तस्करीको चाँदीसहित वीरगन्जमा युवक पक्राउ
वीरगन्ज : भारतबाट तस्करीको चाँदी लिएर वीरगन्ज आउँदै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका-३ का २० वर्षीय रोशन सोनार रहेका छन्।
विशेष सूचनाका आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट सोनारलाई प्रहरीले चाँदीका विभिन्न गहनासहित पक्राउ गरेको हो।
रजतजयन्ति चोकमा प्रहरीले सोनारलाई रोकेर उनको शरीर खानतलासी गर्दा उनले बोकेको गम्छामा पोका पारेर राखिएको २ किलो १७३ ग्राम चाँदीका विभिन्न गहना बरामद भएको प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहले जानकारी दिए।
चाँदीसहित पक्राउ परेका सोनारलाई आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालय बुझाइएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए।