दिनभरि नाटक, रातभरि नाटक !

संस्मरण

दिनभरि नाटक, रातभरि नाटक !

दर्शकको भीड र अत्यधिक प्रशंसा हाम्रा लागि थप उत्साह थियो, परीक्षा पनि। त्यसैले पनि देशको राजधानीमा नाटक देखाउन गइरहेका थियौं। जुन सानो चुनौती थिएन।

२०३२ सालको सुरुतिर। स्नातक पढाइ सकिसकेको थिएँ। हजुरबाको जुत्ता पसल विराटनगर र धरानमा थियो। उनले विराटनगरमा जुत्ता कारखाना पनि खोलिसकेका थिए। उनको इच्छा थियो मेरो स्नातक पढाइ सकेपछि धनकुटामा जुत्ता पसल खोलूँ। पूर्वाञ्चलमा जताततै जुत्ता पसल होस् भन्ने उनको इच्छा।

तर मलाई भने त्यस्मा कुनै रहर, इच्छा केही थिएन। विराटनगरको पसल मेरा जेठा दाजु ओजेशले हेर्थे, धरानको पसल अर्का दाजु मुकेशले हेर्थे। म देख्थें उनीहरूको पीडा। उनीहरू मालिक हैन, नोकर झैं थिए। बिना तलबका नोकर। घोडा झैं खटिन्थे।

पसलको बन्धनभन्दा पर

हाम्रो सँगोलको परिवारमा परिवारको संख्या निकै ठूलो थियो। ठूलो दाजुको पढाइ अघि बढ्न सकेन। बिहानदेखि बेलुकासम्म पसलमा गोरु झैं खट्थे। अर्का दाजु चित्रकलामा अघि बढ्न चाहन्थे तर पसलको कामले उनी एकछिन पनि समय निकाल्न नसक्ने स्थितिमा थिए। उनीहरूको दुःख, पीडा र यातना नजिकबाट देखिरहेको थिएँ।

मनमनै निर्णय गरिसकेको थिएँ– मलाई त्यो सँगोलको पसल चलाएर बस्नु छैन। मभित्रको नाट्यकर्मी बन्ने सपना, साहित्यलाई निरन्तरता दिने सपनामा कुनै पनि प्रकारको बाधा नआओस् भन्ने दृढतामा थिएँ। मुकेश दाजुको पनि चित्रकलामा अघि बढ्ने सपना पूरा हुन सकिरहेको थिएन।

समय निकालेर मुकेश दाजु धरानबाट कला नामको विशुद्ध चित्रकला विषयक पत्रिका निकाल्थे। सम्भवतः यो पत्रिका नेपालमै निजी क्षेत्रको पहिलो कला विषयक हुनुपर्छ। उनकै सक्रियतामा धरानमा युवा कलाकार समूह नामक संस्था खोलिएको थियो। यसरी उनको सक्रियता बढ्दै गर्दा पसललाई नहेरेको आरोप खेप्नुपरेको पीडा देख्थें म। यसैले म त्यो बन्धनमा फँस्न कदापि चाहन्नथें।

म कमजोर छात्र
विराटनगरमै पढाइ चलिरहँदा धनकुटामा नाटक मञ्चन हुने योजना बन्ने साथ साथीहरूले मलाई खबर पठाइहाल्थे। नाटक भनेपछि कुदिहाल्थें धनकुटा। साथीहरूले मेरा लागि प्रायः प्रमुख भूमिका  छुट्ट्याएका हुन्थे। रिहर्सलदेखि नाटक मञ्चन हुञ्जेल धनकुटा अनि नाटक सकिएपछि फेरि विराटनगर।

केही दिन पढाइ छुट्थ्यो, त्यसै पनि म कमजोर छात्र। तर पनि जसोतसो पास त हुन्थें नै। पढाइ सकिएपछि भने म धनकुटा नै फर्किएँ। संयोगले धनकुटामा नाट्यकलामा रुचि हुनेहरूको पुरानै जमातले विधिवत् रूपमा एउटा संघ खोल्यौं, नाम राख्यौं नवकलाकार सांस्कृतिक समाज। ओमकार श्रेष्ठको अध्यक्षतामा एउटा समिति बन्यो। संस्थाको विधिवत् शुभारम्भ नयाँ नाटक मञ्चनबाट गर्ने हाम्रो निर्णयअनुसार मनबहादुर मुखियाको नाटक ‘फेरि इतिहास दोहोरिन्छ’ छान्यौं।

त्यो बेला मनबहादुर मुखिया दार्जिलिङमा अत्यन्त सक्रिय थिए। उनका अनेकौं नाटकले दार्जिलिङमा तहल्का मच्चाइरहेको सुन्थ्यौं। जे होस् उनको त्यो नाटक मञ्चनको तयारीका क्रममा निर्देशक उपेन्द्र दुःखी जो हाम्रा सबै नाटक निर्देशन गर्थे, सबैका प्रिय थिए। कलाकारको छनोट प्रायः उनैले गर्थे। उनको छनोटमा यो नाटकको नायक म र नायिकामा बिन्दु श्रेष्ठ छानियौं अनि चरित्र अभिनेतामा गोपी श्रेष्ठ, अरू पात्रहरू महेश अमात्य, शारदा श्रेष्ठ, भागवत श्रेष्ठ, निर्देशक स्वयं आदि।

उसबेलै धनकुटामा टिकटमा नाटक

नाटक झन्डै तीन घण्टा लामो, बीचमा मध्यान्तरको व्यवस्था गर्‍र्यौं। धनकुटामा पहिलो पटक टिकटमा नाटक मञ्चन गर्ने परम्परा सुरु गर्‍र्यौं। त्यो बेला धनकुटामा बिजुलीबत्ती पुगिसकेको थिएन। न मोटर बाटो नै पुगेको थियो। पेट्रोमेक्स बालेर नाटक गथ्र्यौं।

गाउँगाउँबाट नाटक हेर्नेको घुइँचो लाग्यो। एडभान्स बुकिङ गर्न पर्‍यो। मेरो संवाद यति लामो कि अहिले सोच्दा अचम्म लाग्छ कसरी कण्ठ गर्न सकें हुँला। गोकुण्डेश्वर हाइस्कुलको सानो हलमा सानो स्टेजलाई कोठाको दृश्य बनाएका थियौं। हाम्रा निर्देशक उपेन्द्र दुःखी राम्रा चित्रकार पनि थिए। स्टेजको पृष्ठभूमिमा उनले झ्याल ढोकाको सुन्दर चित्र बनाएका थिए, लाग्थ्यो साँच्चीको जस्तो। दस दिन जति मञ्चन गर्‍यौं।

केही दिनको मञ्चनपछि हामीमा यति हौसला जागृत भयो कि हामीले कुरैकुरामा अबदेखि नियमित नाटक मञ्चन गर्ने अठोट गर्‍र्यौं। त्यतिबेलासम्म मेरा कथा कविता विभिन्न पत्रपत्रिकामा छापिन थालिसकेका थिए। नाटक भने लेखेको थिइनँ। साथीहरू मलाई नाटक लेख्न जोड गर्न थाले।

‘तिमी लेख्न सक्छौ’ तर कसरी ?

कति अरूको नाटक मात्र गर्ने ? अब आफैं लेख्नुपर्छ। तिमी लेख्न सक्छौ भन्दै मलाई उकास्न थाले। महेश अमात्य, गोपी श्रेष्ठ, उपेन्द्र दुःखी यी सबैले हरेक दिन जस्तो नाटक लेख्न कर कर गर्न थाले। यो नाटक पछि तिम्रो नाटक गर्ने। साथीहरूले घोषणा नै गरे।

अशेषले नाटक लेख्दैछ, अब यसपछिको नाटक त्यही गर्दैछौं। एक प्रकारले प्रचार नै हुन थाल्यो। मैले सोच्न पनि सकेको थिइनँ। के लेख्ने ? त्यति बेलासम्म बाहिर कसैको नाटक हेर्ने अवसर मिलेको थिएन। जानी नजानी हामी जसरी नाटक मञ्चन गथ्र्यौं त्योबाहेक कुनै ज्ञान थिएन। नाटक कसरी लेख्ने भन्ने कुनै ज्ञान नहुँदा आँट गर्न सकिरहेको थिइनँ। हरेक साँझ नाटकमा अभिनय गर्‍यो अनि राति सुत्ने बेलामा नाटकको कल्पना गर्दै निदाउने प्रयत्न गर्‍यो। जति गर्दा पनि के लेख्ने, नाटकको कथा कसरी बनाउने भन्ने पटक्कै भेउ पाउन सकिनँ। मेरो लागि त्यो एउटा चुनौती हुन गयो।

