१२ औं वर्षमा बागमती सरसफाइ, निरन्तर सफा गर्ने प्रतिबद्धता

१२ औं वर्षमा बागमती सरसफाइ, निरन्तर सफा गर्ने प्रतिबद्धता

स्वतःस्फूर्त रूपमा यति ठूलो महाअभियान भएको कुनै काम छ भने त्यो बागमती सफाइ महाअभियान नै हो। त्यो पनि बिना दाता चल्नु, बिना भत्ताा खटिनु, अझ उल्टै सफाइ सामग्रीमा आफ्नै पैसा खर्च गर्नु, योभन्दा उदाहरणीय कार्य अरू सायदै भएको छ नेपालमा यति लामो समयसम्म।

किनकि दशक अवधि नै निकै लामो हो, त्यो पनि ढल मिसाइएको र वर्षौंदेखि कुहिएको फोहोरको डंगुर निकाल्न नदीभित्र पस्नु सामान्य कुरो हुँदै होइन। इच्छाशक्ति भए सम्भव हुन्छ भन्ने प्रमाणित गरेर देखाउने झन्डै १५ लाख नेपाली नागरिकले गर्व गर्न पाएका छन् बागमती सफाइका नाममा। अभियन्ता बनेर निरन्तर सेवा गर्ने प्रतिनिधि व्यक्तित्वले व्यक्त गरेका विचार गोपीकृष्ण ढुंगानाले संयोजन गरेको अन्नपूर्ण राउन्ड टेबलमा।


बागमती सफाइ महाअभियान कसरी राष्ट्रकै गर्वको विषय बन्यो ?
एल पि भानु शर्मा, 
बागमती अभियन्ता 

बागमती सफाइ महाअभियान सबै नागरिकको साझा अभियान हो । बागमती नदीमा पछिल्लो ११ वर्षमा देखिएका परिवर्तन बागमती सफाइ महाअभियानकै देन हो । यस महाअभियानमा एक दिन जोडिने अभियन्ता र निरन्तर जोडिने हरेक अभियन्ताको समान महत्व र हैसियत छ । जुन महाअभियानको ऊर्जालाई लिएर जीवन विज्ञानले देशका अन्य स्थानमा समेत सफाइ अभियान सञ्चालन गर्न सफल भएको छ ।

कुनै प्रकारको आर्थिक संकलन नगरी, चन्दा संकलन नगरी स्वयंसेवी तवरले सञ्चालन भएको यस अभियान राष्ट्रकै गर्वको विषय हो । यो विशेष किसिमको महाअभियान ११औं वर्ष पूरा गरी १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सबै अभियन्ता तथा सरोकारवला निकाय सम्पूर्णमा हार्दिक वधाई तथा अभियानको सफलताको शुभकामना व्यक्त गर्दछु ।

११ वर्षमा खास के कस्ता काम गर्नुभयो ? जनचेतना जागृत भयो त ?
किशोरसिंह शाही, अभियन्ता
११ वर्षअघि काठमाडौं उपत्यकामा फोहोरमैलाको स्थिति कति भयावह थियो ? भनिसाध्य थिएन । हरेक बाटोमा फोहोरको डंगुर थुप्रिन्थ्यो भनेपछि नदीहरूको अवस्था के थियो होला ? यो अभियान आइसकेपछि सरसफाइ गर्नुपर्छ, नदीमा फोहोर फाल्नु हुन्न भन्ने भाव आयो मानिसमा । यसबीच बागमतीमा ठूलो परिवर्तन आयो । ढल हालेकै थिएन, भत्केको पुलसम्म मात्र अधिकार सम्पन्नले हेथ्र्यो, उता त सुकुम्बासी बस्ती छ जानै हुन्न भन्थे ।

