उपनिर्वाचनले एमालेको मिसन ८४ लाई सफल बनाउने पुष्टि गर्यो : एमाले सचिव विष्ट
बागलुङ : नेकपा एमाले जिल्ला कमिटी बागलुङको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बुधबार सपथ ग्रहण गरेका छन्।
१०औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका पदाधिकारी र सदस्यहरूलाई जिल्ला अध्यक्ष हीराबहादुर केसीले सपथ ग्रहण गराएका थिए।
सपथ ग्रहण तथा जिल्ला कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव गोकर्ण विष्टले इलाम र बझाङको उपनिर्वाचनले एमाले एक मात्र सही पार्टी रहेको सन्देश दिएको बताएका छन्। उनले इलाम र बझाङमा भएको उपनिर्वाचनले भावी राजनीति कुन दिशामा जान्छ भन्ने सन्देश दिएको समेत बताए।
‘इलाम र बझाङको उपनिर्वाचनले एमालेको मिसन ८४ लाई सफल बनाउने पुष्टि गरेको छ,’ सचिव विष्टले भने, ‘भावी राजनीति कुन दिशामा जान्छ भन्ने सन्देश पनि दिएको छ।’
सचिव विष्टले उपनिर्वाचनको परिणाम इलाम र बझाङमात्र नभई सबैलाई भएको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी र जातिय पार्टीप्रति लक्षित गर्दै विचारविहीन राजनीतिक दललाई जनताले बहिष्कार गरेको बताएका छन्। ‘समय समयमा जसरी भुलकाहरू आउँछन् त्यसरी समाप्त हुन्छन्,’ विष्टले भने,‘विचार विनाका पार्टी लामे समय टिक्दैनन् भन्ने उपचुनावले पुष्टि गरेको छ। २०८४ को निर्वाचनले अझै पुष्टि गर्नेछ।’
जनमत एमालेसँग रहेको र त्यसलार्य जोगाउनुपर्ने सचिव विष्टको भनाइ छ। उनले पार्टीभित्र आन्तरिक विरोध र समस्या उत्पन्न हुने गरेपनि त्यसलाई विधि र संवादमार्फत समाधान गर्नुपर्ने बताए। एमालेलाई देशको पहिलो राजनीतिक शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै विष्टले पार्टीलाई थप शक्तिशाली बनाउन नेता कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन्। सचिव विष्टले आउँदो निर्वाचनमा बागलुङका सबै स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमालेले जित्ने गरेर नयाँ कमिटीले काम गर्न सुझाव दिएका छन्।