डढेलोले दूषित हावा
पृथ्वीमा मानिस र अरू प्राणीलाई बाँच्न चाहिने हावा कत्तिको स्वस्थ छ भने जाँच्ने संस्था छ—वल्र्ड एअर क्वालिटी इन्डेक्स प्रोजेक्ट । स्याटेलाइटको माध्यमबाट उसले हावाको गुणस्तर मापन गर्छ । नेपालमै पनि वातावरण विभागले देशका दुई दर्शनभन्दा बेसी ठाउँमा हावा जाँच्ने उपकरण जडान गरेको छ । प्रत्येक पलको हावाको गुणस्तर ती यन्त्रले नाप्छन् । पछिल्ला दुई साताको विवरणले नेपालको अधिकतर ठाउँको हावा मानव स्वास्थ्यको प्रतिकूल देखिन्छ । राजधानी काठमाडौंको त झन् यो साता विश्वकै सबैभन्दा प्रदूषित सहरको कोटीमा दर्ज भयो हावाको गुणस्तर । स्वच्छ र सफा भनिएको पोखरा उपत्यका दुई सातादेखि धुम्म छ । हिमाल त वरिपरिका डाँडाकाँडा देखिएका छैनन् । हवाई उडान नियमित छैन । बेलाबखत शीतल पवन बहिरहने पोखराले गुम्सिएको र निस्सासिएको महसुस गरिएको छ । तराईतिर त हावा प्रदूषितमात्रै छैन, गर्मी झन् उखरमाउलो छ । र त बुटवलमा गर्मीकै कारण विद्यालय दुई दिनलाई बिदा गरिएको छ ।
नेपालमा वायु प्रदूषणको ग्राफ प्रत्येक वर्ष उकालिँदो छ । एयर क्वालिटी इन्डेक्स अर्थात् वायु गुणस्तर सूचकांक ५० देखि १०० हुनुलाई विश्व स्वास्थ्य संगठनले सामान्य मानेको छ । तर काठमाडौंमा गत साता यो सूचकांक २४५ पुग्यो । पोखरामा पनि त्यत्तिकै हाराहारीमा पुगेको थियो । तराईतिर उस्तै प्रदूषण छ । पछिल्लो समय देशका झन्डै हजार ठाउँमा डढेलो लागेको छ । विज्ञहरूका अनुसार प्रदूषणको एउटा कारण त्यो डढेलो पनि हो । हो, यो वर्षको डढेलो दशकयताकै सबैभन्दा ठूलो मात्रामा देखियो मुलुकमा ।
स्थानीय र एउटा कारण त्यो भए पनि नेपालमा वायु प्रदूषण बढ्नुको कारण आन्तरिकभन्दा बाह्य बढी छ । भारतको उत्तरी क्षेत्र, पाकिस्तानमात्रै होइन इरानसम्मबाट पनि नेपालमा वायु प्रदूषण भित्रन्छ । बर्खाको केही महिनाबाहेक नेपालमा हावा चल्ने भनेकै पश्चिमी दिशाबाट हो । बर्खाको पानी र हावाचाहिँ बंगालको खाडीतिरबाट आउँछ । पश्चिमी हावा चल्ने र नेपालको पश्चिम क्षेत्रमा अत्यधिक प्रदूषित सहरहरू रहेको हुँदा त्यसको प्रत्यक्ष मार परिरहेको छ । हावाको कुनै सीमा नहुने हुँदा भारत, पाकिस्तानसम्मको प्रदूषणको दुःख झेल्न नेपाल विवश छ । तर आन्तरिक रूपमा फैलिएको डढेलो नियन्त्रण भने नेपालकै बसको बात हुनुपर्छ । त्यसमा पनि कमजोरी हुनुचाहिँ विडम्बना हो ।