गर्मी छल्ने छहारी सिध्याइँदै

मधेसमा मासिँदै गर्मी छल्ने छहारीहरू

गर्मी छल्ने छहारी सिध्याइँदै
सिरहा जिल्लाको लहानदेखि भगवानपुर जाने बाटोमा पर्ने पुरानो चौतारा। तर, सडक विस्तारको क्रममा यो रूख चाँडै नै काटिने भएको छ ।  तस्बिर : मनिका झा

तराई मधेसको तापक्रम ४१ डिग्री पुगिसकेको छ। यसरी अत्यधिक तापक्रम बढेसँगै तराईको जनजीवन निकै कष्टकर बनेको छ। मध्याह्नको घाममा आकाशबाट आगो बर्सिरहेको अनुभूत त्यहाँका बासिन्दाले गर्न थालेका छन्। मानिस मात्रै नभई पशुपन्छीसमेत गर्मीले छटपटाइरहेका छन्। यस्तो चर्को गर्मीमा मधेसमा सदियौंदेखि शीतलता प्रदान गर्दै आएका बर, पीपल, पाखर, शमीलगायतका देववृक्ष पछिल्लो समय विभिन्न बहानामा मासिँदै छन्।

जनकपुरधाम : महोत्तरीको मधवा गाउँको २ सय २० वर्षभन्दा पुरानो बूढो बर र पीपलको रूखले प्राकृतिक एयर कन्डिसनको काम गर्दै आएको छ। यी रूखहरूले आफ्नो छहारीमा दर्जनौं मानिसलाई शीतलता प्रदान गर्दै आएको छ। बूढो बरपीपलको रूखमुनि जोकोहीले पनि छहारी पाउँछन्। गाउँको सिमानामा रहेको यो रूख कहिलेको हो र कति पुरानो हो भन्नेमा कुनै आधिकारिक प्रमाण छैन। तर, यो गाउँबस्ती बस्नुभन्दा पहिलेदेखि नै यहाँ यो रूख पूर्ण जवान अवस्थामा रहेको थियो भन्ने गाउँका बुद्धिजीवीहरूको दाबी छ। गाउँलेहरूका लागि यो एउटा देववृक्ष हो जसलाई स्थानीय भाषामा ‘ब्रह्मबाबा’ भनेर पूजापाठसमेत गरिन्छ। 

‘वि.सं. १८६१ मा महोत्तरीको कालाबञ्जर क्षेत्रमा १ सय १० बिघाको बिर्ता थियो। त्यतिबेलाका शासकले हाम्रा पण्डित पुर्खाहरूलाई बस्ती बसाउनका लागि दिएका थिए। सोही बेलादेखि हाम्रो गाउँमा बसोबास सुरु भएको इतिहास छ,’ मधवावासी तथा नेपाल सरकारका अवकाश प्राप्त सचिव कौशलकिशोर झा आफ्नो बाल्यकाल शमीझँदै भन्छन्, ‘हामी जब स–साना थियौं, त्यतिबेला यो रूख अझ ठूलो र विकराल थियो। यसका तनाहरूले गाउँको एक चौथाई भागलाई समेटेको थियो। हाम्रो बाल्यकाल यसै रूखको तल खेल्दै बितेको हो। तर विस्तारै यसलाई काट्न थालियो अहिले त निकै कम क्षेत्रफलमा सीमित भएको छ।’ मान्छेले रूखलाई संरक्षण गर्नुको साटो काट्दै गए पनि रूखले आफ्नो व्यवहार भने नफेरेको उनले बताए। ‘पहिले जस्तै अहिले पनि छायाँ दिने र आफ्नोमा छहारीमा बस्न आउने जोकोहीलाई प्राणवायुबाट लाभान्वित गर्ने काम गर्दै आएको छ। यो साँच्चिकै देववृक्ष हो।’

