मापदण्डविपरीत सञ्चालित पसललाई जरिवाना
नुवाकोट : नुवाकोटको खरानीटामा मापदण्डविपरीत सञ्चालित पसललाई जरिवाना गरिएको छ। उद्योग तथा वाणिज्य कार्यालय र जिल्ला प्रशासन कार्यालय नुवाकोटले संयुक्तरुपमा गरेको बजार अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित पसललाई जरिवाना गरिएको हो।
अनुगमनका क्रममा अनुमति नलिई पसल सञ्चालन गरिएको पाइनुका साथै अखाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको छ। गंगटे–दुप्चेश्वर सडकमार्गमा सञ्चालित नौ वटा पसल व्यवसाय अनुगमन गरिएको छ। एउटा पसललाई जरिवाना गरिएको छ। अनुगमनका क्रममा अधिकांश पसल मापदण्डविपरीत रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले तादी गाउँपालिका-३ खरानीटार बजारमा वाणिज्य अन्तर्गत रहेका नौ वटा किराना पसलमा छड्के अनुगमन गरिएको हो।
हाम्रो तादी डेरी एण्ड बेकरी कफी सप दर्ता नै नगरी सञ्चालन गरिएको र अखाद्य पेय पदार्थहरू फेला परेपछि नष्ट गरिनुका साथै नगद पाँच हजार रुपैयाँ तत्काल जरिवाना गरिएको प्रमुख किशोर सापकोटाले बताए। सो पसलबाट विभिन्न नौ प्रकारका १० हजार ४० रुपैयाँ बराबरको म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको हो।
अनुगमन गरिएको मध्ये पाँच वटा पसलबाट १४ हजार पाँच सय ८५ रुपैयाँ बराबरको म्याद गुज्रेका अखाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको हो। मूल्यसूची, खरिद तथा बिल, साइन बोर्डलगायत मापदण्डको पालना गर्न सचेत गराइएको छ।