वडाध्यक्षले नै विद्यालयमा गरे तालाबन्दी, पठनपाठन ठप्प
ढल्केवर(धनुषा) : धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीस्थित रहेको श्री माध्यमिक (प्राविधिक तथा व्यावसायिक) विद्यालयमा तीन दिनदेखि पठनपाठन अवरुद्ध भएको छ। सहजीकरण गर्नुपर्ने विषयमा वडाध्यक्ष सुरजकुमार लामा आफ्नो प्रत्यक्ष संलग्नतामै विद्यालयमा हंगामा गराएपछि तीनदिनदेखि पठनपाठन ठप्प भएको हो।
प्रधानाध्यापक प्रदिप कुमार सिंहले विद्यालयमा रहेको शिक्षक अभावलाई परिपूर्ती गर्ने विषयमा सहजीकरण गरिदिन वडाध्यक्ष लामालाई पटकपटक आग्रह गरेपनि वडाध्यक्षले त्यसो नगरी उल्टै विद्यालयलाई विवादतर्फ धकेलेको आरोप छ। विद्यार्थीलाई उक्साएर वडाध्यक्ष लामाले आफ्नै उपस्थितिमा विद्यालयमा ताल्चा लगाएपछि विवाद बढेको हो।
सोमबार वडाध्यक्ष लामाको नेतृत्वमा विद्यालयमा तालाबन्दी गरी विद्यालयका प्रधानाध्यापक सिंहलगायत सम्पूर्ण शिक्षकमाथि गालीगलौज दुर्व्यवहार गर्दै केही शिक्षकहरूमाथि हातपातसमेत भएको एक स्थानीयले बताए। ‘अहिले विद्यालय पूर्णरूपमा बन्द छ। पढाई प्रभावित भइरहेको छ। यस्ता विषयमा वडाध्यक्षले त समवन्य गर्नुपर्थ्यो। विद्यालयजस्तो क्षेत्रमा स्टन्टबाजी गर्ने नै होइन नि। वडाध्यक्षजस्तो गन्यमान्य मान्छे त झन् संबेदनशील हुनुपर्छ। तर, वडाध्यक्षको रोहवरमा नै विद्यालयमा तालाबन्दी गरिनु आपत्तिजनक विषय हो,’ ती स्थानीय भन्छन् ‘अगाडि गल्ती जोसुकैको भएपनि यो घटनाले वडाध्यक्षज्युको गल्ती नाङ्गियो। यो लज्जाको विषय हो।’
विद्यालयमा शिक्षक अभावको विषयले विवाद बढेको प्रधानाध्यापक सिंह बताउँछन्। ‘विद्यालयमा दुईमहिनादेखि विज्ञान विषयको शिक्षक अभाव छ। त्यस विषयमा हामी गम्भीर भएर लागेकै सथियौं। विद्यालयमा व्यवस्थापन समिति नभएकोलेहजीकरणका लागि हामीले वडाध्यक्षज्यूलाई पनि आग्रह गरेका थियौं,’ प्रधानाध्यापक सिंहले भने ‘केहीदिनअघि हामीले स्थानीय एक शिक्षकलाई हायर गर्यौं। ती शिक्षकको पढाइबाट विद्यार्थीहरू सन्तुष्ट भएनन्। हामीलाई कम्पलेन आयो। उहाँ (त्यो शिक्षक) पनि जानुभयो।’
विद्यार्थीको भविष्य र गुणस्तरीय पठनपाठनका लागि विद्यालय जहिल्यै गम्भिर भएर प्रस्तुत भइरहेको उनको भनाइ छ। ‘विद्यार्थी नै असन्तुष्ट हुने गरी शिक्षक राख्ने कुरा आउँदैन। शिक्षक पूर्तिको विषयमा हामी विद्यार्थीलाई पनि कनभिन्स गरेका थियौं। समन्वय र सहजीकरणका लागि छलफल गर्न वडाध्यक्षज्युलाई पनि विद्यालयमा आमन्त्रण गरेका थियौं। हामीले माइनुटको व्यहोरा पनि लेखिसकेका थियौं। तर, वहाँ (वडाध्यक्ष) आउनुभएन,’ प्रधानाध्यापक सिंह भन्छन् ‘अचानक वडाध्यक्षज्यू आफै| विद्यार्थीलाई उक्साएर विद्यालयमा अस्वभाविक रुपमा प्रस्तुत हुनुभयो।’
आफूलगायत शिक्षकमाथि भएको दुर्व्यवहारले विद्यालयमा तत्कालै पठनपाठनको अवस्था नरहेको प्रधानाध्यापक सिंहले बताए। ‘विद्यालयजस्तो शान्ति क्षेत्रको अवस्था खलबलिएको छ। शिक्षकहरू पनि त्रसित हुनुहुन्छ। तत्कालै पठनपाठनको अवस्था छैन,’ प्रधानाध्यापक सिंहले भने, ‘वडाध्यक्षलगायत घटनामा संलग्न दोषीलाई कारबाही गरेर यथाशीघ्र पठनपाठनको अवस्था निर्माण गर्नुपर्छ।’
विद्यालयका प्रधानाध्यापकसहितका शिक्षकहरुले नगरप्रमुख, प्रमुखजिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। उनीहरूले घटनाको घोर निन्दा र भर्त्सना गर्दै घटनामा संलग्न रहेको दोषीमाथि अबिलम्ब कारबाहीको माग गर्दै विद्यालय जस्तो शान्ति क्षेत्रमा शान्ति सुरक्षा कायम गरी सम्पूर्ण शिक्षक स्टाफहरुलाई सुरक्षाको अनुभुति दिलाई विद्यालय संचालनको सहज वातावरण बनाइदिन अनुरोध गरेका छन्। यता प्रतिक्रियाको लागि वडाध्यक्ष सुरजकुमार लामासँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।