कस्तो होला साँझको संगत ?

पुस्तक

कस्तो होला साँझको संगत ?

कविता हिँड्ने बाटोमा भाषा र कलाको पिच भएन भने टड्कारो विचारको यात्रा चाँडै टुंगिने सम्भावना हुन्छ।

कविता सिर्जना हुनुको परिभाषामा कविता यति बलशाली हुँदै कालजयी रहन्छ भन्ने तथ्यसँग नेपाली साहित्यका अग्रज कविलेखकका काव्यिक सिर्जनाबाट ज्ञानगंगारूपी बोधत्व प्राप्त हुन्छ। कविताले राष्ट्र, समाज र व्यक्ति विशेषका लागि दिन खोजेको या दिन सक्ने आनन्दको अनुभूति माधुर्य एवं गला र कलाको मिठासद्वारा अलौकित स्मृतिडोब तथा यसभित्र रहेका बिम्ब, सन्देश र शिल्पकला कविताका अभिप्रेरक आभूषण हुन्। जसको प्रभाव र प्रेरणाबाट कवि प्रकाश रम्घाली पनि पृथक् रहन सकेको देखिँदैन। उनको चोपिलो कविताकृति साँझको संगतले यही तथ्यको पुष्टि गर्छ।

रम्घालीका कवितामा सांकेतिक रूपमा आख्यान शैलीको व्याख्यासमेत भेटिन्छ। उनका कविता माधुर्य र प्रसादले बुलन्द छन्, समस्त नेपाली ठेट शब्दले उठेका छन्। गम्भीर भाव भावनाले भरिएका छन् र नेपालीपनले प्रचुरता प्राप्त गरेका छन्। आधुनिक र नवीन विचारक कवि उनका लागि मानिसभन्दा ठूलो अर्को ईश्वर छैन। प्रत्येक मानिस एउटा सुन्दर कविता हो, लेखिनु नलेखिनु अर्कै कुरा। थाहा छैन – कहिलेबाट कवितातर्फ आकर्षित भए ? मैले लेख्दा के हुन्छ ? नलेख्दा के हुँदैन ? अथवा गीत, संगीत र काव्य हुँदैनथ्यो भने मानिसको अनुभूति कुन माध्यमबाट अभिव्यक्त हुन्थ्यो होला ? प्रश्न आफैंमा परिभाषित छ, जस्ता विचार एवं दृष्टिकोण राख्ने कवि प्रकाशको कविताकृति साँझको संगतले धेरै तथ्यको परिभाषा दिएको छ।

साँझको अर्थ धेरै लगाउन र बुझ्न सकिन्छ। साँझ एउटा सिंगो जीवन परम्परा पनि हो। सुखम्दु: खम् तीतामीठा सबैखाले संयोग वियोग एउटा साझभित्र पाइने एक संयोगात्मक अवसर हुन। साँझभित्रका उनका कविताहरू उनी बाँचेको समयको दस्तावेज मात्र हैन, हिउँदको पारिलो घाममा बसेर फुर्सदले सम्झिएका प्रिय सपनीहरू हुन् भनेर कविले सम्बोधन गरेका छन्।

त्यसैले कम बोलेर कम लेखेर कालजयी चिन्तन दिन सक्ने चेतनाको सबैभन्दा बलियो अस्त्र कवि र उसको कवित्वर्सिजना मात्र हो, जसका भावनाहरू हिमशिखर जस्तै उच्च रहन्छन्। कवि यसैमा रमाएका छन्। कविको निजात्मक परिवेशमा आफ्ना दु: खहरूसँग कहिल्यै पनि गुनासो नराख्ने कविको कविताकृति साँझको संगतमा समेटिएका ४४ वटा विविध सिर्जनामध्ये जिन्दगी कविताले जे बोल्छ त्यही नै सत्य हो–
धेरै दिनपछि–
धोएर सुकाएको थिएँ– आफूलाई !
साँझ उठाउन बिर्सेछु
रातको हुरीले उडाएर सडकमा पुर्‍याएछ
शीतले भिजको, मानिसहरूले कुल्चिएको
यस्तै मैलो जिन्दगी फेरि धोएर
सुकाउने जाँगर पनि छैन, मसँग !

