सदियौं पुरानो देवीघाट जात्रा
नुवाकोट : हरेक वर्ष जस्तै यस वर्ष पनि चैत्र शुक्ल पूर्णिमाका दिन नुवाकोटको त्रिशूली र सूर्यमती नदीको संगमस्थलमा रहेको देवीघाटस्थित जालपादेवी मन्दिरमा विशेष मेला लागेको छ। मन्दिर किनारामा रहेको त्रिशूली नदीमा २ दिनसम्म नुहाउनेहरूको भीड लागेको थियो।
सदियौंदेखि चल्दै आएको नुवाकोटको प्रमुख तथा ऐतिहासिक जालपादेवी जात्रामा आगामी वर्ष देशमा हुने घटनाक्रमहरूबारे भविष्यवाणी गोप्य रूपमा राष्ट्रपतिलाई पठाइँदै आएको छ। यस वर्ष पनि मेलामा गरिएको भविष्यवाणी गोप्य रूपमा राष्ट्रपतिकहांँ पठाइएको छ।
करिब १५ हजार तीर्थालुले यस वर्ष मेला भरेका छन्। मेला भर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, चितवन, मकवानपुरलगायत देशका धेरै स्थान तथा भारतबाटसमेत तीर्थालुहरू आएका थिए। यस वर्ष मेलामा गत वर्षको तुलनामा धेरै तीर्थालु आएका पुजारी शंकर चित्रकारले बताए।