मोरङबाट भरुवा बन्दुक बरामद, सिकार गर्ने समूह फरार

मोरङबाट भरुवा बन्दुक बरामद, सिकार गर्ने समूह फरार
सुन्नुहोस्

विराटनगर : मोरङको कानेपोखरीमा रहेको भुल्के–सुन्तली सामुदायिक वन क्षेत्रबाट शुक्रबार भरुवा बन्दुकसहित अन्य सामान बरामद भएको छ। 

कानेपोखरी–६ सीताधापनजिक रहेको माचभित्र परालले छोपेर राखेको अवस्थामा लोड गरिएको बन्दुकसहित ३ वटा टर्च लाइट, खुकुरी, २ वटा मोबाइल, गाडीको ब्यारिङ र भरुवा बन्दुकमा लाग्ने अन्दाजी १ सय ग्राम बारुद सामुदायिक वन उपभोक्ता समितिको गस्ती टोलीले फेला पारेको हो।

वन्यजन्तुको चोरी सिकारी गर्ने समूहले छाडेको अवस्थामा वन क्षेत्रमा बन्दुकसहितका सामान फेला परेको थियो। वन उपभोक्ता समितिका अध्यक्ष भीमराज लिम्बूले उक्त सामान प्रहरीलाई बुझाएका हुन्। वन्यजन्तुको सिकार गर्ने समूह भने फरार भएको छ। 

प्रहरीका अनुसार गस्ती टोलीलाई देख्नासाथ चोरी सिकारीमा संलग्नहरु फरार भएका हुन्। फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ। ‘वन क्षेत्रमा गस्ती गर्दै गएको टोलीलाई देखेपछि वन्यजन्तुको अवैध चोरी सिकारी गर्नेहरु भने फरार भएछन्। सिकार खेल्न प्रयोग गरिएका बन्दुकसहितका सामान भने त्यहीँ छाडेछन्,’ डीएसपी दाहालले भने, ‘वन उपभोक्ता समितिले फेला पारेर प्रहरीलाई बुझाएको छ। यस विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’ 

अनुसन्धानपछि चोरी सिकारीमा संलग्नका बारेमा पत्ता लाग्ने उनको भनाइ छ। उनका अनुसार यो घटनाले पछिल्लो समय वन क्षेत्रमा वन्यजन्तुको अवैध चोरी सिकारी गर्ने समूह सक्रिय रहेको देखाउँछ। वन उपभोक्ता समितिका अध्यक्ष लिम्बूका अनुसार वन क्षेत्रबाट वन्यजन्तुको चोरी सिकारी व्यापक भइरहेको जनगुनासो आइरहेको थियो। ‘पछिल्लो समय चोरी सिकारी हुने क्रम बढेको छ। त्यसलाई नियन्त्रणमा गर्न वन उपभोक्ता समितिका तर्फबाट सक्रियता बढाइएको छ,’ लिम्बूले भने, ‘वन क्षेत्रमा नियमित गस्ती गर्दैछौं। चोरी सिकारी नियन्त्रण गर्न प्रहरी र वन कार्यालयसँग समेत समन्वय भइरहेको छ।’

सिकार खेल्न प्रयोग गरिने सामान फेला परेपछि चोरी सिकारी गर्ने समूहलाई भेटिन्छ कि भनेर व्यापक खोजी गरिएको उनले बताए। ‘४ जना मान्छे सिकार खेल्दै आएका रहेछन्। हाम्रो गस्ती टोलीलाई देख्नासाथ बन्दुकलगायतका सामान छाडेर फरार भए,’ उनले भने, ‘निक्कै बेरसम्म खोजी गर्‍यौं। तर, फेला पार्न सकिएन।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.