
काठमाडौं : नेकपा एमालेलाई समाजवादी मोर्चामा भित्र्याउने कसरत अगाडि बढेको छ। नयाँ सत्ता समीकरणमा वामपन्थी दलहरुको बाहुल्यता भएसँगै एमालेलाई समाजवादी मोर्चामा ल्याउन छलफल अगाडि बढेको हो।
समाजवादी मोर्चाका संयोजक रहेका नेकपाका महासचिव नेत्र विक्रम चन्द‘विप्लव’बिहीबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई लिएर विप्लवले ओलीसँग संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल गरेका थिए।
लगत्तै आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र विप्लवबीच बालुवाटारमा भेटघाट भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
आज बिहान बालुवाटारमै समाजवादी मोर्चाको बैठक समेत बसेको थियो। एमालेको नेतृत्वमा सत्ता गठबन्धन बनेसँगै समाजवादी मोर्चामा एमालेलाई समावेश गर्ने विषयले प्रवेश पाएको हो।
बैठकमा एमालेसहितको मोर्चा बनाउने गर्ने निर्णय भएको छ । त्यसका लागि पुन: माओवादी अध्यक्ष प्रचण्ड लगायतले एमालेका अध्यक्ष ओलीसँग थप छलफल गर्ने बताइएको छ।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा सहभागी छ। विप्लव गत फाल्गुण ६ गते समाजवादी मोर्चाको संयोजक चयन भएका थिए। चार/चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले सम्हालेका मोर्चाको संयोजक थिए।
प्रतिक्रिया दिनुहोस !