नाटक जसरी पनि लेख्नै पर्ने। के लेख्ने ? कसरी लेख्ने ? सोच्दै रात रातभरि समय बित्न थाल्यो। निद्रा हराउन थाल्यो। यस्तैमा एक बिहान झिसमिसेमा 
घरमा कल्याङमल्याङ आवाज सुनें। आवाजले मेरो निद्रा खुल्यो। गाउँको खेतबाट धान आइपुगेको कुरा थाहा पाउन बेर लागेन।

घरझगडा देखें अनि नाटक लेखें

हात्तीखर्क गाउँमा हाम्रो खेत थियो, बखतेले अधियाँमा लिएका थिए। धान पाकेर काटेपछि बखतेको परिवारले बोरामा राखेर ल्याइदिन्थे। हाम्रो घरबाट त्यो गाउँ पुग्न दिनभरि जस्तो लाग्थ्यो। उनीहरू दिनभरि खेतमा काम गर्थे अनि साँझमा धानको भारी बोकेर हिँड्थे।

हाम्रो घर आइपुग्दा यसरी चार, पाँच बज्थ्यो बिहानको। म सानो छँदा स्कुलको बिदामा केही दिनका लागि बुबाले त्यो गाउँमा पठाउने गर्थे। त्यो बिहान उनीहरूलाई देखेपछि अचानक बखतेको घर, त्यो हात्तीखर्क गाउँ र त्यहाँ बस्दाका दिन याद आयो।

कुनै दिन त्यहाँ बस्दा एउटा परिवारको ठूलै झगडा देखेको थिएँ। बाबु–छोराको झगडा। दुवै बाबु–छोरालाई उकास्दै झगडा मिलाउनुभन्दा आगोमा घिउ थप्ने विचित्रको व्यक्ति देखेको थिएँ त्यो गाउँमा। ती सबै चरित्रहरू आँखा अघिल्तिर नाच्न थाले। पूरै गाउँको दृश्य घुम्न थाल्यो– मानौं कुनै सिनेमाको पर्दामा दृश्य घुमेजस्तो। हराएको कुनै बहुमूल्य वस्तु भेटेजस्तो, वर्षौं खोजेर नपाइएको कुरा अचानक पाए जस्तो अद्भुत आनन्दको क्षण महसुस भएको थियो।

अनि के थियो र ! जुरुक्क उठेर कलमकापी लिँदै लेख्न सुरु गरें नाटक। थाहा थिएन कसरी कहाँबाट सुरु गर्ने भन्ने। अहिले सोच्दा लाग्छ– मैले कलम मात्र समाएको थिएँ मभित्र कोही पसेर लेख्न थाले जस्तो, सोच्दै नसोचेको कथा अघि बढ्न थाल्यो। न ल्यापटप, न कम्युटर, न फोटोकपी मेसिन। हातले लेख्नुपर्ने।

यसरी लेखेछु ‘तुवाँलोले ढाकेको बस्ती’

जुन बिहान लेख्न सुरु गरें, तिथि मिति त याद छैन। २०३२ सालको प्रारम्भिक महिना हुनुपर्छ। त्यो पहिलो बिहान दुई–चार पेज के लेख्दै थिएँ– साथी महेश अमात्य आइपुगे घरमा। नाटक लेख्न साह्रै कर गर्नेहरूमा उनी पनि एक थिए। हरेक बिहान आउँथे र लेख्यौ भन्थे। छैन भनेपछि भोलि आउँछु भन्दै फरक्क फर्केर जान्थे।

अर्का थिए, गोपी श्रेष्ठ हरेक दिन खै अझै लेखेका छैनौ ? भन्थे। साँझमा मञ्चन भइरहेको नाटकमा यी दुवैको पनि अभिनय थियो। वास्तवमा हामी सबै चाहन्थ्यौं आगामी नाटकको निरन्तरता होस्। यही क्रममा मलाई लेख्न कर गरिरहेका थिए र मैले त्यही बिहान सुरु गरेको पनि थिएँ।