मधेसका गाउँगाउँमा बर, पीपल, पाखर, नीम, गुल्लर र शमीजस्ता रूखहरूलाई भगवान्कै रूप मानेर रोप्ने र तिनको संरक्षण गर्ने गरिन्थ्यो। यी वृक्षहरू लगाइएका ठाउँलाई कतै ब्रह्मस्थान, कतै डिहवारथान, कतै देववृक्षस्थल भनेर नामकरण गरिएको थियो। यस्ता रूखहरू रोप्नुका पछाडि एकातर्फ पर्यावरण संरक्षणको उद्देश्य राखिन्थ्यो भने अर्को तर्फ यी रूखहरूले गाउँलेका शमीरक्षकको रूपमा समेत काम गर्थे। तर, पछिल्लो समय यी देववृक्षहरू विकासको नाममा काटिने क्रम बढ्दै छ। अहिले गर्मीमा तापक्रम औसतभन्दा निकै बढी हुन थालेपछि यी देववृक्षहरूको महत्त्व देखिन थालेको छ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत जनकपुरदेखि ढल्केबरसम्म हाइवे विस्तार हुँदा ५० वटाभन्दा बढी बर र पीपलका रूखहरू काटिए। त्यसैगरी अन्य रूखहरू करिब डेढ सयभन्दा बढीको संख्यामा काटिए। मधेस प्रदेशभरिनै सडक विस्तारको क्रममा डेढ हजारभन्दा बढी बरपीपल र शमीका रूखहरू तथा अन्य महत्त्वपूर्ण रूखहरू काटिए। जसले गर्दा सडक चिल्लो भए पनि सडक छेउमा ओत लाग्ने ठाउँ बचेको छैन। 

nullसिरहा जिल्लाको लहानदेखि भगवानपुर जाने बाटोमा पर्ने पुरानो चौतारा। तर, सडक विस्तारको क्रममा यो रूख चाँडै नै काटिने भएको छ।  

‘विकास निर्माणको लागि भन्दै रूखहरू धमाधम काटिएका छन् जसको परिणाम अहिले हामी भोग्दैछौं,’ वृक्ष मानव भनी चिनिएका मधेस प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत सुरेश शर्मा भन्छन्, ‘नेपाल सरकारको कानुनअनुसार विकास निर्माण वा अन्य कुनै प्रयोजनका लागि एउटा वयस्क रूख काटियो भने त्यसको साटो २५ वटा रूख रोप्नुपर्ने नियम छ तर, हामीकहाँ यो काम कागजमा मात्रै हुन्छ। कहीँ कतै बिरुवाहरू रोपिए पनि तिनको संरक्षण र रेखदेखमा कुनै चासो देखाइँदैन। त्यसैले अधिकांश वृक्षरोपण अभियानहरू प्रभावकारी हुन सकिराखेका छैनन्।’

अहिले विश्वमा सबैभन्दा ठूलो खतराको रूपमा जलवायु परिवर्तन रहेको बताउँदै शर्मा थप्छन्, ‘यसको असर हामीले पनि भोगिरहेका छौं। हामी विकासको नाममा प्रकृतिको दोहन गरिरहेका छौं, जसको परिणाम अहिलेको यो तापक्रम अभिवृद्धिका रूपमा प्रत्यक्ष भोग्नु परिरहेको छ। यदि हामी समयमा सचेत भएनौं र यसरी नै तीव्रताका साथ देववृक्षहरू र बहुमूल्य रूखहरू काट्ने क्रम चलिरह्यो भने चाँडै नै, हामीसँग न पानी हुन्छ न त अक्सिजन। अनि पछुताउनुबाहेक कुनै विकल्प हुँदैन।’ 

रैथाने रूखहरू सखाप हुनु प्राकृतिक विपत्तिका कारक

‘हाम्रा पुर्खाहरू वैज्ञानिकभन्दा कम थिएनन्। उहाँहरूलाई रूखको महत्त्व राम्ररी थाहा थियो। त्यसैले पनि होला चौताराहरूमा वर्षौंवर्ष बाँचिरहने बरपीपलहरू लगाइन्थ्यो। यी वृक्षहरूको धार्मिक र प्राकृतिक दुवै महत्त्व निकै बढी थियो,’ वातावरण तथा पशुपन्छी संरक्षणकर्ताको रूपमा काम गर्दै आएका देवनारायण मण्डल भन्छन्, ‘अहिले हाम्रो गाउँघरबाटसमेत रैथाने र वातावरणीय रूपमा महत्त्वपूर्ण मानिएका रूखहरू हराउन थालेको छ।

