बोधिसत्व स्वामी आनन्द अरुण
भनिन्छ, गुरु र शिष्यबीच सम्बन्ध गाँस्न त्यति सजिलो हुँदैन। गुरु महिमा अध्यात्मिक जगत्मा जति छ त्यति अरू कुनै पनि विधामा छैन, किनभने अध्यात्म आफैंमा यस्तो विषय हो जसको सुरुवात ठोस संसारको अन्तपछि मात्र हुन्छ। त्यो ठोसताभन्दा परको कुराको परिचय एक गुरुबाट मात्र सम्भव छ। तर गुरुले त्यसको परिचय दिने तरिका विद्यालयमा अध्यापकले दिने तरिकाभन्दा बिल्कुलै फरक हुन्छ। यसलाई ओशोको यस भनाइले प्रस्ट्याउँछ– ‘अध्यापक जानकारितामा लागि पर्नुहुन्छ भने गुरु रूपान्तरणमा।’
लेखक स्वयम्ले गुरुसँग सम्बन्ध गाँस्न निकै परिश्रम गर्नुप¥यो। परिश्रम यस अर्थमा कि, निकै कठोर तरिकाले साधनामा तल्लीन नभएसम्म गुरु बोधिसŒव स्वामी आनन्द अरुणको पाउसम्म पुग्न पाएको थिइनँ। तर उहाँले आफूलाई हामी शिष्यहरूको गुरु नभई गुरुभाइ भएको र प्रमुख गुरु ओशो हुनुहुन्छ भनेर सुनाउनुहुन्छ। हामी सहमत त हुन्छौं तर उहाँलाई गुरु पनि मान्छौं किनकि एक जीवित व्यक्तिसँगको सानिध्यताले यदि कोही मान्छेको जीवन रूपान्तरण हुन्छ भने त्यस मान्छेको हृदयले परमप्रेमको आभाष अवश्य गर्छ। र त्यो प्रेमको उपस्थिति भएको सम्बन्ध नै गुरु र शिष्यबीचको सम्बन्ध हो।
ओशो तपोवन ध्यान केन्द्रका संस्थापक बोधिसŒव स्वामी आनन्द अरुणसँग सम्बन्ध गाँसिनुभन्दा तीन वर्षपहिले, २०६९ साल पुसमा एक पुस्तकमार्फत शिवपुरी बाबाको बारेमा थाहा पाएँ। एक बिहान उहाँको समाधि भएको ठाउँ, ध्रुवस्थली, जुन त्रिभुवन विमानस्थलको पश्चिममा छ, त्यहाँ गएर उहाँलाई गुरु थापेँ। त्यही रात उहाँ सपनामा देखिनुभयो। मलाई लाग्यो बाबाले मलाई चेला बनाउनुभयो। सपनाले ममा उत्साहको बीजारोपण भयो र तल्लीन रहेर उहाँको शिक्षा ‘स्वधर्म’लाई जीवनमा उतार्न थालेँ। स्वधर्मको प्रयोगले मेरो इच्छाशक्ति प्रबल हुँदै गयो र ध्यानमा शून्यताको बोधहरू हुन थाले। ध्यानबाट निक्लने ऊर्जाले धेरै प्रकारका अनुभवहरू हुन थाले र सो कुराहरूले मेरो जीवनको भविष्यका बाटाहरू लगभग तय गरिदिए। ‘म अध्यात्मिक जीवन जिउँछु’ भन्नेमा दृढ भएर अगाडि बढेँ।
शिवपुरी बाबाको बारेमा पढ्दै जाँदा थाहा पाएँ कि उहाँले कहिल्यै पनि शिष्य बनाउनु भएन। जिउँदो गुरुको बारेमा पनि धेरै जोड दिनुभएको रहेछ। तब मलाई एक जिउँदो गुरुको खाँचोको महसुस भयो। समय पाउनासाथ ध्रुवस्थली पुग्थेँ। यही क्रममा ‘ईशा प्रतिष्ठान’का गुरु सत्गुरु जग्गी वासुदेव, जसको आश्रम भारतको कोइमबैटोरमा छ, त्यहाँ जाने लगभग पक्का भइसकेको थियो। बनारसतिर झन्डै गइसकेको थिएँ गुरुको खोजीमा, तर त्यो पनि रद्द भयो। यसै अन्तरालमा एकदिन ओशोको एक किताबसँग काठमाडौं विश्वविद्यालयको पुस्तकालयमा जम्काभेट भयो। म सो किताबको छैटौं वाक्यभन्दा अगाडि बढ्न सकिनँ। सुरुका वाक्यहरू भगवान् छैन भनेर सुरु भएको थियो। म पटमूर्ख, जसले रुढिवादी पारामा, विश्वासको धरातलमा भगवान् छन् भनेर, अन्धो तरिकाले, कुनै अनुभव बिना सोचेको थिएँ, पाँच वाक्यभन्दा अगाडि बढ्न नसक्नु कुनै आश्चर्य थिएन। किताबसँग सम्बन्धविच्छेद त भयो। तर कसलाई के थाहा ओशोले स्वामी आनन्द अरुणमार्फत मलाई चेला बनाउनुहुन्छ भनेर। सो घटनाको लगभग तीन वर्ष, असोज २०७२ पछि म स्वामी आनन्द अरुणबाट ओशो सन्न्यासीको रूपमा दीक्षित भएँ। त्यसपश्चात् त्यो पवित्र सम्बन्धको बीज बढ्दै एक प्रेमको वृक्ष बन्दै गयो।
