युवालाई अवसर दिने उपाय
समकालीन नेपालको सबैभन्दा ठूलो चिन्तामध्येको एक युवाको विदेश पलायन हो । अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्नेको पंक्तिमा युवा पुस्ताकै बाहुल्य छ, जो वैदेशिक रोजगारीका लागि र उच्च शिक्षा भने पनि रोजगारीकै लागि भासिएका हुन् । देशमा द्वन्द्व र राजनीतिक संघर्षका बेला पनि यति धेरै निराशा नागरिक तहमा थिएन, जति अहिले छ । बरु त्यस्तो कठिन बेला राजनीतिक निकासकै खोजी जनताले गरेका थिए, त्यसमा युवा पंक्ति पनि थियो । त्यही युवा पंक्तिले जुन आशा र अपेक्षाका साथ राजनीतिक परिवर्तनका लागि संघर्ष ग¥यो, ऊ पनि आजको नेपालबाट सन्तुष्ट छैन । त्यसपछिको पुस्ता
देशमा धेरै राजनीतिक उथलपुथलपछि संविधान निर्माणपछि स्थिरतामात्रै होइन समृद्धिको पनि जुन अपेक्षा थियो, त्यो हासिल हुन नसक्नु नै युवा पलायनको प्रमुख कारण मान्न सकिन्छ । सरासर दुई पटक आम निर्वाचन भइसक्दा पनि मुलुकले राजनीतिक स्थिरता नभएजस्तो भएको छ, सरकार फेरिएको फेरियै भएका छन् र देश राजनीतिक व्यवस्थाकै बहस र अन्योलमा फँसेको छ । खासमा सरकार बन्ने र भत्कने गोलचक्करकै कारण देशमा निराशा छ ।
त्यो तथ्यांकले नै देखाउँछ । २०७४ मा निर्वाचन भएपछिको वर्ष दुई लाख युवा बाहिरिनु र २०७९ मा चाहिँ ९ लाख बाहिरिनुलाई राजनीतिक धमिलोपनकै उपज मान्नुपर्छ । २०७४ पनि स्थिरताको जुन अपेक्षा थियो, त्यसमाथि झन्डै दुई तिहाइ बहुमत ल्याएको कम्युनिस्ट पार्टीहरूको गठबन्धनले कुठाराघात गर्यो । आफ्नै सरकार कम्युनिस्टहरूले टिकाएनन् र युवालाई पनि यहाँ टिक्न दिएनन् ।
नुनदेखि सुनसम्मका सयौं खानीहरू देशमै छन् । हरेकजसो जिल्ला कृषिका लागि उर्वरभूमि छन् । खोलानालामा बिजुली निकाल्ने प्रचूर सम्भावना छ । तर उद्योगधन्दा र कलकारखाना केही खोल्ने र चल्ने वातावरण छैन । देशमै रोजगारी गरेर परिवार चलाउन सक्ने परिस्थितिमात्रै हुने हो बिदेसिने मन अपवादहरूलाई मात्रै हुन्छ । त्यसैले बाहिरबाट धनको खोजी गर्ने वा धनी व्यक्तिहरूलाई लगानी गर्न डाक्नेभन्दा पनि पहिला युवालाई स्वदेशमै रोजगारी दिने स्वरोजगार बनाउने कर्तव्य पूरा गर्नुपर्छ । त्यसो भए देशकै युवा धनी बन्छन् । देश धनी बन्छ ।