पर्यटकको रोजाई बन्दै ठिनी सामुदायिक होमस्टे
जोमसोम : राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक विस्तार भएसँगै मुस्ताङमा पर्यटक आगमन बढ्न थालेको छ। पर्यटकीय हबका रूपमा विकास भइरहेको यस क्षेत्रमा हाल होमस्टे प्रमुख रोजाइमा पर्न थालेको छ।
घरपझोङ गाउँपालिका-५ स्थित ठिनी थकाली सामुदायिक होमस्टेमा पर्यटकहरु बाँस बस्नकै लागि पुग्ने गरेका छन्। यहाँ २०७४ सालदेखि होमस्टे सुरु भएको हो। सुरुमा ५ घरधुरीले होमस्टे सञ्चालन गरेकोमा हाल १० पुगेका छन्।
सधैभरी कृषि कर्ममा व्यस्त हुने ठिनी गाउँका थकाली महिलाहरुले होमस्टे चलाएपछि उनीहरुको आर्थिक जीवनमा परिवर्तन आउन थालेको छ। थकाली सामुदायिक होमस्टेकी अध्यक्ष मदना थकालीले होमस्टेकै कारण आफूहरुलाई पर्यटनकर्ममा लाग्न उत्साहित बनाएको बताइन्।
होमस्टे सञ्चालन गर्दा प्रचारप्रसार नहुँदा पर्यटक आउन नसकेको भए पनि अहिले हामीले सञ्चालन गरेको होमस्टे खोजीखोजी पर्यटक बाँस बस्न आउने गरेको बताइन्। होमस्टेमा रैथाने जातका स्थानीय उत्पादनका विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउनेदेखि थकाली कल्चर र सांस्कृतिक कार्यक्रम समेत देखाउने गरेको अध्यक्ष थकालीले जनाइन्।
होमस्टेमा चालु वर्षमा ५ हजारभन्दा बढी पर्यटक पुगिसकेका छन्। पर्यटकको चाहना अनुसार खान र बस्नको व्यवस्था समेत होमस्टेमा गरिएको होमस्टे सचिव जुमा थकालीले जानकारी दिइन्।
उनका अनुसार होमस्टेमा पर्यटक बढेसँगै गाउँमा भएका होटलहरुमा कोठाहरुको सुधार गर्ने कोठा बढाउने कार्य भइरहेको छ। साँझपख सांस्कृतिक कार्यक्रम देखाउने र ठुलो संख्यामा आएका पर्यटकलाई खाना खुवाउन समेत किचन कोठाको हल समेत निर्माण भइसकेको छ।
एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले पर्यापर्यटनका लागि यहाँका होमस्टे प्रवर्द्धन र विकासका लागि सहयोग गर्दै आइरहेको बताए। उनले कलासंस्कृति र मौलिकतालाई संरक्षण गर्दै होमस्टे प्रवर्द्धन गर्न विभिन्न सामग्री वितरण, होमस्टे साइन बोर्ड, पर्यटक लक्षित सूचनाका साथै होमस्टे प्रवर्द्धन गर्न थकाली सांस्कृतिक गीत र लोक पर्यटन सम्बन्धित गीत बनाउन आर्थिक सहयोग गरेको बताए ।