भुक्तानी नपाएपछि पुलको काम ठप्प
परासी : करिब १० करोडको लागतमा निर्माणाधीन नवलपरासीको बर्दघाट नगरपालिका-५ र १६ जोड्ने खजुरा खोलाको पुलको काम बन्द भएको छ।
भुक्तानी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम बन्द गरेको हो। निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापतको पाउनुपर्ने १ करोड १० लाखमध्ये नेपाल सरकारले १६ लाख मात्र भुक्तानी दिएको छ।
पाउनुपर्ने बाँकी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम नगर्ने जनाएपछि सबै ठाउँमा जानकारी गराएर काम बन्द गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए। ‘रकम भुक्तानीका लागि केही महिना अघि नै अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाएका थियौं, अहिलेसम्म नआएपछि काम गर्दिनँ भनेर व्यवसायी गएपछि बन्द भएको छ’, नगर प्रमुख श्रेष्ठले भने।
नयाँ गठबन्धनसँगै अर्थमन्त्री फेरिएकाले चैतभित्र फेरि मन्त्रालय गएर रकमको माग गर्ने र रकम आएपछि काम सुरु हुने श्रेष्ठले बताए। पुल निर्माणको काम १० प्रतिशतको हाराहारीमा मात्र सकिएको छ।
वर्षायाममा खोला तर्न कठिन हुँदा बर्दघाटसँगै छिमेकीपालिकाहरू सुस्ता र प्रतापपुर गाउँपालिकाका स्थानीयहरू लामो दूरी भएर आवतजावत गर्नुपर्ने बाध्यतालाई हटाउन खोलामा पुल निर्माणको योजना परेको थियो। वहुवर्षिय योजनाका रुपमा रहेको पुल निर्माणको शिलान्यास नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद विनोद चौधरीले तामझामका साथ गरेका थिए। ‘अर्थले रकम दिए पुल निर्माणको काम अघि बढ्छ नदिए बन्द गर्नुको अर्को विकल्प छैन’,नगर प्रमुख श्रेष्ठले भने।
सम्झौतापछिको लामो समयसम्म निर्माण कम्पनीले काम अधुरो बनाएर छाडेपछि नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम सुरु गराएको थियो। २०७७ सालमा श्रीमृत संजीवनी निर्माण सेवाले ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता गरेको हो।