समाज बदल्ने शक्ति
पहिले सबैलाई स्टार बन्नु छ, रातारात। यो चाहना स्वाभाविक हो। तर, उल्लेख्य कुरा कामै नगरी स्टार बन्ने ख्याब चाहिँ स्वाभाविक होइन। फगत डिजिटल मिडियामा प्रतिक्रिया दिएको भरमा स्टार ! क्रिया नगरी प्रतिक्रियाको भरमा स्टार ! तोरीको गेडामा प्वाल खोज्ने काम पनि कामै हो। तर, तोरीको गेडामा प्वाल खोज्ने मान्छेको भ्यालु र तोरी उमार्ने किसानको महत्त्व बराबर हुनै सक्दैन।’
माथिका हरफ विजयकुमार पाण्डेको उपन्यास ‘सम्बन्धहरू’बाट लिएको हुँ। अहिलेको हाम्रो समाज आधुनिक छ। भौतिक संरचनामा आधुनिक, कार्यप्रणालीमा आधुनिक, जीवनशैलीमा आधुनिक, प्रविधिमा आधुनिक आदि। अहिले सबैलाई आधुनिक नै बन्नु छ। अर्थात् स्टार बन्नु छ। झिल्केमिल्के नै देखिनु छ। यो समयको माग हो। समयले परिवर्तनको माग गर्छ। परिवर्तन आवश्यकताले निर्धारण गर्छ। यसरी समयक्रमसँगै मान्छेमा चेतनाको स्तर बढ्यो। शिक्षामा जागरण बढ्न थाल्यो। विभिन्न विकल्पको खोजी हुन थाल्यो। र, नयाँ ज्ञानको विस्फोट भयो। वैज्ञानिक आविष्कारहरू भए। मानिस सिर्जनात्मक बन्यो। यसरी हरेक चिजको विकल्प खोज्ने क्रममा देश स्वतन्त्र बन्यो। मानिस स्वतन्त्र बने।
स्वतन्त्रतामा किन अराजकता ? : नेपालको संविधान, २०७२ को धारा (१७) ले विचार र अभिव्यक्तिलगायत अन्य स्वतन्त्रताको हक प्रदान गरेको छ। तर, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा भने मनासिब प्रतिबन्ध लगाएको छ। स्वतन्त्रताले मान्छेमा चेतना बढायो तर चिन्तन चाहिँ घट्यो। मान्छे आधुनिक भए तर अराजकता भित्रियो। अधिकार प्राप्तिमा लडाइँ गर्ने तर कर्तव्यप्रति विमुख हुने संस्कारको विकास भयो। स्वतन्त्रताको वकालत गर्यो तर मान्छे स्वेच्छाचारी बन्न थाल्यो। आमाबुबाले भनेको अर्ती उपदेश सन्तानले मान्दैनन्। शिक्षकले भनेको विद्यार्थीले अनुसरण गर्दैनन्। एकले अर्कोलाई नटेर्ने प्रवृत्ति हाबी भयो। भिडले गरेको निर्णय मान्नुपर्ने स्थिति सिर्जना भएको छ। मियोबिनाको दाइँ भयो आजको हाम्रो समाज। हामी विवेकभन्दा आवेगमा धनी भयौं। विचारको प्रवाह गौण भयो। आदर्शको महत्त्व नगण्य भयो। मान्छेले हरेक क्षेत्रमा विकल्प खोज्यो तर विश्वासको धरोहर ढलायो।
आफन्त, आमाबुबा, सहकर्मी, साथीभाइबीचमा आपसी सद्भाव, सम्मान, समभावको अवस्थामा स्खलन आएको छ। हजुरबुबा भन्नुहुन्थ्यो, ‘हाम्रो गाउँघरमा पहिले–पहिले खलामा धान झारेपछि अरूले धान ल्याएर थपिदिन्छ र आफूलाई पाप लाग्छ कि भनेर सबैजना धानको खलो रुँघेर बस्थें। अहिले अरूले चोरेर लैजान्छ कि भनेर धान रुँघेर बस्नु परेको छ।’ एकापसमा अविश्वास पैदा भएको छ। सामूहिकतामा आफ्नो अस्तित्व खोज्ने प्रवृत्तिमा ह्रास आएको छ। हामीले आफ्नो जीवन पद्धति फेर्यौं तर परनिर्भरता बढायौं।