  • मनभरि केवल नाटक, नाटक र नाटक। नाटकको भूतले छोएको त्यो क्षण, न खानको चिन्ता न सुत्नको। नवकलाकार सांस्कृतिक समूहका हामी सबै रातोदिन नाटकको मञ्चनमा यसरी जुटिरहेका थियौं, जसरी जुट्छन् बिहेको तयारीमा कुनै परिवार।
  • अनि के थियो र ! जुरुक्क उठेर कलमकापी लिँदै लेख्न सुरु गरें नाटक। थाहा थिएन कसरी कहाँबाट सुरु गर्ने भन्ने। अहिले सोच्दा लाग्छ– मैले कलम मात्र समाएको थिएँ मभित्र कोही पसेर लेख्न थाले जस्तो, सोच्दै नसोचेको कथा अघि बढ्न थाल्यो।
     
  • नाटकभरि लोकजीवन, लोकसंस्कृति, लोककला र लोकवेशभूषा सकेसम्म प्रयोग गर्‍यौं। कथावस्तुले पनि पूर्वी पहाडको जीवन, दुःख र पीडा देखाउन सकियोस् भन्ने हाम्रो प्रयास थियो। रात रातभर दिन दिनभर रिहर्सल गर्‍यौं, मेहनत गर्‍र्यौं। रंगकर्मको ज्ञानको अभाव हुँदाहुँदै पनि त्यो नाटक तयार भयो।

फुलिस्केप कागजका म लेख्दै थिएँ, महेश आइपुगे। मलाई देखेर सायद खुसी भएको हुनुपर्छ। दुई, चार पेज जति लेखिसकेको थिएँ। ती कागज उठाउँदै तिमी अरू लेख्दै गर टाइप गर्न लान्छु भन्दै लिएर गए। उनी कुनै सरकारी कार्यालयमा सायद टाइपिष्ट थिए। उनी यति हतारिँदै गए अक्क न वक्क म केही प्रतिवाद गर्न सक्ने अवस्थामा पनि भइनँ सायद।

महेश गएपछि मेरो लेखनको निरन्तरता रोकिएन। लेख्दै गएँ भोलिपल्ट बिहान फेरि आइपुगे उनी। बाँकी लेखिएका पन्ना उठाए, लगे। फेरि अर्को दिन आए बाँकी पन्ना उठाए, लगे। यसरी मैलै लेख्ने उनले टाइप गर्ने यो प्रक्रिया चलिरह्यो। लेखिसकेका ती पन्ना दोहोर्‍याएर पढ्न पाइनँ। सायद सात–आठ दिनमा लेखन सकियो।

ती सबैको टाइप गर्ने काम पनि सकियो। टाइप भइसकेपछि बल्ल पढ्न पाएँ। दोहोर्‍याएर लेखेको पनि होइन। सर्सर्ती जे लेखें, लेखिसकेको पढ्न पाएको पनि होइन। एकै लेखाइमा सकियो। आजकल बारम्बार सोच्ने गर्छु– कसरी लेखें हँुला। न लेखनको कुनै तैयारी न यस्तै कथावस्तु हुनेछ भन्ने मनमा कुनै प्रारम्भिक सोच। यत्ति थाहा छ मेरो हातमा कलम थियो।

अघिल्तिर साधा कागज अनि कसरी मेरो हातको औंलाको कलम सर्सर्ती सर्‍यो साधा कागजमा। त्यसमाथि म लेख्दै जाने लेखिसकेका पानाहरू दोहोर्‍याएर हेर्न नपाई टाइपका लागि लैजाने। कसरी सातै दिनमा त्यो नाटक लेखेर सकियो ? स्वयं नै थाहा छैन। मलाई लागिरहन्छ त्यो नाटक मैले लेखेकै होइन। मभित्र कोही पसिरहेको थियो र उसैले लेखिदियो।

नाटककार, नायक र अभिनय

जीवनमा कहिल्यै नाटक नलेखेको। पहिलोपटक कसरी नाटक लेखिसकें ? सम्झँदा अचम्म लाग्छ। लेखेर टाइप गरिएको फाइनल कपी मलगायत नाटकका निर्देशक गुरु उपेन्द्र दुःखी र अन्य कलाकार साथीहरू सबैले पढ्यौं। छलफल गर्‍यौं। अचम्म त के भने सबैले नाटक मन पराए। न छाँटकाँट न परिमार्जन। जे लेखियो त्यही स्क्रिप्ट सर्वसम्मतले मञ्चनका लागि परित गरियो।null

