ठूला माछा

ठूला माछा
सुन्नुहोस्

रहस्यको कुरो भनुँ ? ‘ठूला माछाहरू समातिन्छन्, अथवा समातिने प्रयासहरू हुन्छन्, अर्थात् समातिने प्रयास गरिए जस्तो या समातिएै जस्तो देखिन्छ पनि । थाहा पाइराख्नुस्, तिनै ठूला माछा समात्ने वा समात्न प्रयास गर्ने म पनि एक माछा नै हुँ, ठूलै डालको माछा !!’

देशभर बगिरहेछन् नदीहरू । राजधानीमा पनि बगिरहेका छन्– बागमती, विष्णुमती, धोबीखोला, टुकुचा । र, नदीको नाम आएपछि पानीको कुरो आउने नै भयो । तर, नदीहरूमा कति पानी बगिरहेछ या बगिरहेको पानी कति धमिलो छ भन्ने सरोकारको विषय होइन ।

केवल, पानीको प्रसंग आएपछि तलाउको कुरो उप्काउन खोजिएको मात्रै हो ! त्यसो त, मञ्जुश्रीले चोभारको डाँडा छप्छप् नकाटेको भए हामी यहाँको तलाउमा पौडी खेलेर मनोरञ्जन लिइरहेका हुन्थ्यौं सायद ।

तर, सबैलाई थाहै छ– अहिले यहाँ तलाउ छैन । तलाउ नभएपछि स्वभावतः पानी पनि छैन । विडम्बना ! पानी नभए पनि माछा भने प्रशस्तै छन् यहाँ । माछाको कुरो गर्दा, दोकान खोलेर जिउँदै बेच्न राखिएका माछाको कुरा गर्न लागेको भने होइन । त्यस्ता माछाको कुरा गर्दै छु जो पानीबिना पनि बाँचिरहेका छन् । बाँचिरहेका मात्र होइन, बडो आनन्दपूर्वक मोजमस्तीका साथ बाँचिरहेछन्, ढुक्कको श्वास फेरेर बाँचिरहेका छन् ।

दुई वर्गका माछा छन् यहाँ, एउटा– साना माछा, अर्को– ठूला माछा । राजधानीको घर–डेराभित्रको आफ्नो कोठाको टेलिभिजनमा अन्यले झैं पनि हेरिरहेछु/सुनिरहेछु– माछाका खबरहरू । बेला–बेलामा माछालाई नै पनि देखाइन्छ । चाख मानी–मानीकन हेर्ने गर्छु–
– सुनै सुनजस्ता झलल चम्किएका माछा,
– मिटरब्याजी माछा,
– सहकारी माछा,
– सरकारी जग्गा नै निल्न सक्ने अजंगका माछा,
– मान्छेजस्तो चेतनशील प्राणीलाई पनि वस्तु झैं बेच्ने हिम्मत भएका माछा ।

माछा ! स्वभावतः जातै चिप्लो । तुलनात्मक रूपमा साना माछाहरू अलिक कम चिप्लो भए पनि ठूला माछाहरू त कता हो कता बढी चिप्ला छन्, एकदमै चिप्लो– समात्नै नसकिने । समातिहाले पनि फुत्तै चिप्लिहाल्ने । बजारमा हल्ला पनि छ– माछालाई समात्नै सकिन्न । जतिसुकै दह्रो बल्छी थापेर या बलियो जाल नै हालेर माछालाई समात्न सफल नै भएछ भने पनि फेरि कुन सड्को ती अन्ततः जसरी पनि उम्किहाल्छन् । 
हुन पनि, अस्ति भर्खर एउटा ठूलै माछा समातिएको थियो क्यार, नभन्दै छिट्टै उम्की त हाल्यो !

फेरि पनि गफ हाँक्न भने छाडिएकै हैन– ‘जत्रोसुकै ठूला चिप्ला माछा किन नहोउन्, हामी एक–एक गरेर हरेक प्रकारका माछालाई समातिछाड्ने छौं ।’
यस्तो गफलाई धेरैले पत्याएका पनि छन् र ढुक्कका साथ भनेका छन्– ‘हेरौला, एक दिन सबै ठूला माछाहरू समातिने छन् ।’ अर्कातिर, नपत्याउनेहरूले आशंका व्यक्त गरिरहेका छन्– ‘कसरी समातिनु ? एक त भेटिनै कठिन, भराभुरी त सजिलै भेटिएलान् तर ठूला माछाहरू कता लुकेका हुन्छन् कता ! कदाचित् भेटिई नै हाले पनि तिनलाई समात्न त्यति सजिलो कहाँ छ ? अनेक जुक्ति खियाउनुपर्छ । फकाउनुपर्छ/फुल्याउनुपर्छ ।

अझ भएन, स्वीकृति नै पो लिनुपर्छ त । विडम्बना, स्वीकृति पनि फेरि माछासँगै लिनुपर्छ । भुराभुरीसँग त किन लिइराख्नुपर्यो‍ र स्वीकृति ! ठूला–ठूला माछासँग भने पक्कै स्वीकृति लिनुपर्छ । अझ त्यो पनि, यहाँका ठूला माछासँग मात्र स्वीकृति लिएर पुग्छ र ! विदेशका, साँच्चै भन्ने हो भने मित्रराष्ट्रहरूका सामुद्रिक ह्वेल माछाहरूसँग पनि स्वीकृति लिनुपर्छ ।

ल भैगो, ठूलो माछा कसै गरेर समातियो रे ! तर, समातिएको माछा चानचुने हुन्छ र ? समातिनुसाथ दिमाग लगाइहाल्छ ठूलो माछाले, अर्थात् नियोजित रूपले त्यो माछा बिरामी परिहाल्छ । अनि, समातिनुको सट्टा नभएको चोट या नभएको दुखाइ देखाएर÷सुनाएर प्राइभेट अस्पतालको फाइभस्टार सरहको बेडमा सलाइन–पानी चढाउँदै लम्पसार परेको पो देखिन्छ ! अब, समातिएन त ठूलो माछा ?? हातमा हतकडीको बदला सलाइनपानी, वाह !!

यसबाटै स्पष्ट हुन्छ, वा कसैलाई थाहा नभए अब थाहा होस्– ठूला माछाको ‘कनेक्सन’ धेरै किसिमका हुन्छन्–धार्मिक हुन्छ, सांस्कृतिक हुन्छ, जातीय हुन्छ, शैक्षिक हुन्छ, व्यापारिक हुन्छ, प्रशासनिक हुन्छ; सबैभन्दा बढी राजनीतिक हुन्छ । र, भन्नै परेन कि त्यस्तो कनेक्सन स्वदेशीय मात्रै होइन अन्तरदेशीय नै हुन्छ ।

यहाँनिर, मेरा एक मित्रले भनेको एउटा रहस्यको कुरो भनूँ ? ‘ठूला माछाहरू समातिन्छन्, अथवा समातिने प्रयासहरू हुन्छन्, अर्थात् समातिने प्रयास गरिए जस्तो या समातिएै जस्तो देखिन्छ पनि । थाहा पाइराख्नुस्, तिनै ठूला माछा समात्ने वा समात्न प्रयास गर्ने म पनि एक माछा नै हुँ, ठूलै डालको माछा !!’पुनश्चः टेलिभिजनका पर्दामा माछाहरूको नौटंकी देखेर म त सधैँ हाँसिदिन्छु । हाँस्नु स्वास्थ्यका लागि पक्कै पनि हानिकारक हुन्न ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.