प्रश्न प्रभावकारी परीक्षाको
व्यवस्थापकीय हिसाबले जति अप्ठेरो देखिए पनि उत्तरपुस्तिका घरघरमा लगेर जाँच्ने पद्धति रोक्नै पर्छ।
सिंगै शैक्षिक कार्यक्रम, त्यसको पाठ्यक्रम र पाठ्यसामग्री, शिक्षण पद्धति, विद्यालय व्यवस्थापनका साथै विद्यार्थी र शिक्षक समेतको मूल्यांकनको एउटा महत्वपूर्ण पद्धति परीक्षा हो। लिखित, मौखिक, सीप र प्राकृतिक समस्याको समाधान गर्ने सामथ्र्य परीक्षाकै माध्यमबाट व्यावसायिक परिषद्हरूले कुनै व्यक्तिलाई खास सेवा प्रदान गर्न योग्य भएको प्रमाणित गर्ने वा नगर्ने निर्धारण गर्छन्। प्रतिस्पर्धाद्वारा कुनै पदपूर्ति गर्न पर्दा पनि उपयुक्त परीक्षा विधि अपनाइने गर्छ।
उत्तीर्ण दर कम रहेका कतिपय शैक्षिक कार्यक्रममा उत्तीर्ण हुने उद्देश्यले कतिपय विद्यार्थीले अनुचित उपाय अवलम्बन गर्न खोज्ने प्रवृत्ति त छ नै, त्यसमाथि यदाकदा सम्बन्धित स्कुल-क्याम्पससमेत त्यस्तो प्रयासमा लागेको खबर सुनिन्छ। सीमित स्रोत, साधन र अवसर भएको हाम्रो जस्तो देशमा यदाकदा खास गरी छात्रवृत्ति सिटका लागि वा राम्रो जागिरका लागि परीक्षा प्रणालीलाई प्रभावित पार्न कोसिस हुने गर्छन्। यस्तो परिवेशमा परीक्षालाई स्वच्छ, अनुशासित, मर्यादित, प्रभावकारी र भरपर्दो बनाउन सक्दो उपाय अपनाउन आवश्यक हुन आउँछ।
शैक्षिक पात्रो पूर्ण लागू भई समयमै परीक्षा हुन परीक्षा सञ्चालन गर्ने कार्यालय वा संयन्त्रको चुस्तताले मात्रै पुग्दैन। यसका लागि सम्बन्धित शैक्षिक संस्थाको आम स्वस्थता आवश्यक पर्छ। शिक्षक, विद्यार्थी र सम्बन्धित व्यवस्थापन अनुशासित र नियमित हुन आवश्यक छ। शैक्षिक कार्यभार धान्न पुग्ने भौतिक पूर्वाधार, सक्षम शिक्षक र प्रशासनकर्मीको व्यवस्था आवश्यक हुन्छ। शैक्षिक गतिविधिमा विद्यालयको आन्तरिक वा बाह्य कुनै तप्काले पनि अवरोध पु¥याउन हुँदैन। अहिलेलाई शैक्षिक पात्रोको बृहत् विषयमा प्रवेश नगरी पाठ्यक्रम वा पद्धतिले तोकेको परीक्षाकै मर्यादाको चर्चा गरौं। परीक्षामा अनियमितता गर्न खोज्नेले त्यस्तो प्रयास नगरे हुन्थ्यो भन्ने सबैलाई लाग्छ, तर तिनलाई नैतिक शिक्षा पढाएर मात्रै अवस्था सुध्रिने धेरै आस गर्न सकिन्न।
गोप्यतामा जोड : प्रश्नपत्र निर्माण गर्न, परिमार्जन गर्न, अन्तर्वार्ता लिन, कापी जाँच्न विशेषज्ञ नियुक्त गर्नेदेखि प्रश्नपत्र छाप्ने, वितरण गर्ने, परिक्षार्थीको संकेत नम्बरलाई परीक्षकबाट लुकाउन कोड नम्बर राख्ने र त्यसलाई विद्यार्थीको संकेत नम्बरमा बदल्नेलगायत सम्पूर्ण काम गोप्य तवरले गर्नपर्ने नियमलाई कडाइका साथ लागू गर्न आवश्यक छ। त्यस्तो नियम वा अभ्यास नभएका ठाउँमा सुधार गर्न आवश्यक छ। १० वर्षजति पहिलेको कुरो हो, एक विशेषज्ञले उत्तरपुस्तिका झोलामा हालेर निस्किन नभ्याउँदै निजी क्षेत्रद्वारा सञ्चालित एक क्याम्पसको प्रशासनमा काम गर्ने व्यक्तिले मोबाइल फोनमार्फत कापी जाँच्दा आफ्ना विद्यार्थीप्रति नरम भैदिन अनुरोध गरेछन्। शिक्षकलाई अप्ठेरो लागेछ र आफू कापी जाँच्न असमर्थ रहेको जानकारीसहित सो कापी फिर्ता गरिदिए छन्।
थोरै विशेषज्ञमात्र उपलब्ध भएका विषयमा विद्यार्थी अनुमानको भरमा पनि कापी कसकहाँ गयो होला अन्दाज गर्न सक्छन्। दुई दशक पहिलेको कुरो हो, फार्मेसीको कुनै एक विषयको कापी परीक्षणमा त्यहाँ उपस्थित शिक्षक संलग्न थिएनन्। परीक्षक पत्ता लगाउने प्रयासमा कुनै अनुत्तीर्ण विद्यार्थीले सोध्दा आफूले कापी नजाँचेको कुरा बताउन मिल्दैनथ्यो, बताएमा उसोभए कापी फलानोले जाँचेको हुनुपर्छ अनुमान गरिहाल्थे। बरु विद्यार्थी फेल गरिदिएको दोष थाप्नै उचित थियो।