अनि मैले बल्ल शीर्षक राखें– तुवाँलोले ढाकेको बस्ती। धमाधम पात्रको छनोट गरे निर्देशकले। मैले नायकको भूमिका पाए,ँ जसको नाम थियो श्रीमाने। अर्को मुख्य चरित्र बखतेको भूमिकामा गोपी श्रेष्ठ, यस्तै पण्डित महेश अमात्य, मनमाया शारदा श्रेष्ठ, जगतेको भूमिका निर्देशक स्वयं उपेन्द्र दुःखी, नायिकामा जानकी श्रेष्ठ, मन्देमा भागवत श्रेष्ठ, अरू थुप्रै भूमिका थिए।

गाउँलेहरू, नाच गान गर्नेहरू, संगीत र वाद्यवादकहरू। झन्डै ३०–३५ जना। दीपककृष्ण र लक्ष्मीकष्ण श्रेष्ठ दाजु–भाइले संगीत दिएका थिए। गीत महेशले लेखेका थिए। गजबको उत्साह, हरेक साँझ फेरि इतिहास दोहोरिन्छ नाटक चलिरहेकै थियो।दिनमा भने यो अर्को नाटकको रिहर्सल सुरु । त्यो नि केही दिनमै रिहर्सल सकियो।

अघिल्लो नाटक पनि सकियो। अनि तैयारीमा जुट्यौं। गोकुण्डेश्वर हाइस्कुलको सानो स्टेज, सानो हल। स्टेजमा सानो घर, सानो चौतारा बनायौं। धनकुटामा त्यो बेला भर्खरै टेप रेकर्डर आइपुगेको थियो। बिहान कुखुरा बासेको आवाजका लागि हाम्रो कुखुराको खोरमा त्यो टेप रिकर्डर
लिएर झिसमिसे मै कुखुराको छेउमा गएर बस्थें। केही दिनको प्रयासपछि कुखुरी काँ... को ध्वनि रेकर्ड गर्न सफल हुँदाको आनन्द अहिले पनि 
मनको कुनै कुनामा ताजै छ।

नचिताको चुनौती, नसोचेको अवसर
नाटकमा साँझ, रात र दिनका लागि विभिन्न संकेत दिन डिमर हुने त कुरै भएन। डिमरको नामसमेत सुनेका थिएनौं। त्यसका लागि न ट्रान्सपेरेन्सी पेपर नै उपलब्ध थिए। कपडा पसलमा कपडामा बेरिएर आउने झिलझिले कागजलाई रातो, पहेंलो, नीलो रंगमा रंगाएर प्रयोग गर्‍यौं। रात दिनको मेहनतले नाटकलाई सुन्दर बनाउन हरप्रयत्न गर्‍यौं।

मेरा लागि पनि त्यो एउटा चुनौती थियो, रोमाञ्चक स्थितिको क्षण थियो। आफ्नो लेखनको त्यो पहिलो नाटक। नाटककार, कलाकार बन्ने एउटा ठूलो सपना। सबभन्दा रोचक कुरा त के भने त्यो बेलासम्म विराटनगरमा मनबहादुर मुखियाको नाटक हेरे बाहेक अरू कसैको नाटक हेर्ने अवसर मिलेको पनि थिएन।

नाटक कसरी लेखिन्छ ? कसरी मञ्चन गरिन्छ ? भन्ने कुनै ज्ञान नहुँदा नहुँदै पनि हामी राम्रो नाटक देखाउन जुटिरहेका थियौं। धनकुटामा नाटकको संस्कृति स्थापित गर्न लागिरहेका थियौं। नाटक सित्तैमा देखाउनु हुँदैन भनेर टिकटको प्रचलन सुरु गरिसकेका थियौं। हाम्रो प्रयत्न थियो कि त्यो तुवाँलो ढाकेको बस्ती नाटकमा सकेसम्म पूर्वीय पहाडको संस्कृति झल्काउन सकियोस्। उपेन्द्र निर्देशक मात्र होइन, राम्रा कलाकार र गायक पनि थिए। गाउँगाउँ गएर लोकगीतको संकलन पनि गर्थे। उनकै संकलनको ज्यादै मीठो गीत वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना...। उनकै स्वरमा गाएर नाटकमा राखियो।

अचम्म लाग्छ हाम्रो समूहमा एक से एक गायक, एक से एक डान्सर

नाटकको बीचमा धनकुटाका राई जातिको लोकप्रिय च्याब्रुङ नाच पनि राख्यौं। तिहारको दृश्य अनि धनकुटामा त्यस अवसरमा नाचिने लोकनृत्यलाई पनि राख्यौं। अहिले पनि अचम्म लाग्छ हाम्रो समूहमा एक से एक गायक, एक से एक डान्सर थिए। अभिनयका क्षमता भएकाहरू पनि एकसे एक थिए। स्टेज कलालाई सुन्दर बनाउन श्रीकृष्ण जोशी र उपेन्द्र दुःखीको सीप अद्भुत थियो।