दुई वर्षपछि, २०७४ असार २ गते स्वामीजीको ७४औं जन्मोत्सव मनाइरहेको बेलामा उहाँको दीर्घायुको लागि मेरो हृदयमा एउटा भाव आयो।
एकातिर विश्वविद्यालयमा पढाउने जिम्मेवारी अनि अर्कातिर फार्मेसीको रेखदेख गर्नुपर्ने जिम्मेवारी छ। कतिपय बेला आफैंलाई सोध्थें– ‘के म ध्यान र त्यससँग सम्बन्धित कामहरूलाई समय दिन सक्छु ?’ तर दृढशक्तिले एक उचाइ लिएपछि आफूले चाहेको काम गर्नको लागि केही कुराले छेक्न सक्दो रहेनछ। अहिले लाग्दैछ जो मान्छे आफूलाई ध्यान गर्न समय छैन भनेर भन्छन्। तिनीहरूको समय व्यवस्थापन राम्रो छैन अथवा संकल्प शक्तिको कमी छ।
जन्मोत्सवको कार्यक्रम शुभारम्भ हुनु एक घण्टा अगाडि नै तपोवन पुगेँ। ध्यान हलको द्वारलगायत भित्रका भित्ताहरू जन्मदिनको शुभकामना लेखिएका बेलुनहरू र पुष्पका गुच्छाहरूले सजाइएका थिए। ठीक ५ बजे स्वामीजीको आगमन भयो। एक भजनबाट कार्यक्रमको सुरुवात गर्नुभयो। केही सन्न्यासीहरूले उपहार दिँदै थिए, मलाई पनि उपहार दिने रहर थियो तर हतारमा आउँदा मैले किन्न भुलेँ। स्वामीजीले ओशोको आरतीको गीत लगाउनुभयो र आफूपनि उत्सवमा सामेल हुनुभयो। म पनि सुरुमा सामेल भएँ तर केहीबेरमा पद्मासनमा बसेर ध्यान गरेँ। मलाई लाग्छ जहाँ ओशोलाई प्रेमले पुकारिन्छ त्यहाँ उहाँको घनिभूत उपस्थिति हुन्छ र सो उपस्थितिले तीर्थलाई महातीर्थ बनाउँछ अनि महातीर्थमा दैविक ऊर्जाको उपस्थिति हुन्छ र त्यहाँ ध्यान सहज हुन्छ। उता भजनहरू बज्दै थिए म यता एक कुनामा ध्यानमा मस्त हुँदैथिएँ। पछि स्वामीजीले भगवत गीताको प्रवचन लगाउनुभयो जुन अहंकारसँग सम्बन्धित थियो। मेरो शरीरमा एक प्रकारको ऊर्जा निरन्तर बढ्दै गएको अनुभव गर्दैैथिएँ, त्यस्तो स्थितिमा शरीर र मन दुवै स्थिर थिए। मस्तिष्कमा असाध्यै थोरै विचारहरू खेलिरहेका थिए। ठीक त्यही नै बेला एउटा भाव शक्तिशाली रूपले आइरह्यो जून स्वामीजीको दीर्घायुको लागि थियो। धेरै शिष्यमा आफ्नो गुरुलाई आफ्नो आयु दिने विचार त अवश्य नै आउँछ तर मनको तलभन्दा पर हृदयको तल हुन्छ। र, जब विचार हृदयको तलमा पुग्छ तव त्यसको तरंगले हृदयलाई निकै धड्काउँछ। सो हृदयको कम्पनले शिष्यमा ठूूलो छाप छोड्छ, मृत्युपर्यन्तसम्म पनि। हृदयको कम्पनसँगै मैले मनमनै भने– स्वामीजी जन्मदिनको शुभकामना र मिल्ने भए मेरो आयुको दस वर्ष हजुरलाई गुरुदक्षिणाको रूपमा टक्र्याउँछु। उपहार नल्याएकोमा मैले पश्चताप गरेँ किनकि मैले मेरो भाव लेखेर दिन पाउँथेँ। स्वामीजीकहाँ गएर सुटुक्क भनौ कि जस्तो पनि लाग्यो तर हृदयको त्यो पुकारको न्याय शब्दले गर्न नसक्ला जस्तो लाग्यो।
थाहा छैन मलाई एउटा व्यक्तिको आयु अर्कालाई दिन मिल्छ कि मिल्दैन तर स्वामीजीलाई मेरो पहिलो भेटभन्दा झन्झन् फुर्तिलो देख्दैछु। लाग्दैछ अझ ७–८ वर्ष बाँच्नुहुन्छ र कठोर परिश्रम गरेर खडा गरेको तपोवनलाई ओशोको सपना अनुरूप अगाडि बढाएर जानुहुन्छ।
(चैतन्य, काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक हुन्।)