पुर्खाहरूले रोपेका पुराना रूखहरू हामीले काटिसक्यौं र त्यसको साटो नयाँ रूख रोप्ने काम पनि गरेनौं, जसको परिणाम हामी छहारीबाट मात्रै नभई अक्सिजन, पानी र शुद्ध वायुबाटसमेत वञ्चित भइरहेका छौं।’ उनका अनुसार पहिले सिसौ, नीम, जामुन, जिलेबीलगायत थुप्रै रैथाने रूख रोप्ने गरिन्थ्यो। यी रूखहरूको काठ जति बलियो र राम्रो हुन्थ्यो, त्यति नै बढी यिनको प्रभाव हुने उनले बताए। प्रकृतिमा शीतलता प्रदान गर्नसमेत यिनले महत्त्वपूर्ण भूमिका निभाउँथे। तर, अहिले स्थानीयले यी रूखहरू रोप्न छाडिसकेका बताउँदै उनले भने, ‘पछिल्लो समय मधेसका गाउँगाउँमा मसलाका रूख रोपिए, जसलाई पानी सोस्ने रूखको रूपमा चिनिन्छ। त्यसैगरी अशोकका रूखहरू र वातावरणीय रूपमा बढी प्रभावकारी नदेखिएका रूखहरूले फेसनको नाममा स्थान लिएका छन्।’

रैथाने रूखहरू सखाप हुँदै गएपछि रैथाने पशुपन्छीहरू पनि हराउँदै गएका छन्। पन्छीहरूले रूखका बिउहरू एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम गर्थे, जसले गर्दा मानिसले नरोपे पनि रूख बिरुवाहरू आफंै उम्रिन्थे। तर, अहिले रूख नै हराएपछि पन्छीहरू पनि हराए र परागसेचन प्रक्रियादेखि लिएर समग्र वातावरणलाई नै हानि पुग्ने अवस्था आएको मण्डलले बताए। पहिले तराईमा मात्रै पाइने गहुँमन सर्प अहिले पहाडतर्फ सर्न थालेको छ। केही दिनअगाडि मात्रै कास्की जिल्लामा गहुँमन सर्प फेला परेको खबर आफूले थाहा पाएको मण्डलले बताए। ‘ती सर्पहरू बासस्थान खोज्दै पहाड सर्न थालेका छन् तर, त्यहाँ पुगे पनि उनीहरूले खाने किराफट्यांग्रा र जीवजन्तुहरू आहारको रूपमा पाउन सक्दैनन् र अन्त्यमा मर्छन्। यी सर्पहरू मर्नाले प्रकृत्तिमा ठूलो असर पर्छ’, उनले भने। 

‘जुन प्रकारले पृथ्वीको तापक्रम बढ्दो छ यस्तै अवस्था रह्यो भने ५० डिग्रीसम्म तापक्रम नपुग्ला भनेर अनुमान गर्न सकिँदैंन,’ मण्डल भन्छन्, ‘यो सबै समस्याको कारक हामी मानिस नै हौं। हामीले आफ्नो प्रकृति आफैं बिगारेका छौं। अब यसलाई सपार्न पनि हामी आफैं लाग्नुपर्छ र यो काममा ढिलाइ गर्नु हुँदैन। बढीभन्दा बढी देववृक्षहरू लगाउन थाल्नुपर्छ र हामीसँग भएका देववृक्षहरू र रैथाने रूखहरूको संरक्षणका लागि नीतिगत रूपमै प्रयासहरू सुरु गर्नुपर्छ। होइन भने त्यो समय टाढा छैन जब हामी गर्मी र पानी तथा अक्सिजनको अभावले प्राण त्याग्न विवश हुन्छौं।’

देववृक्षहरूको औषधीय गुण

धार्मिक रूपमा देववृक्षको मान्यता पाएका रूखहरू औषधीय गुणले पनि भरिपूर्ण हुन्छन्। यी रूखहरूको औसत आयु ९ सय वर्षदेखि १५ सय वर्षसम्म हुने गर्छ। प्रचुर मात्रामा अक्सिजन दिने यी रूखहरूले वातावरण अनुकूलनमा विशेष प्रभाव पार्नुका साथै मानव जीवनका लागि पनि वरदान सिद्ध भएका छन्। 