सत्यम् शिवम् सुन्दरम्ताले धेरिएर बाँधिएका उनका कविता कल्पनाले जति उन्नत छन् उत्ति नै प्राकृतिकताले विस्तीर्ण पनि छ। कुनै पनि साँध–सीमामा बाँधिएर नलेखिएका उनका यी गद्यकविता नेपाली जनजिब्रोले रुचाएको छ। उनका कविताले सीधै पाठकवर्गलाई सम्बोधन गर्ने एवं आफ्ना कविताको अंशियार बनाउने कविको काव्यिक शैली यस कविताकृतिमा प्रतिबिम्बित भएको छ। उनका कवितामा सरलता र समसामयिकताको झंकार प्रचुर भए पनि बुझ्न सक्ने अर्थ लहरा झैं निकै जेलिएको अवस्था छ, तर यसले काव्यिक मर्मबोध र कविको कवित्व प्रतिभालाई उर्वर नै बनाएको छ। उनका कविताको घनत्व वजनदार रहनुका अतिरिक्त राष्ट्र, समाज र जनजीविकाको आलोकसम्म फैलिएको आभास हुन्छ।

त्यसैले उनको कविताकृतिले कविताको महिमाबोध र गरिमालाई एक हदसम्म जुरुक्कै उठाएको छ। यस संग्रहका प्रकाशक इटर्नल पब्लिकेसन प्रालिको मान्यता छ– रम्घालीका कविताहरूको यो संग्रह प्रकाशन गर्नुको अर्थ कविताको मानकभित्रै नपर्ने कविताले गिराएको कविको साखलाई कवितामा नयाँनयाँ मानक बनाउन सक्ने कविहरूबाटै जोगाउनु पर्छ। वास्तविक कविताहरू ढिलो वा चाँडो पाठकका पहुँचमा पुग्नै पर्छ भन्ने मान्यता पनि हो। 
एक अर्को सन्दर्भ, डाँडावारि हुनुपर्ने सुख 
डाँडापारि पुगेको छ जस्तै : 
थाप्लोमा दु: खको भारी छ
मोहको यात्रा जारी छ
हामी छौं पीरको भुंग्रोमा
सुख त डाँडापारि छ !

प्रस्तुत साँझको संगत कवितासंग्रहअन्तर्गत ७२ पृष्ठाकारमा छोटामोटा गरी ४४ कवितालाई प्रवेश गराइएको छ र प्रत्येक कविताले फरकफरक मिठास दिएका छन्। उनका कवितामा विषयगत विविधता र समाजको सामाजिक वेदना एवं वर्तमान समयको पदचापमा मानिसले भोग्नुपरेका साझा पीडाको उन्नत प्रस्तुति कवितामा सगौरव भेटिन्छ। उनको काव्यिक मान्यता बुझिने कविता हो, ‘नियति’ : 
बिहानै बाको खुट्टाको साइज नापेर
नयाँ जुत्ता किन्न हिँडेको म
बेलुकी बाको रहर मात्र लिएर फर्कन्छु
मसँग मेरा बा पटक्कै खुसी छैनन् !

मलाई थाहा छ–
मैले कविता लेख्न थालेदेखि
मेरा बाजस्तो देश पनि मसँग खुसी छैन। 

पहाडी जनजीवनको झंकार एवं झझल्को दिने उनको यस कविताकृतिको आशय कविता हिँडेको बाटोमा प्रकाश लेख्छन्– आफ्नी प्रेयसीलाई पर्खंदा टिकट काटिसकेको रात्रिबस छुटेजस्ता निजी अनुभूतिहरू हुन्। अन्त्यमा भन्छन्, कविता हिँड्ने बाटोमा भाषा र कलाको पिच भएन भने टड्कारो विचारको यात्रा चाँडै टुंगिने सम्भावना हुन्छ। कलात्मक प्रस्तुतिमा मुर्झाएका उनको कविताका यी सुन्दर हरप–
पहाडहरू नै अत्यासले अग्लिएर
झन्डै आकाश छुन लागिसके
अझै आइपुगेको छैन बिहानै उठेर हिँडेको घाम !

तथापि, जीवनको महत्त्वपूर्ण समय सैनिक सेवामा बिताएका प्रकाशका कवितामाथि कवि श्यामल लेख्छन्– प्रकाश रम्घाली कवितामा मिहिन दार्शनिक चेतनाको पुट दिन्छन्, सांस्कृतिक पर्वको आँखीझ्यालबाट मानिसका सम्बन्धलाई चियाउँछन् र उन्नत प्रविधिको प्रयोगसँगै नेपाली समाजसँग गाँसिएको महादु: खलाई आधुनिक दु: खका रूपमा परिभाषित गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.