नदीको प्रदूषण रोक्न वीरगन्ज महानगरले दिएको अन्तिम अल्टिमेट पनि उद्योगीले टेरेनन्
वीरगन्ज : सिर्सिया नदी प्रदूषित गर्दै आएका उद्योगहरूले वीरगन्ज महानगरपालिकाले अन्तिम पटकका लागि दिएको चेतावनीको पनि अटेर गरेको पाइएको छ।
नदी प्रदूषित गरिरहेका मध्ये पर्सा–बारा औद्योगिक कोरिडोरका ९ वटा उद्योगले यही वैशाख ९ गते वीरगन्ज महानगरपालिकामा पुगेर नदीको प्रदूषण रोक्न उद्योगमा बाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्नका लागि १५ दिनको समय माग्दै लिखित प्रतिबद्धता नै जनाएका थिए। त्यस दिन महानगरका मेयर राजेशमान सिंहले अन्तिम पटकका लागि १५ दिनको समय दिएको भन्दै १६ औं दिनदेखि कडा कदम चाल्ने चेतावनी दिएका थिए।
तर १५ औं दिन बितेको भोलिपल्ट मंगलबार वीरगन्ज महानगरपालिकाको टोली ती उद्योगहरूमा स्थलगत निरीक्षण र अनुगमनमा पुग्दा नदीको प्रदूषण रोक्नका लागि अधिकांश उद्योगीहरूले खासै कुनै ठोस पहल नगरेको पाइएको अनुगमन टोलीमा सहभागी मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयालले बताए।
केहि उद्योगले महानगरको अन्तिम अल्टिमेटसहितको चेतावनीपछि उद्योगको प्रदूषित पानी नदीमा सोझै नमिसाएको भेटिए पनि उनीहरूले झारा टार्ने जस्तो गरी काम गरेको पाइएको बताए। उनले भने,‘अरनीको टेक्सटाइलले तीनवटा पोखरी बनाएको छ। पोखरी भरिएपछि पुनः नदीमै प्रदूषित पानी मिसाइएको पाइएको हुँदा पुन सचेत गराएर आएका छौं।’
अनुगमन टोलीमा सहभागी महानगरको वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखा अन्तर्गतको वातावरण शाखा प्रमुख प्रकाश ऐरले भने,‘नदी सबैभन्दा बढी प्रदूषित गर्ने उद्योग अरनिको टेक्सटाइल हो। तर उसैले अझैसम्म केही सुरसार गरेको पाइएन। जबकी एक वर्षपहिले नदी प्रदूषित गर्ने अरनिकोसहित पाँच उद्योगलाई महानगरपालिकाले जनही तीन तीन लाख रुपैयाँको दरले जरिबाना गरेको थियो। अरू चार उद्योगले उक्त जरिबाना रकम बुझाइसकेको भए पनि अरनिकोले हालसम्म उक्त जरिबाना पनि नतिरेको ऐरले बताए।
यस्तै सिद्धि टेक्सटाइलले पनि उद्योगको फोहोर पानी भण्डारणका लागि पोखरी खनेको भएपनि बाटर ट्रिटमेन्ट प्लान्ट भने बनाएको नपाइएको मेयरका जनसम्पर्क सल्लाहकार फुँयालले बताए। मंगलबारको अनुगमनका क्रममा अधिकांश उद्योगीले उद्योगमा बाटर ट्रिटमेन्ट प्लन्ट जडानका लागि प्राविधिक टोली बोलाउने र अध्ययन गर्ने काम गरिरहेको भन्दै झारा टार्ने जवाफ दिएको उनले बताए।
महानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगलाई अब कुनै पनि हालतमा छुट नदिने पनि उनले बताए। महानगरका मेयर सिंहको निर्देशनमा नदीलाई प्रदूषणमुक्त बनाउनका लागि महानगरपालिकाले गम्भीरतापूर्वक काम गरिरहेको अनुगमन टोलीमा सहभागी मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले बताए।
तर केही उद्योगले पछिल्लो समय महानगरको निर्देशनलाई मान्दै नमुना कामपनि गरिरहेको पाइएको अनुगमन टोलीमा सहभागी महानगरपालिकाको वातावरण शाखा प्रमुख ऐरले बताए। उनले भने, ‘मारुती पेपरले अहिले नमुना काम गरिरहेको छ। यो उद्योगले आफ्नै पानी प्रशोधन केन्द्र (बाटर ट्रिटमेन्ट प्लान्ट) बनाएको छ। यसले अहिले नदीमा प्रदूषित पानी मिसाएको छैन भन्दा पनि हुन्छ।’
यस्तै दुर्गा पेपर एण्ड पल्प उद्योगले पनि प्रशोधन केन्द्र बनाएको भए पनि उद्योगका अन्य फोहोर भने नदीमै मिसाइरहेको पाइएको उनले बताए। ती फोहोर पदार्थलाई पनि नदीमा नफालेर उद्योगभित्रै व्यवस्थापन गर्न निर्देशन दिइएको ऐरले जानकारी दिए।
मंगलबार महानगरको टोलीले अनुगमन गरेको नारायणी लेदर उद्योगका सञ्चालकले पानी प्रशोधन केन्द्र जडान गरेको भएपनि प्राविधिक टोली नहुँदा सञ्चालन गर्न नसकिएको जवाफ दिएको ऐरले जानकारी दिए। यस्तै त्रिवेणी टेक्सटायल, मरियम लेदर लगायतका उद्योगले पनि प्राविधिक बोलाउने र प्रशोधन केन्द्र सञ्चालन गर्ने काम भइरहेको भन्दै यसका लागि कम्तीमा २/३ महिनाको अझै समय माग गरेको ऐरले बताए।
ऐरले बाटर ट्रिटमेन्ट पलन्ट जडान र सञ्चालनका लागि ३ महिनाको समय दिन महानगर तयार भएपनि उक्त अवधिभर उद्योगको प्रदूषित पानी नदीमा नमिसाएर उद्योग परिसरभित्रै व्यवस्थापन गर्नुपर्ने ऐरले बताए। उनले भने, ‘हामीले पटकपटक समय दिएका छौँ, ताकेता गरिरहेका छौँ। तर पनि अटेर गरेको पाइएको छ। यद्यपि केही उद्योगले काम गरिरहेका पनि छन्। त्यसैले अब महानगर कडा रुपमा प्रस्तुत हुन्छ।’
नदी प्रदूषित गर्ने उद्योगहरूमा सिल नै गर्ने वीरगन्ज महानगरपालिकाले तयारी गरेपछि उद्योगीहरूले वैशाख ९ गते मेयर सिंहलाई भेटेर १५ दिनको समय माग्दै नदीमा प्रदूषण नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए। वीरगन्जको लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक बढी समयदेखि उद्योगहरूले प्रदूषित गर्दै आइरहेका छन्। नदीलाई प्रदूषणमुक्त बनाउन महानगरले यसअघि पटक पटक अनुगमन गर्नुका साथै एक वर्ष पहिले पाँचवटा उद्योगलाई ३/३ लाखको दरले जरिबानासमेत गरेको थियो। त्यसका बाबजुद पनि उद्योगीहरूले अटेरी गरिरहेका छन्।
बाराको रामवनबाट सुरु भई पर्साको वीरगन्ज महानगर हुँदै सीमावर्ती भारतको रक्सौलसम्म बगेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषण र अतिक्रमणको चपेटामा पर्दै आएको छ। वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन, कागज लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू सिधैं नदीमा मिसाइँदा नदी प्रदूषित र दुर्गन्धित बनेको हो।