देववृक्ष पीपलले तनाव कम गर्ने काम गर्छ। यसको प्रयोगबाट आँखासम्बन्धी सबै समस्याहरू ठीक हुने आर्युवेदको दाबी छ। पीपलको पातलाई सुखाएर यसको काढा बनाएर खायो भने जस्तोसुकै रुघाखोकी पनि निको हुने आर्युवेदका चिकित्सक अरुण झा बताउँछन्। ‘पीपलको रूख मानव जातिको लागि बरदान हो। यसले २४ सैं घण्टा अक्सिजन दिन्छ भने यो रूखमुनि छहारीमा नियमित बस्यो भने मानिसलाई छालासम्बन्धी रोग लाग्दैन। त्यसैगरी भोक बढाउनुका साथै कब्जियतको समस्या र वायु विकारहरू निको पार्न यो रूखका पात, छाल र जराहरू निकै उपयोगी हुन्छन्’, झा भन्छन्, ‘पीपलजस्तै बहुऔषधीय गुणयुक्त रूख हो बर। यो रूखको पातहरूले दाँतसम्बन्धी रोगहरूलाई निको पार्छ। यसको छालालाई इम्युनिटी बुस्टरको रूपमा प्रयोग गर्न सकिन्छ। यस रूखको रसले गठिया रोगलाई निर्मुल पार्छ भने कोलेस्ट्रोललाई कम गर्न र मधुमेह रोगलाई जरैदेखि निको पार्न पनि यसको प्रयोग लाभदायक मानिन्छ।’

त्यसैगरी पाकडको छाललाई काढा बनाएर खायो भने हड्डी बलियो बनाउँछ। यसको पाँतहरूले मधुमेहलाई नियन्त्रणमा राख्छ। हाम्रो शरीरमा कतै काटेर रगत आयो भने पाकडको छालाको धूलो राख्ने बित्तिकै रक्तस्राव बन्द हुन्छ। पाडकको छालालाई पानीमा उमालेर उक्त पानीले नुहाउँदा पसिनाको दुर्गन्ध घटाउँछ। 

नीति बनाएरै देववृक्षहरूको संरक्षण आवश्यक
देववृक्षहरू वातावरणीय सन्तुलनको हिसाबले पनि निकै उपयोगी मानिन्छन्। अन्य रूखहरूको तुलनामा देववृक्ष मानिएका रूखहरूले वातावरण स्वच्छ र सुन्दर राख्न विशेष भूमिका निर्वाह गर्छन्। यिनको उचाइ, जमिनभित्र जराहरूको फैलावट र अक्सिजन प्रवाह यिनीहरूको अन्य रूखहरूभन्दा बढी हुन्छ।

‘त्यसैले पनि पहिलेको जमानामा यी रूखहरू चौतारा र सार्वजनिक स्थलमा लगाउने गरिन्थ्यो’, मधेस प्रदेशसभाका सांसद तथा हरित जनकपुर अभियानका सञ्चालक रामआशिष यादव भन्छन्, ‘हाम्रा पुर्खाहरूले भन्थे एउटा देववृक्ष रोप्यो भने सय यज्ञ गर्नुबराबरको फल प्राप्ति हुन्छ। पहिलेको जमानामा यी रूखहरू काट्नुलाई पापको संज्ञा दिइन्थ्यो तर, अहिले सडक विस्तार होस् वा विद्युतीय प्रसारण लाइनको विस्तार, अनेक बहानामा धमाधम देववृक्षहरू काटिएका छन्। यी रूखहरूको महत्त्व नयाँ पुस्ताले नबुझेकै कारण अहिले जलवायु परिवर्तनसम्मको झेल हामी झेल्न बाध्य भएका छौं। यस्तो अवस्थामा जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि तीन तहकै सरकारले ठोस नीति ल्याउनु आवश्यक छ। वृक्षरोपण मात्रै होइन रूख संरक्षणका लागि पनि विशेष योजना ल्याउनु जरुरी छ। त्यसका साथै मियावाकी प्लान्टेसनको प्रयोग गर्नु पनि निकै आवश्यक छ।’

