मुगुमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियो विरुद्धको खोप
मुगु : जिल्लाको चारवटा स्थानीय तहमा जेठ १३ देखि २६ गतेसम्म बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने भएको छ। इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) खोपसम्बन्धी समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको छ।
५ देखि ८ वर्षसम्मका २ हजार ९ सय २६ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
२०७३ जेठदेखि ०७५ भाद्रसम्म खोप अभावका कारण २ हजार ९ सय २६ जना बालबालिका छुटेका कार्यालयका निमित्त प्रमुख डाक्टर कमल ढुङ्गानाले बताए। उनका अनुसार यो अवधिमा छुटेका बालबालिकासहित नियमित खोप पनि अभियानमा सञ्चालन हुने छ।
यो अभियान जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका भने केही प्रभावित हुन सक्ने देखिएको छ। जेठ १५ गतेबाट एक महिनाका लागि गाउँपालिकाले यार्सा संकलन गर्ने मिति तय गरेको छ। यो समयमा यहाँका बालबालिकासहित घरपरिवार यार्सा संकलन गर्न पाटनतिर जाने भएकाले खोप प्रभावित हुने गाउँपालिकाका स्वास्थ्य निरीक्षक बली बुढाले बताए।