विशेषले फैसला गरेको मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च पुग्यो अख्तियार
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। अख्तियारले विशेषबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये सार्वजनिक सम्पत्ती हानिनोक्साी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको हो।
प्रहरी निरीक्षक नृपबहादुर बोहरा र डोटीको बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद प्रतिवादी रहेको मुद्दामा विशेषले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
सो मुद्दामा विशेष अदालतले गत असार २० गते प्रतिवादी दुवैजनालाई आरोप-पत्रमा दावी नपुग्ने भन्दै सफाइ दिएको थियो। अख्तियारले उनीहरूविरुद्ध २०७७ साल ८ असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रहरी कार्यालय बीपीनगरमा कार्यरत रहेको बेलामा प्रहरी निरीक्षक बोहरा र वनका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेको आरोपमा उनीहरूमाथि ६१ हजार २० रुपैयाँ विगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको थियो।
सो मुद्दाका प्रतिवादी प्रहरी निरीक्षक बोहराले आफ्नो आदेश बमोजिम फर्जी कागजात 'ब्याक डेट' मा बनाउन उपभोक्ता समितिलाई दवाव दिइ कागजात बनाउने कार्यद्वारा बदनियत स्वत: देखिएको हुनाले उनीमाथि लगाएको अभियोग माग दावीबाट सफाइ दिने विशेष अदालतको फैसलामा प्रमाण कानुनको उचित मूल्यान हुन नसक्ने अख्तियारको दावी छ।
फैसला कानुन संगत नभएकाले बदरको माग गर्दै अभियोग मागदावी बमोजिमको सजाय हुनुपर्ने अख्तियारको माग छ।