पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका-४ का ३२ वर्षीय नसुदिन मियाँ, दुहवी-१ का ३० वर्षीय मोहमद अलिम मुर्तुजा, साकिब मिया, भारत घर भई दुहवी-६ मा बस्ने ४० वर्षीय मोहमद आलम, बूढीगंगा-४ का ४० वर्षीय रिजवन मियाँ, २५ वर्षीय सिजाम आलम, बूढीगंगा-५ का २१ वर्षीय नजरुल मियाँ रहेका छन्। मोबाइल पसल सञ्चालक सिजाम आलमबाहेक अन्य व्यक्तिहरु शृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
१०. स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित पुस ११ गते विराटनगर-६ बाट एक जना पक्राउ परे। को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको देवानगन्ज गाउँपालिका-५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ परेका थिए। उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो। उनीबाट बरामद भएको रकम अवैध हुण्डी कारोबारको रहेको पत्ता लागेको छ।
११. मोरङ र सुनसरीबाट सयभन्दा बढी मोटरसाइकल चोरी गरेको घटनामा संलग्न २ जना मंसिर २९ गते विराटनगरबाट पक्राउ परे। सुनसरीको हरिनगरा-६ का ४० वर्षीय नजाम अन्सारी र भोक्राहानरसिंह-२ का २३ वर्षीय निकाइल अन्सारी पक्राउ परेका हुन्। नजामको साथबाट लागूऔषध ब्राउन सुगर १.०३ ग्रामसमेत बरामद भएको थियो। नजाम र निकाइलको समूहले चोरी गरेर मोटरसाइकल भारतका विभिन्न स्थानमा पुर्याएर बिक्री गर्ने गरेको पत्ता लाग्यो।
१२. विराटनगर-३ मा यही माघ २९ गते प्रेसर कुकर बम फेला पर्यो। नेपाली सेनाको टोलीले त्यसलाई फागुन १ गते डिस्पोज गर्यो। माओवादीको नाम दिएर खोलिएको नयाँ भूमिगत समूह नेकपा (माओवादी) महावीर समूहले उक्त बम राखेको प्रहरीको भनाइ छ। महावीर समूहले निजी विद्यालय र व्यापारिक घटनामा धम्क्याउँदै चन्दा आतंक मच्चाइरहेको पनि खुल्यो। चन्दा माग्दा नदिएमा त्रसित बनाउने हिसाबले बम राखेको पत्ता लागेको थियो। बम राखेको घटनामा संलग्न महावीर समूहका २ जनालाई प्रहरीले विष्फोटक पदार्थ तथा विभिन्न दस्तावेजसहित पक्राउ गर्यो। पक्राउ पर्नेमा इलामको माङ्सेबुङ गाउँपालिका-१ घर गजुरमुखी घर भइ काठमाडौंको भीमसेनगोलामा डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारी रहेका छन्। उनीहरूमाथि विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ। मिश्र र अधिकारी पक्राउ परेसँगै माओवादीको नाममा नयाँ भूमिगत समूह खडा गरेर पूर्वी तराईमा चन्दा आतंक मच्चाउने गिरोह सक्रिय भएको खुलेको छ।