मियावाकी विधिबाट यसरी बढ्छन् बोटबिरुवा
साइन्स जर्नलमा छापिएको एक अनुसन्धान प्रतिवेदनका अनुसार विश्वमा तापक्रम नियन्त्रण गर्न र जलवायु परिवर्तनको जोखिमबाट बच्न एक मात्र उपाय हो वृक्षरोपण गर्नु। 
यसै सोचलाई सार्थक गर्न जापानबाट निस्किएको एउटा प्रविधि हो मियावाकी पद्धति। यसका प्रणेता जापानी वनस्पति वैज्ञानिक अकिरा मियावाकी हुन्। यो पद्धतिले निकै कम समयमा र कम जग्गामा जंगल बनाउन सकिन्छ। यसको कार्यविधि सन् १९७० को दशकमा बनेको हो। यसको मूल उद्देश्य सानो जग्गामा हरित आवरणलाई सघन बनाउनु थियो। यस कार्यविधिमा रूखहरूले स्वयं आफ्नो विकास गर्छन् र तीन वर्षभित्र आफ्नो पूर्ण लम्बाइसम्म बढ्छन्। मियावाकी पद्धतिमा उपयोग गरिने बिरुवाहरू बढीजसो आफैं हुर्कन्छन् र उनीहरूलाई मल र जल दिने जस्तो नियमित देखरेखको आवश्यकता पर्दैन। विश्वभरि यस पद्धतिको प्रयोग गरेर हालसम्म तीन हजारभन्दा बढी जंगल बनाइएको छ। 

यस पद्धतिको पहिलो नियमअनुसार आफ्नो क्षेत्रको माटो सुहाउँदो बिरुवा रोप्ने सल्लाह दिइन्छ, जसमा वातावरण अनुकूल बाँच्न सक्ने बिरुवाहरूलाई र रैथाने प्रजातिहरूलाई विशेष महत्त्व दिइन्छ। 

बिउ रोप्दा अनुकूल भूमिमा उम्रन सक्ने मूल प्रजातिका रूखहरूकै प्रयोग गर्नु यस पद्धतिमा उचित मानिन्छ। यस पद्धतिको प्रयोग गरेर २ फिट चौडाइ र ३० फिट लम्बाइमा १०० भन्दा बढी बिरुवा रोप्न सकिन्छ। यसमा निकै कम खर्चमा बिरुवा १० गुणा छिटो बढ्ने र ३० गुणा बढी फैलिने हुन्छ। 
यस पद्धतिमा बिरुवा माथि विशेष ध्यान दिइने हुनाले रोपेपछि यसमा खराब मौसमको प्रभाव पर्दैन। गर्मीमा पनि माटोको चिसोपना कम नहुने हुँदा बिरुवाहरू सधैं हरियो रहन्छन्।

  •     जनकपुरदेखि ढल्केबरसम्म सडक विस्तार हुँदा ५० भन्दा बढी बर–पीपलका साथै डेढ सयभन्दा बढी अन्य रूखहरू काटिए। मधेस प्रदेशभरि सडक विस्तारको क्रममा डेढ हजारभन्दा बढी बरपीपल, शमी र अन्य जातका रूखहरू काटिए। जसले गर्दा सडक चिल्लो त भए, सडक छेउका ओत लाग्ने ठाउँ हराए। 
  •     रैथाने रूखहरू सखाप हुँदै गएपछि रैथाने पशुपन्छीहरू पनि हराउँदै गएका छन्। पन्छीहरूले रूखका बिउहरू एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम गर्थे, जसले गर्दा मानिसले नरोपे पनि रूख बिरुवाहरू आफैं उम्रिन्थे। तर, अहिले रूख हराएपछि पन्छीहरू पनि हराए। यसले परागसेचन प्रक्रियादेखि समग्र वातावरणलाई नै प्रभाव पारेको छ।
  •     देववृक्ष मानिएका रूखहरू औषधीय गुणले पनि भरिपूर्ण हुन्छन्। यी रूखहरूको औसत आयु ९ सय वर्षदेखि १५ सय वर्षसम्म हुने गर्छ। प्रचुर मात्रामा अक्सिजन दिने यी रूखहरूले वातावरण अनुकूलनमा विशेष प्रभाव पार्छन्। साथै मानव जीवनका लागि पनि यी वृक्षहरू वरदानसिद्घ भएका छन्। 
  •     मियावाकी विधिबाट हजारौंको संख्यामा रूखहरू बढाउन सकिन्छ। यस पद्घतिमा उपयोग गरिने बिरुवाहरू बढीजसो आफैं हुर्कन्छन् र उनीहरूलाई मल र जल दिने जस्तो नियमित रेखदेखको आवश्यकता पर्दैन। विश्वभरि यस पद्घतिको प्रयोग गरेर हालसम्म तीन हजारभन्दा बढी जंगल बनाइएको छ।

nullमहोत्तरीको मधवामा रहेको प्राचीन बरपीपलको रूख। सडक विस्तारका लागि पटकपटक काटिँदै गएपछि यो रूख साबिकभन्दा निकै पातलो भएको छ।  तस्बिर : मनिका झा 