गोपीकृष्ण श्रेष्ठ, महेश अमात्य, भागवत श्रेष्ठ, शारदा र जानकी श्रेष्ठ प्रायः सबै खारिएका कलाकार थिए। यी कसैले पनि कतै अभिनय सिकेका थिएनन्। हामी सबैको प्रयास थियो त्यो नाटकको कथावस्तु मात्र होइन, प्रस्तुतिसमेतमा पूर्वीय संस्कृतिको पूरै झलक देख्न सकियोस्। भयो पनि त्यस्तै। नाटकभरि लोकजीवन, लोकसंस्कृति, लोककला र लोकवेशभूषा सकेसम्म प्रयोग गर्‍यौं। कथावस्तुले पनि पूर्वी पहाडको जीवन, दुःख र पीडा देखाउन सकियोस् भन्ने प्रयास थियो। रात रातभर दिन दिनभर रिहर्सल गर्‍यौं, मेहनत गर्‍र्यौं। रंगकर्मको ज्ञानको अभाव हुँदाहुँदै नाटक तयार भयो।

मनभरि नाटक, न खानको चिन्ता न सुत्नको

मेरो लेखनको पहिलो नाटक तुवाँलोले ढाकेको बस्ती। त्यसको मञ्चन हुन लागेकोमा बेग्लै उत्साहको त्यो क्षण। रिहर्सल सकेर तयारीको अवस्थाकै बीच मेरो यो व्यक्तिगत कचरपचर सकिएपछि म सायद हलुको भइसकेको थिएँ। त्यो नाटकको रन्कोबाहेक दिलदिमागमा अरू कुनै कुरा थिएन। नाटकको नायकको भूमिका पाएको थिएँ। संवाद कण्ठ गर्नुदेखि अभिनय गर्नुसम्मको जिम्मेवारी अनि प्रस्तुतिको सामूहिक व्यवस्थापनको कर्तव्य आदि त छँदै थियो।

मनभरि केवल नाटक, नाटक र नाटक। नाटकको भूतले छोएको त्यो क्षण, न खानको चिन्ता न सुत्नको। नवकलाकार सांस्कृतिक समूहका हामी सबै रातोदिन नाटकको मञ्चनमा यसरी जुटिरहेका थियौं, जसरी जुट्छन् बिहेको तयारीमा कुनै परिवार। केही हप्ताको तयारीपछि नाटकको प्रदर्शन मिति तोकियो। हाम्रो संस्थाका अध्यक्ष थिए, ओमकार श्रेष्ठ। व्यवस्थापनको सारा जिम्मा उनको काँधमा।

बिहीबारे हाटमा माइकिङ, दर्शक त खचाखच

साँच्चै भन्ने हो भने उनको नेतृत्व र हामी कलाकारको अनुपम संयोजन थियो। जे होस्, मिति तोकियो। एउटा सानो ह्यान्डमाइक थियो। त्यही बोकेर टोलटोलमा प्रचार गर्न हिड्यौं। बिहीबारको दिन धनकुटामा हाटबजार लाग्थ्यो। हाटमा माइकिङ गरेपछि त्यो खबर हावाजस्तो गरी गाउँगाउँमा पुग्थ्यो। त्यसको पनि मज्जैले उपयोग गर्‍यौं।

गोकुण्डेश्वर हाइस्कुलको सानो हल। दर्शकको खचाखच। अग्रिम बुकिङको व्यवस्था पनि गर्‍यौं। टोल टोल, गाउँगाउँबाट नाटक हेर्नेको भीड। जसले हाम्रो उत्साह दिनदिनै थपिरहेको स्थिति थियो। सायद धनकुटामा त्यसरी टिकटमा धेरै दिन चलेको नाटक त्यही हुनुपर्छ। सानो ठाउँमा यसरी हाम्रो नाटकले लोकप्रियता पाएको देखेर हामी यति हौसिएछौं मानौं हामीले देशैभर ख्याति पाइसक्यौं। हामी सबै कलाकारको एउटै आवाज निस्कयो अब यो नाटक लिएर काठमाडौं जानुपर्छ।