कर्मचारी पिट्छन् भन्थे । अहिले त्यो अवस्था छैन । आजसम्म २० हजार मेट्रिकटनभन्दा बढी फोहोर काठमाडौं उपत्यकाका नदीहरूबाट झिकिसकेका छौं । झन्डै १५ लाख मानिस यो सफाइमा जोडिइसके । दर्जनौं यस्ता अभियान देशभरि चलिरहेका छन् । ट्रिटमेन्ट प्लान्ट पनि बन्यो । तर पनि बागमतीमा कालो पानी बगिरहेछ । जवाफदेही को बन्ने ? खबरदारी पनि गरिरहेकै छौं । अभियान त सबै नदी ढलमुक्त बनाएर सफा बगाउने हो । किनकि मूल समस्या भनेकै ढल हो बागमती सफा नहुनुको । ढल व्यवस्थापनको काम अभियान चलेको पाँच वर्षभित्रै भइसक्नुपथ्र्यो । अब चाहिँ तुरुन्तै रोकियोस् नदीमा ढल मिसाउने काम ।

बागमती सफाइ महाअभियानले आमनेपालीलाई के दियो ?
डा. माला खरेल, अभियन्ता

कसैलाई भनेर अह्राएर होइन, सबै स्वतःस्फूर्त नदीभित्र पसेर सरसफाइ गर्ने अभियान हो यो । कुनै संस्था विशेष वा नेतृत्व विशेषमा पनि यो सञ्चालित होइन । पैसा छैन केही काम गर्न सकिन्न भन्छन् मानिस तर बिनाबजेट पनि यति ठूलो काम निरन्तर चल्दोरहेछ भन्ने सन्देश सर्वत्र फैलिएको छ । ज्याला दिने हो भने १५ लाख मानिसलाई दुई घण्टाको दरले कति दिनुपथ्र्यो होला ? सरकारले दिनु परेको भए । राज्यले गर्नुपर्ने धेरै बजेटको काम निःशुल्क गर्‍यौं, ‘राष्ट्रका लागि दुई घण्टा’ भनेर ।

महाअभियानमा आर्थिक चलखेल छैन । लेनादेना केही छैन । कसैले दिएको छैन, हामीले नि लिएका छैनौं, चाहिएको पनि छैन । बैठकमा बस्दा हुने खर्च, मास्क, पन्जा, डोको आदि आवश्यक सामग्री स्वयंसेवी अभियानबाट पुगेको छ । बीचमा केही समयमात्र यस्ता सामग्री स्वीकार गर्‍यौं । हरेक शनिबार ठिक ७ बजे सुरु हुन्छ ९ मा सकिन्छ, जतिसुकै ठूलो मान्छे आउने भए पनि कुर्दैनौं, कोही आए आउँछ नआए आउँदैन । लाखौंको परिवार यो महाअभियानले दियो । त्यसैले यो अभियानलाई जसरी पनि आफैं गर्दै अघि बढ्छौं, बढिरहन्छौं, जहिलेसम्म हामी व्यक्तिगत सरसफाइ गरिरहन्छौं, त्यति नै समयसम्म बागमती पनि सरसफाइ गरिरहन्छौं । भलै भोलि युवा पुस्तालाई जिम्मा लाउँछौं ।

ढलमुक्त बागमती सम्भव भयो ? प्लास्टिक कति निकाल्नुभयो ?
चक्रबहादुर चन्द, अभियन्ता

महाअभियान सुरु नभएको भए बागमती नदी आज जसरी बग्ने थिएन, नदीभरि फोहोरबाहेक केही हुन्थेन । नागरिक स्तरबाट यसरी सुरु भएपछि राज्यका निकायहरू पनि जुर्मुराए । राज्यलाई ढलमुक्त नदी बनाउनुपर्छ भन्ने दबाब सिर्जना भयो । मुहानदेखि गुह्येश्वरीसम्म ७३ प्रतिशत ढलमुक्त भएछ बागमती । सरोकारवाला सरकारी निकायहरूलाई भनेका छौं, जबसम्म नदी ढलमुक्त हुन्न, तबसम्म लाखौं नदीमा पसेको अर्थ हुँदैन ।

नदीभित्रका प्लास्टिक नटिपेको भए आज जसरी नदीकिनारमा मर्निङ वाक, इभिनिङ वाक, योग आदि भइरहेछ, बालबालिका, युवा र वृद्धवृद्धा रमाइरहेका छन्, सुटिङ कार्य चलिरहेको छ, त्यो कुनै हुने थिएन । किनारमा ६ हजार बिरुवा हुर्किरहेका छन् । दैनिक ४८ टनसम्म फोहोर उठ्थ्यो नदीबाट तर अहिले मुस्किलले एक टन हुन्छ । गोकर्णमाथि बंगुरपालनदेखि वधशालासम्म नदीछेउमै छन् ।