कतिपय अवस्थामा कापी जाँचिने वा जाँच्न वितरण गरिने स्थानमा विशेषज्ञ झुल्केको देखेको सूचनाको आधारमा कापी जाँच्न होला, परीक्षा विभागका व्यक्तिले कुनै पत्र कुनै विशेषज्ञको कार्यकक्षमा चिठी ल्याएर छाडेको सूचनाको आधारमा प्रश्नपत्र निर्माणका लागि होला भन्ने अनुमान गरेको पनि देखिएको छ। देख्न सकिन्छ, गोप्यताका लागि परीक्षामा संलग्न व्यक्तिको बढी जिम्मेवारी भए पनि संलग्न नभएका व्यक्तिको पनि ठूलो भूमिका रहन्छ।
धेरै विशेषज्ञ परिचालन
कापी जाँच्ने काम सकेसम्म धेरै जनालाई लगाए र लोकसेवा आयोगले झैं एउटै विषयको कापी पनि प्रश्नहरूको समूह–समूह बनाई धेरै जनालाई जाँच्न दिए नतिजामा परीक्षकको स्वभावगत प्रभावसमेत कम पर्छ। १९८० को दशकमा लेखकले चाइना फार्मास्युटिकल विश्वविद्यालयमा शिक्षकहरू एउटै टेबलमा लहरै बसी कापीको आआफ्नो अंश जाँचेको देखेको थियो। त्यस्तो चलन अहिले पनि धेरै ठाउँमा छ। कापी परिक्षणमा धेरै शिक्षक संलग्न हुने थाहा पाएपछि प्रभाव पार्न खोज्नेहरू पनि थाक्छन्, परीक्षार्थी धेरैतिर धाउनभन्दा पढ्नमा नै ध्यान केन्द्रित गर्छन्। नाम चलेका शिक्षक पनि आफ्ना विद्यार्थीले जाँचमा राम्रो गरुन् भनी अध्यापनमा बढी दत्तचित्त हुन्छन्।
निर्दिष्ट स्थलमै उत्तरपुस्तिका परीक्षण : व्यवस्थापकीय हिसाबले जति अप्ठेरो देखिए पनि उत्तरपुस्तिका घरघरमा लगेर जाँच्ने पद्धति रोक्नै पर्छ। बोक्ने क्रममा उत्तरपुस्तिका मोटरसाइकलबाट खसेको, पानीले भिजेको, बच्चाले केरेको, सहकर्मी र विद्यार्थीले देखेको धेरै उदाहरण छन्। परीक्षकले विद्यार्थीसित सौदाबाजी गरेको आरोपसमेत लागेको छ। विशेषज्ञलाई कापी लैजानै नदिएपछि यस्ता समस्या स्वत: समाधान हुन्छन्। विशेषज्ञ आचरणबाट चिप्लिएर परीक्षणमा विचलन आउने सम्भावना पनि घट्छ।
दश कक्षा, बाह्र कक्षाका देशव्यापी परीक्षाका कापी, त्रिभुवन विश्वविद्यालयका देशभरि परीक्षा केन्द्र र परीक्षक छरिएर रहेका विषयका कापी निर्दिष्ट स्थलहरूमै जाँच्ने व्यवस्था गर्न पक्कै पनि सजिलो छैन। तर यो गर्नै नसकिने कामचाहिँ होइन। यसमा राज्य, विश्वविद्यालय र सबै सम्बन्धित निकायले ध्यान दिनैपर्छ, ठूलै लगानी गरेर पनि कापी परीक्षण कक्षहरूको व्यवस्था गर्नैपर्छ। घरमा कापी लैजान नपाएपछि अहिले दिइने गरिएको पारिश्रमिकले नपुग्न सक्छ, कतिपयलाई यातायात खर्च र कतिलाई त कापी जाँचुन्जेल आवास सुविधासमेत दिनपर्न सक्छ। सम्बन्धित निकाय यस्तो खर्च बेहोर्न तयार हुनपर्छ। त्यस्तो खर्चलाई फजुल सम्झिन हुँदैन।
सुरक्षा, चुस्त अभिलेखन र आधुनिक प्रविधिको प्रयोग : परीक्षाका काम हुने र सम्बन्धित सामग्री राखिने स्थानमा कमभन्दा कम, सम्बन्धित व्यक्तिलाई मात्र प्रवेश दिने, मोबाइल सेट, क्यामेरा र अन्य डिजिटल उपकरण साथमा लिई प्रवेश गर्न नदिनेजस्ता सुरक्षा सावधानी अपनाइएमा कागजात र सूचना चुहिने सम्भावना कम हुन्छ। कतिपय अवस्थामा हराएका भनिएका उत्तरपुस्तिका पछि भण्डारमै भेटिएका कुरा पनि उठेका छन्। चुस्त अभिलेखन, मुसा, आगो, ओसले नछुने र खोजेको बेलामा पाइने कुशल भण्डारण शैली, कम्प्युटर र सिसिटिभीजस्ता प्रविधिको प्रयोगबाट यस्तो समस्यालाई न्यूनीकरण गर्न सकिन्छ। यति सबै कुरा गरिसकेपछि कापी हराउनमा कसको कमजोरी हो भन्ने निर्णय लिन पनि सजिलो हुन्छ। माथि उल्लिखित उपायहरू अपनाउन धेरै कठिन छैन। तिनले परीक्षा प्रणालीको प्रभावकारिता र विश्वसनीयतामा निकै ठूलो बढोत्तरी ल्याउने छन्।