शक्तिको घमण्ड : हामी शक्तिमा हुँदा जे पनि गर्न तयार छौं। आफ्नो शक्तिको नशामा रुमलिनु साधारण कुरा हो। जति शक्तिशाली छ, त्यति नै विनम्र भएका मानिस बिरलै भेटिन्छन्। शक्ति र विनम्रता ठ्याक्कै उल्टो स्वभावका गुणहरू हुन्, तर जसले यी दुई गुणलाई अँगाल्न सक्छ, ऊ महान् व्यक्ति बन्छ। यसको दृष्टान्त महाभारतमा जब भीमलाई आफ्नो शक्तिप्रतिको घमण्डले आफैंलाई घाटा गरेको प्रसंग हेरौं। जुवामा हारेपछि, पाण्डवहरूले बाह्र वर्षसम्म वनवास भोग्नु परेको थियो। त्यसपछि सबै पाँच भाइ र द्रौपदी घना जंगलमा भड्किरहनु पर्यो। जंगलमा चहार्दाचहार्दै उनीहरू कैलाश पर्वतको जंगलमा पुगे। त्यतिबेला साधु राजा ‘कुबेर’को महल पनि कैलाश पर्वतमै थियो। कुबेरको महलवरिपरि एक बगैंचा थियो, जहाँ अति सुगन्धित कमलको फूल फुलेको थियो। घुम्दै गरेकी द्रौपदीले फूलको बासना थाहा पाएपछि उनले भीमलाई त्यो कमलको फूल टिपेर ल्याउन आग्रह गरिन्।
द्रौपदीको आग्रह मानी भीम उक्त बगैंचातर्फ लागे। बाटोमा ठूलो जंगल पथ्यो र जंगलको बीच बाटोमा भीमले एउटा बाँदरले बाटोमा पुच्छर पसारेर सुतिरहेको देखे। कुनै पनि प्राणीलाई नाघेर जानु आफ्नो मर्यादाविरुद्ध हुन्छ भनेर, भीमले बाँदरलाई पुच्छर हटाउन आदेश दिए। तर, बाँदरले सुन्ने कान नै नलगाएपछि, क्रोधित हुँदै भीमले बाँदरलाई भने, ‘म महाबलि भीम हुँ, तँलाई थाहा छ ?’ यो क्रोधित स्वर सुनेर बाँदरले जवाफमा भने, ‘यदि तिमी साँच्चिकै शक्तिशाली छौ भने आफैंले मेरो पुच्छर हटाएर जाऊ न त !’ त्यसपछि, भीमले त्यो बाँदरको पुच्छर हटाउन खोजे तर जे जति गरे पनि सकेनन्। आफू महाशक्तिशाली हुँदाहुँदै पनि एउटा बाँदरको पुच्छर हटाउन नसकेपछि हार मानेर भीमले बाँदरसँग प्रार्थना गर्न थाले। त्यसपछि, बल्ल बाँदरले आफ्नो वास्तविक रूप धारण गर्यो, ऊनी स्वयं पवनपुत्र हनुमान थिए। उनले भीमलाई आफ्नो शक्तिप्रति कहिल्यै पनि घमण्ड गर्नु हुँदैन भनेर सम्झाए।