भन्यो भने ‘इगो’ साँधे झैं भएको छ । तर अब हामी सजग बागमतीमात्र होइन, सबै नदीखोला र तालतलाउमा हुनुपर्छ । हाल पनि उपत्यका बाहिरका एक सय स्थानमा सफाइ अभियान चलिरहेको छ । मेची–काली सफाइ अभियानमा ६४ क्षेत्रमा काम भइरहेछ, बागमतीकै प्रेरणाले हो । सुर्खेतको बुलबुले ताल पनि यहीँबाट प्रेरणा पाएर मेरो नेतृत्वमा चलिरहेछ, पुनर्जीवन पाएको छ । कामको सिलसिलामा भारतको सिलिगुढीको महानन्द नदी जो बागमतीभन्दा दूषित थियो, त्यहाँ पनि ९० साता काम गरेर सफा गर्‍यौं । बागमती महाअभियान अन्तर्राष्ट्रियकरण भएको छ ।

अधिकार सम्पन्न बागमतीले कसरी काम गर्छ ? सहकार्य छ ?
आशा पाण्डे, अभियन्ता

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आफ्नो काम गर्दिएको भए सायद यो बागमती सफाइ महाअभियान सुरु हुँदैनथ्यो । नगरेकै कारणले यो अभियानको जन्म भयो । बागमती भने पनि पानी देख्न पाइँदैनथ्यो । पानीभन्दा फोहोर हुन्थ्यो । चउरजस्तो लाग्थ्यो, हिँड्न पो मिल्छ कि भनेजस्तो फोहोरले ।

मृत बागमती थियो ११ वर्षअघि । बागमती जीवन्त बगाउन समिति स्थापना गरिएको हो खासमा । सफा गर्ने, किनारा हरियाली गर्ने, स्वच्छ पानी बगाउने आदि काम हो समितिको । दण्डहीनताको अवस्थाले जसले पनि नदीमा फोहोर फाले, फालिरहे । ९५ प्रतिशत प्लास्टिक टिप्यौं, अझै ५ प्रतिशत होला नदीमै । बागमती त नेपालकै सभ्यता हो तर यसैलाई सभ्य बनाउन सकेनौं भने के अर्थ ? यसको के महŒव ? समितिले गरेन र गर्नुहोस् भन्छौं उल्टै दोष लगाए अभियन्ताले भन्छ समिति । दायित्व पूरा गर भनेको मात्र हो । बजेट, योजना, खर्च र पारदर्शिता देखाउ भनिरहन्छौं । अभियन्ताले केही पाउँदैनन्, हामी श्रम र अझ कमाइ खर्च गरिरहेछौं ।

null

बागमतीमा मान्छे नै पसिरहने कि विकसित देशमा जस्तो अब छिटो हुने मेसिन प्रयोग गर्ने ?
चित्रकुमार सुनुवार, अभियन्ता

मेसिन लगाएर सफा गरेर बागमती र अन्य नदी सम्भव हुँदैन । यसरी हरेक हप्ता हजारौं मानिस नदीमा पसेर फोहोर सोरेर पनि सम्भव हुँदैन । यसको मुहान नै बन्द गर्नुपर्छ । पुलमुनि पानी बगेको हुँदैनथ्यो फोहोरले । त्यस्तो ठाउँमा हिँडेर जाँदा तीनकुने पुलमुनि एउटा बच्चा हिलोमा भासियो र निधन भयो । हाम्रो नेग्लिजेन्सका कारण कसैको ज्यान गइरहेछ । मेसिन लगाउन किन पनि मिल्दैन भने नदी दायाँबायाँ पर्खाल लगाइएको छ तर जग बलियो छैन । भाइब्रेसनले त्यो भत्किन बेर लाग्दैन । अथवा ढालेर बजेट खर्चिने हो भने भन्नु केही छैन । मेसिन प्रयोग गलत हो । घरैबाट रोक्नुपर्छ ।