न्युयोर्कजस्तै काठमाडौं, बसाइँ सरेजस्तो जम्बो टोली

काठमाडौं हरेक कलाकार र कविहरूको सपना। तर त्यतिबेला काठमाडौं हाम्रा लागि न्युयोर्क पुग्नुजत्तिकै थियो। त्यो सानो गाउँ धनकुटाबाट काठमाडौं पुग्नै कति दिन लाग्थ्यो। कता हो कताको सहर। न नाइट बस थियो। न मोटरगाडीको सुविधा। हिँडेरै धरानसम्म पुग्नुु पथ्र्यो। त्यसमाथि त्यत्रो जम्बो कलाकारको टोली।

न पर्याप्त पैसा नै थियो हामीसँग, न कुनै स्रोत अनि न त कुनै चिनजान। कसरी पुग्ने ? समस्या त थियो नै। काठमाडौंमा कहाँ कसरी देखाउने नाटक ? झिनो आशा थियो एकेडेमी। एक प्रकारले अँध्यारोमा तीर हाने जस्तो। थाहा छैन त्यो जोश कहाँबाट आयो ?

सबै तात्तियौं। कुम्लो कुटुरो बोकेर हिँड्यौं। ३०–४० जनाको हूल। भरियाको लर्को। साँझतिर धनकुटाबाट भरियाको लर्कोसँगै त्यसरी जाँदा टीका लगाएर बिदा गरेको दृश्य अझै पनि आँखाभरि छ। त्यो बेलाको धनकुटा पूरै बजार एउटै परिवार जस्तो थियो। मानौं सबै आफन्त। सबैले हार्दिकतापूर्वक बिदाइ गरे। मानौं बसाइँ हिँडेजस्तो। त्यस रात मूलघाटमा बास बस्यौं।

भोलिपल्ट बिहानै लाग्यौं– लेउतीको किनारैकिनार। धारापानीको नाकै ठोक्किने उकालो चढ्दै। साँगुरीको ठाडै उकालो चढेपछि मात्रै ओराली। साँझ झमक्क पर्दा साँगुरीको ओरालो के लागेथ्यौं देखियो धरान बजार। झलल्ल बत्ती बलेको सहर। हाम्रो लागि धरान नै कताकताको ठूलो सहर।
झिलिमिली बत्तीको त्यो सहर देखिएपछि त के थियो धारापानीको उकाली चढ्दाको थकान एक निमेषमै हराए जस्तो भने। सबैको उत्साह। कहिले धरान पुगुँको हतारो। धरान पुग्दा रातै परिसकेको थियो।

राजधानीमा नाटक, एक परीक्षा

धरानमा साथीभाइ र शुभचिन्तकहरूले निकै सहयोग गरे। हामी दुई दिन धरान बस्यौं। दाजु मुकेश मल्ल र उपेन्द्र पागलले हाम्रो नाटकको विशाल ब्यानर बनाएर धरान छाता चोकमा टाँगिसकेका रहेछन्। मानौं कुनै हिन्दी सिनेमाको बडेमान पोस्टर जस्तो। अहिले जस्तो डिजिटलको जमाना पनि त थिएन, क्यानभास बनाएर तेल रंगले बनाएका थिए।null​​​​​​​

हल पनि त थिएन। जे होस् दुई दिन नाटक मञ्चन गर्‍यौं। यसपछि अर्को दिन विराटनगरको वीरेन्द्र सभागृहमा दुई सो। धनकुटाकाको सानो हलमा नाटक गर्नु र यी दुई सहरका हलहरूमा नाटक गर्नुमा ठूलो अन्तर थियो। पहिलोपटक हामी नाटक लिएर यसरी घर बाहिर निस्किरहेका थियौं।

दुवै सहरमा दर्शकको भीड र अत्यधिक प्रशंसा हाम्रा लागि थप उत्साह थियो। यो एक प्रकारको परीक्षा पनि थियो। किनभने हामी देशको राजधानीमा नाटक देखाउन गइरहेका थियौं। त्यो हाम्रा लागि सानो चुनौती थिएन। धनकुटाका दर्शकलाई देखाउनु र काठमाडौंमा नाटक मञ्चन गर्नुको अन्तर थाहा नभएको पनि त होइन। हामी हाम्रो नाटक तुवाँलोले ढाकेको बस्ती लिएर अब मुलुकको राजधानी काठमाडौं लाग्दै थियौं।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.