हामी सबैभन्दा विवेकशील सामाजिक प्राणी हौं। समाज विविधताले भरिएको छ। परिवेश फरक छ। प्रवृत्ति फरक छ। प्रचलन फरक छ। पृष्ठभूमि फरक छ। परम्परा फरक छ। जात, धर्म, संस्कृति, भूगोल सबै फरक छन्। समाजको फरकपन हाम्रो साझा सम्पत्ति पनि हो। समाजमा रहँदाबस्दा मतभेदहरू हुनु स्वाभाविक हो। मतभेद समाज रूपान्तरणको आधार पनि हो। तर, मतभेदलाई मर्यादापूर्वक राख्नु जिम्मेबार नागरिकको कर्तव्य हुन आउँछ। विमतिलाई वैचारिक बहसमार्फत समस्या समाधानको निकास मान्नुपर्छ न कि शक्तिको सामथ्र्य देखाउने। मतभेद हुनेबित्तिकै क्रोधित हुनु व्यक्तिको पतन हुनुसरह हो।
श्रीमद्भगवद् गीताको अध्याय २ श्लोक ६३ मा भनिएको छ, ‘क्रोधद्वारा भ्रम पैदा हुन्छ। भ्रमद्वारा बुद्धि भ्रष्ट भएर नष्ट हुन्छ। जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ।’ यो मतभेद किन हुन्छ भनेर सोच्दै जाँदा दृष्टिकोणमै खोट देखिन्छ। एउटा मानिसले अर्को मानिसलाई हेर्ने दृष्टि नै गलत छ भन्ने महसुस गर्छ। एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु अहिलेको समाजमा अराजकता बढ्नुको मूल कारण हो जस्तो लाग्छ। त्यसैले सत्ताले शक्ति आर्जन गर्छ तर त्यो क्षणभंगुर छ। क्रोधले व्यक्तिको विलय गराउँछ। विनयशीलताले व्यक्तिको विजय गराउँछ। जुन अनन्त हुन्छ। कोही कसैको विनम्रतालाई वा नरम व्यहारलाई हामी फाइदाको रूपमा लिन्छौं। हेपाहा प्रवृत्ति राख्छौं। सानो पद र तहको मानिसबाटै सिक्नु हँुदैन भन्ने सोच्छौं। यो हामीभित्रको बौद्धिक खडेरीको उपमा हो।
अबको बाटो : समाज हामी आफैंको प्रयासबाट परिवर्तन हुने हो। सर्वप्रथम हाम्रो सोचमा परिवर्तन गरौं। व्यवहारलाई रिप्लेस गर्न सक्छौं तर रिटर्न गर्न सक्दैनौं। चिन्तनबिनाको चिन्ता त्यागौं। चैतन्य प्राप्तिमा जोड गरौं। आवेगलाई विवेकमा ढालौं। नकारात्मकताभन्दा सकारात्मक बन्ने बाटोमा लागौं। आलोचनाभन्दा समालोचना गर्ने संस्कारको सिर्जना गरौं। समाधानका विकल्पबिनाको समस्या नराखौं। पर्वतारोहण इतिहासका दुई महान् वान्डा रुटकिविक र एडमन्ड हिलारीले भनेका दुई वाक्य जोड्यो भने यस्तो वचन बन्छ– ‘हामी सबैले आआफ्नै जीवनको सगरमाथा चढ्नुपर्छ। पहाड चढ्दा पहाडलाई जित्ने होइन, आफैंमाथि विजय पाउने मात्र हो।’
हामी जे छौं त्यही बनौं। जुन पेसा वा कर्ममा छौं, त्यही कर्मलाई धर्म ठानांै। समाज सुधारमा राजनीतिज्ञ, शिक्षक, कर्मचारी, व्यवसायी सबैको भूमिका महत्त्वपूर्ण छ। समाज सभ्य र सुसंस्कृत बनाउन हामी सबै जिम्मेवार बनौं। हाम्रा सन्तानमा असल संस्कारको छाप छोडौं। उपभोगवादी संस्कृति त्यागौं। सामाजिक स्वार्थमा जोड दिऔं। नियम कानुनको परिधिमा बसौं। चाहे सामाजिक कानुन होस् वा नैतिक। साझा कुरामा विश्वास गरौं। सुरुमा हामी सुध्रिऔं, समाज अवश्य सुधार हुन्छ।