स्थानीय सरकार यसमा चनाखो हुनुपर्छ । बार हालेर पनि हुँदैन । नीतिनियम बनाएर दण्डित गर्नुपर्छ । हरेक टोलवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्छ । बागमतीले छोएको सिनामंगलदेखि कीर्तिपुर १९ किलोमिटर पर्छ । यस क्षेत्रका बासिन्दाले कम्तीमा फोहोरलाई मल बनाएर कौसी खेती गरौं । फोहोर नफाल्नुहोस्, नबाल्नुहोस् भन्ने हो गर्ने सबैले आफैं हो । नदीको पानी सङ्लो बनाएरै छोड्नुपर्छ ।

बागमती बचाउन अब के गर्नुपर्ला ?
डा. राजु अधिकारी, अभियन्ता

  • नदी एवं पानी संरक्षणका लागि राष्ट्रिय नीति तयार गर्नुपर्ने ।
  • विद्यालयमा सामाजिक विषयअन्तर्गत फिल्ड वर्कमा नै वातावरण संरक्षण एवं समाजसेवाको अभ्यास गराउने गरी कार्यविधि तयार गर्ने ।
  • नदीकिनारमा निर्माण कार्य गर्दा नदीसम्म पुग्न सर्वसाधारणको पहँुचमा असर नपर्ने गरी गर्ने ।
  • नदी पवित्र एवं स्वच्छ राख्न घर, उद्योग, व्यवसाय आदिबाट ठोस एवं तरल फोहोर कम निष्कासन हुने गरी व्यवस्था मिलाउने ।
  • जनचेतना र सजकताका लागि वृत्तचित्रका माध्यमबाट विद्यार्थी एवं सर्वसाधारणमाझ जानु पर्ने ।
  • नदी संरक्षणका लागि नदी आयोग बन्नु पर्ने ।
  • सरसफाइ÷वातावरण प्रहरी गठन गर्ने ।
  • पानीको पुनर्भरणको लागि आवश्यक कार्यहरू गर्नु पर्ने ।
  • वातावरणलाई स्वच्छ सुन्दर राख्न कानुनले जिम्मेवारी तोकेका निकायहरू उदासीन भएकाले सक्रिय बनाउन उपाय खोजिनु पर्ने ।
  • नदीनालालगायत वातावरण संरक्षणका लागि सशक्त रूपमा विद्यालयको पाठ्यक्रममा समावेश गर्ने ।
  • नदी संरक्षण एवं स्वच्छ राखिरहन तरल एवं ठोस फोहोरको दिगो व्यवस्थापन हुनुपर्ने ।
  • नदी किनारमा हुर्केका रुख बिरुवाहरू सौन्दर्यीकरणका नाममा ठेक्का लगाई नमास्ने व्यवस्था मिलाउने ।
  • पानीको स्रोत बचाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने । 
  • विभिन्न निकाय एवं विद्यालयमा विद्यार्थीमाझ ‘इको क्लब’ गठन गर्ने ।

महाअभियानले युवा पुस्तालाई के सिकायो ?
सुरज गिरी, अभियन्ता

युवालाई खासगरी यो महाअभियानले संस्कार सिकाएको छ । एकपटक यसमा जोडिएको कुनै युवाले जिन्दगीभर ऊ जहाँ रहे पनि यस्तै अभियानका सफाइमा संलग्न भइरहेको पाएका छौं । जस्तो, बागमतीमा पसेकाहरू अहिले कोही बुटवल, कोही विराटनगर त कोही झापामा हुनुहुन्छ, त्यहाँका नदी सफाइमा जुट्नु भएको छ अरूलाई जोड्नु भएको छ । अझ टोल र सम्पदामा पनि जुट्नु भएको छ ।

