प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता सुरु
ढल्केवर(धनुषा) : सोमबारबाट धनुषामा प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता सुरु भएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता सुरु भएको हो।
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यो राष्ट्रिय हक्की प्रतियोगिताले नेपाली खेलकुदको विकासमा नयाँ आयाम थपिएको विश्वास व्यक्त गरिन्। मिथिला सांस्कृतिक केन्द्र र ऋषि मुनिहरूको तपोभूमि भएको उल्लेख गर्दै ज्ञानभूमिका रुपमा सुपरिचित जनकपुरमा यो राष्ट्रिय स्तरको खेलले यहाँ खेल भूमिको परिचय थपिनेमा पनि आफू विश्वस्त रहेको औंल्याइन्।
प्रतियोगितामा कर्णाली बाहेक ६ वटा प्रदेश, नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एउटा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका टोली गरी ८ वटा टिमको सहभागी रहेका छन्। प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, द्वितीय टिमलाई १ लाख र तृतीय हुने टिमलाई ५० हजार पुरस्कार प्रदान गरिने मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए।