जथाभावी फोहोर फ्याँके कारबाही
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले जथाभावी फोहोर फ्याक्नेलाई कारबाही गर्ने भएको छ । सन्धिखर्क र चुत्राबेसी बजारमा रहेको बागीखोला, घोचेखोला र भद्रीखोला क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रचलन बढेको भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गर्ने सन्धिखर्क नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । फोहर फाल्ने व्यक्तिको सूचना दिन र सन्धिखर्क नगरलाई सफा बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।
सन्धिखर्कमा फोहरमैला व्यवस्थापन र राजस्व परिचालनलगायतका विभिन्न विषयमा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रवक्ता तथा वडाध्यक्ष मोतीजंग रायमाझीले नगरपालिका र खोला किनार सफा बनाउने दायित्व स्थानीयको भएकाले सबै मिलेर सरसफाइमा आगडि बढ्नुपर्ने बताए ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा वडा नम्बर २ का टोल विकास संस्थाका पदाधिकारी र सन्धिखर्क नगरपालिकाबीच फोहरमैला व्यवस्थापन र राजस्व परिचालनसमेतका विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित टोल विकास संस्थाका पदाधिकारीहरूले सफा र स्वच्छ सन्धिखर्क नगर बनाउन आफूहरू प्रतिबद्ध भएर लाग्ने बताएका सन्धिखर्क नगरपालिकाका सरसफाइ फोकल पर्सन मुक्ति खनालले बताए । सहभागीहरूले नगरबाट हुने विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
टोल विकास संस्थाका पदाधिकारीलाई फोहोरमैला व्यवस्थापन, राजस्व परिचालन र विकास निर्माण लगायतका विभिन्न विषयमा जानकारी गराइएको थियो।