११ वर्षमा धेरै युवाले मानसिकता परिवर्तन गरेका छन् । तर एकातिर सरकारी संयन्त्रसँग बजेट छ तर जिम्मेवार छैन अनि अर्कोतिर बेरोजगार युवा समय खर्चिरहेछ भनेपछि यसले केही युवालाई विद्रोही पनि बनाएको छ । युवालाई यो अभियानले भने जसरी किन तान्न सकेको छैन भने युवालाई करिअरमा जोड्न सक्दैनौं । उपत्यकाका लाखौं युवालाई उद्यमशीलतासँग जोड्न सकेको भए हुन्थ्यो । विगत जे भए पनि भोलिको पुस्तालाई हामीले कस्तो बागमती हस्तान्तरण गर्दैछौं ? भन्नेले अर्थ राख्नेवाला छ । हरेक पुस्ताले एउटा जिम्मेवारी पाएकै देखेको छु । यो पुस्ताले परिवर्तनको प्रसव पीडामा छटपटाइरहेको नेपाललाई निकास दिनेछ । धेरै अभियन्ता पनि थाकेजस्तो पनि भएका छन् । कति कमाउँछौ बागमतीमा पस्दा ? बजेट आएको सुनिन्छ भन्छन् तर निःशुल्क अभियान हो भनेर बुझाउन सकेनछौं हामीले ।

नदीमा फोहोर फाल्नुहुन्न, ढल हाल्नुहुन्न भन्दा सबैले मान्छन् ?
गोकुल थापा, अभियन्ता

पछिल्लो समय अधिकार सम्पन्न बागमतीबिनै अभियान अघि बढाएका छौं । त्यो सरकारी कार्यालयसँग बजेट छ तर हामी आफ्नै ढंगले रकम जुटाएर स्वयंसेवा गरिरहेछौं, सम्भव छ भन्ने पुष्टि गरिरहेछौं । देशका नागरिक भएपछि हाम्रो पनि दायित्व छ, योगदान दिनुपर्छ भन्ने सकारात्मक सन्देश पनि ११ वर्षदेखि दिइरहेका छौं ।

तर बागमती अभियानमा नभएकाहरूले यतिका मान्छे जुटे पनि बागमतीमा फोहोर पानी नै बगिरहेको छ, कहिल्यै सफा हुने होइन भनिरहेछन् । तर हामी भन्छौं, यो महाअभियानमा निरन्तर अझै धेरै मानिस जोडियून् । ताकि सबै खासगरी नदीमा फोहोर फाल्नु हुन्न, ढल हाल्नु हुन्न, सदैव सफा पानी बगाइरहनु पर्छ भन्ने मान्छे मात्रै भेटियून जताततै । नागरिकमात्र होइन, सरोकारवाला सरकारी कार्यालयका कर्मचारी र नेतृत्व जो अधिकार सम्पन्न बागमतीले परिचित छ, उसले सबैले तोकिएको जिम्मेवारी पूरा गर्दिएको भए यस्तो अवस्था हुन्थेन, यसरी गुनासो आउने थिएन । जति गर्नुपथ्र्यो त्यति गर्दैनन् सरकारी कार्यालयहरू र जताततै समस्या छ । सबै क्षेत्रका मानिसले आआफ्नो क्षेत्रबाट इमान्दार र नैतिकवान् बनेर जोडिनुपर्छ ।

मानव साङ्लो जस्तो तरंग ल्याउने अरू कार्यक्रम के छन् ? 
ईश्वर पुडासैनी, अभियन्ता

पहिलो प्राथमिकता नै जनचेतना जगाउनु थियो । सबैलाई थाहा भइसकेको छ, नदीमा फोहोर फाल्नु हुन्न भनेर । तर यस्तो सेलेब्रेसन भनेको चाहिँ स्थानीय तहदेखि राजनीतिक दल पनि हुन् । हुन त बागमती सफाइमा दल र नेताहरू पनि जोडिनु भयो । आए पनि अपनत्व देखाउन सक्नु भएन, मात्र सेलिब्रेसन गर्नुभयो । कुनै पनि नेतालाई नदीभित्र छिराउन कठिन परेको छ । पस्ने भनेको एकादुई होला नत्र भाषण ठोक्ने काममात्र हुन्छ । अधिकार सम्पन्न बागमतीले त लिने कुरामा मात्र अधिकार जमायो, दिने कर्तव्यका कुरामा सधैं चुकिरहेको देख्छु । जति खटियौं, त्यति नै छौं । अरू त उभिन मात्र आउँछन्, उभिन मात्र किन आउनु ? सेवा गर्न पो आउनु त यत्रो अभियानमा ।

जोडिएका हामी केही त छोराछोरी पाएपछि हुर्काउने दायित्व भएर होला, छोड्ने कुरो पनि भएन । त्यसो त न केही कमाउने हो फोहोर सफा गरेर न लालपुर्जा हातमा आउने हो । बागमती अभियानका क्रममा समस्यै समस्या छन् । समाधान दिने कसले ? जड समस्या भनेकै ढल मिसाउने काम हो । बागमतीमा अहिले बगेको भनेको ढलमात्र हो । गोकर्ण माथि त ढल नै छैन । ढललाई प्लान्टमा हाल्न सकिन्थ्यो तर भएको छैन । अर्बौंको बजेट आउँछ तर काम देखिँदैन । पशुपतिनाथभन्दा तल त ढल कति मिसाइएको छ कति ! कम्तीमा पशुपतिसम्म त सफा पानी बगोस् ।

महाअभियानले परिवर्तन दिलाएको छ त ?
नरेश श्रेष्ठ, अभियन्ता

सरसफाइ जसरी अघि बढिरहेको छ, जसरी जनचेतना फैलाइरहेको छ, त्यसरी नै स्थानीय तह र संघीय सरकार बढी जवाफदेही भइदिने हो भने चाँडो सफा हुन्छ बागमती । तिम्रो घरबाट कुहिने र नकुहिने फोहोर छुट्ट्याएको छैन भने कुनै पनि सिफारिस दिन्न भनेर स्थानीय सरकारले भन्न सक्नुपर्छ ।

मुहान बन्द भएपछि नदी फोहोर हुन्न भन्दै वडावासीलाई जन्म दर्ता, मृत्यु दर्तासम्म रोक्ने हिम्मत वडाध्यक्ष, वडासदस्यले गर्नुपर्छ । यो अभियानले घरमा कौसी खेती गर्ने काम बढेको छ । कुहिने फोहोर घरमै कम्पोस्ट मल बनाएर प्रयोग गर्ने काम भएको छ । नदीकिनारमा मूर्ति राख्ने, मन्दिर बनाइदिने, पेन्टिङ राख्ने आदि थुप्रै काम भएका छन् ।

कसरी सुरु भयो बागमती सफाइ महाअभियान ?  समस्या के आए ?
नारायणकुमार श्रेष्ठ, अभियन्ता

नेपाल चलचित्र संघ, नेपाल विज्ञापन संघले भकुण्डो भिडन्त कार्यक्रम गर्दै थिए । त्यसको प्रायोजन एस ट्राभलले गरेको थियो । अर्जुन धरेलको यसमा योगदान छ । नोबल कज भएमात्र सहयोग गर्ने बताउनुभयो । अनि हामीले बागमती सफाइ अभियान भन्यौं ।

जेठ ४ गते सरकारका मुख्यसचिव लीलामणि पौड्यालसहित भकुण्डो भिडन्त भयो । भोलिपल्ट आइतबार गायत्री परिवारको समूहसहित जीवन विज्ञान, काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं इन्जिनियरिङ कलेज, एसजीआई, प्याब्सन, एनप्याब्सन आदि मिलेर सुरुआत र निरन्तर गर्दै गयौं । नदीहरू सफा बगाउने काम त सरकारहरूको हो नि ।

तर हामी आमनागरिक स्वतस्फूर्त सफाइ गर्न नदीभित्र पसेका छौं । एउटा राम्रो के भने सबै संघसंस्थाको वार्षिकोत्सव मनाउने थलो बागमती नदीकिनार भइरहेको छ, नेपाल टेलिकमसम्मको । नराम्रो पक्ष भनेको अधिकारसम्पन्नको सदस्यसचिव गजेन्द्र ठाकुरले भनेको कुरा– तपाईंहरूले बागमती सफा गर्नै सक्नुहुन्न, यसअघि १४० वटा संस्था आए गए तपाईंहरू १४१ औं एनजीओ मात्र हो भन्नुभाथ्यो । एक मिटरमात्रै सफा गरेर देखाउनोस् पनि भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.