‘अपराधको छानविन आदेशले होइन प्रमाणले गर्नुस्’

गृहमन्त्री लामिछानेले भने - ‘दह्रो र खरो प्रहरी संगठन आफूले हेर्न चाहेको छु’

गृहमन्त्री लामिछानेले भने - ‘दह्रो र खरो प्रहरी संगठन आफूले हेर्न चाहेको छु’
तस्बिर : नेपाल प्रहरी
सुन्नुहोस्

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारी चुस्त, फुर्तिलो, अनुशासित, चनाखो, दह्रो, खरो हेर्न चाहेको बताएका छन्। आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै उनले कुनै पनि घटना तथा अपराधको अनुसन्धान गर्दा आदेशले नभई प्रमाणले गर्न आग्रह गरे।

‘प्रहरी कर्मचारी चुस्त, फुर्तिलो, अनुशासित, चनाखो, दह्रो, खरो प्रहरी आफूले हेर्न चाहेको छु।’ गृहमन्त्री लामिछानेले भने, ‘जसलाई देख्दा बद्‍मासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस्।’ 

उनले अनुहार, पद, प्रतिष्ठा हेरेर नभई प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्न निर्देशन दिए। लामिछानेले भने, ‘कुनै पनि घटना तथा अपराधको छानविन र अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्। अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानूनको नजरमा सबै बराबर हुनुपर्दछ।’ 

उनले कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा हरेर होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्न आग्रह गरे।   प्रमाणको आधारमा कारबाही गर्दा उब्जने चुनौतिको डटेर सामना गर्दा र सुरक्षा कवच भएर आफैँ उभिने उनले बताए। हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ।

ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उनको भनाई छ। गृहमन्त्री लामिछानेले भने, ‘कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस्। त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु।’ 

गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गरे। पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढि सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उनले निर्देशन दिए।

मिटरब्याज पीडित, सहकारी पीडितहरूको समस्या ठूलो चुनौतिको रूपमा रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा जनचेतना अभिवृद्धिको साथै मन, वचन र कर्मले  सेवाभावका साथ जनअपेक्षा अनुरूप काम गर्न उत्प्रेरित भई उत्कृष्ट नतिजा ल्याउन उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए।

null

राज्यको नीति र दिएको निर्देशन र मूलभूत दायित्वबाट विमुख छैनौं : कुँवर

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीबाट भएको समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताए। समयको गतिशीलता र परिवर्तनमुखी सामाजिक परिवेश सँगै श्रृजित चुनौतिहरूलाई निस्तेज तुल्याउँदै, समाजको परिवर्तनको गति र दिशा अनि आम नागरिकको चाहना बमोजिम प्रहरी सेवालाई समयसापेक्ष थप जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसा योग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उनले बताए।

उनले राज्यले अंगिकार गरेको नीति र दिएको निर्देशन, कुनै गुनासो र स्वार्थ बिना कार्यान्वयन गर्ने आफ्नो मूलभूत दायित्वबाट कहिल्यै विमुख नभएको उल्लेख गरे। प्रहरी महानिरीक्षक कुँवरले भने, ‘नेपाल प्रहरीको संस्थागत विकास, यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल र समग्र सांगठनिक हितको लागि तालुक गृह मन्त्रालयबाट अभिभावकीय भूमिका निर्वाह हुनेमा नेपाल प्रहरी विश्वस्त रहेको छ।’ 

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.