देववृक्षहरूको धार्मिक महत्त्व

धार्मिक ग्रन्थअनुसार देववृक्ष मानिएका बर, पीपल, पाखर, नीम, अमला, गुल्लर र शमीको रूख निकै महत्त्वपूर्ण छन्। हिन्दु धार्मिक ग्रन्थका अनुसार भगवान् कृष्णले ‘समस्त वृक्षहरूमा म पीपलको वृक्ष हुँ’ भनेका छन्। स्कन्ध पुराणमा वर्णन गरिएअनुसार अश्रत्थ (पीपल) को जरामा विष्णु, हाँगामा केशव, शाखाहरूमा नारायण, पातहरूमा श्रीहरि र फलमा सबै देउताहरूको बास हुन्छ।

शास्त्रहरूमा वर्णन गरिएअनुसार पीपलको सविधि पूजा अर्चना गर्नाले सम्पूर्ण देवताहरू स्वयं पूजित हुन्छन्। पीपलको रूख रोप्ने व्यक्तिको वंश परम्परा कहिले विनाश हुँदैन। प्रसिद्ध ग्रन्थ व्रतराजमा अश्रत्थोपासनामा पीपल वृक्षको महिमा उल्लेख गरिएको छ। त्यसैगरी अथर्ववेदको उपवेद आयुर्वेदमा पीपलको रूखको औषधीय गुणका साथै थुप्रै रोगहरूमा यसको उपयोगका विषयमा वर्णन गरिएको छ। 

पीपलको रूखमुनि मन्त्र, जप, ध्यान र सबै प्रकारको संस्कारलाई शुभ मानिएको छ। त्यसैले पनि होला गौतमबुद्धले पीपलकै रूखमुनि आफ्नो साधना गरेका थिए। श्रीमद्भागवत्मा वर्णन गरिएको छ कि द्वापर युगमा परमधाम् जानु पूर्व योगेश्वर श्रीकृष्णले यसै वृक्षको मुनि बसेर ध्यान गरेका थिए। 

पीपलजस्तै अर्को देववृक्ष हो बर। यसलाई एक दीर्घजीवी विशाल वृक्ष पनि भनिन्छ। हिन्दु परम्परामा यो पूज्य वृक्ष हो। हामीले आफ्ना बाजेबज्यैबाट सुन्दै आएका छौं कि बरको रूखमा भगवान्को बास हुन्छ। बौद्ध धर्ममा पनि बरको रूखलाई निकै महत्त्वपूर्ण वृक्षका रूपमा वर्णन गरिएको छ। धार्मिक मान्यताअनुसार बरको रूखमा पूजा गर्नाले र यसमा जल चढाउनाले पुण्य प्राप्ति हुन्छ। यो रूख त्रिमूर्तिको प्रतीक पनि हो। यसको छालामा विष्णु, जरामा ब्रह्मा र शाखाहरूमा शिवको बास हुने धार्मिक मान्यता छ। जसरी पीपललाई भगवान् विष्णुको प्रतीक मानिन्छ, त्यसैगरी बरलाई शिवको प्रतीक मानिन्छ। यो प्रकृतिको सिर्जनाको प्रतीक पनि हो। निकै लामो समयसम्म जीवित रहने हुनाले बरको रूखलाई ‘अक्षयवृक्ष’ पनि भनिन्छ। 

अर्को देववृक्ष पाखर मानव शरीरका साथै पर्यावरणको लागि पनि औषधप्य गुणयुक्त रूख हो। यसमा वर्षौंसम्म जीवित रहने र जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता हुन्छ। महर्षि पतञ्जलिले पाकडको रूखलाई औषधिको रूपमा वर्णन गरेका छन्। देववृक्षकै रूपमा रहेको छ गुल्लरको रूख। यस रूखको सम्बन्ध शुक्र ग्रहसँग छ। यस रूखमा नियमित रूपमा जल अर्पण गर्नाले ग्रहदशा सुध्रिने र धनलाभ हुने जनविश्वास छ। 

शमीको रूखले शुद्ध हावा दिनुका साथै सौभाग्य र समृद्धिलाई आकर्षित गर्ने क्षमता पनि राख्छ। यसले नकारात्मक ऊर्जालाई टाढा राख्छ भने सुख, शान्ति र धनको प्राप्ति पनि गराउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.