म्याग्दीको खोपारामा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दीको खोपारामा पर्यटकीय पूर्वाधार विस्तार

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ। पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले यस वर्ष २ किलोमिटरभन्दा बढी पदमार्ग, २ वटा आश्रयस्थल, खानेपानी, दृश्य अवलोकनस्थल लगायतका पूर्वाधार निर्माण गरेका हुन्। 

प्रदेश सरकारको १३ लाख, गाउँपालिका र गैरसरकारी संस्थाको १२/१२ लाख रुपैयाँ बजेटमा पर्यटकीय पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताए। 

‘खोपारा भ्रमणमा आउने पर्यटक, खयर ताल जाने भक्तजन, तीर्थयात्रीहरूलाई सुविधा पुगेको छ,’ उनले भने ‘भौगोलिक रुपमा विकट र हिमाली क्षेत्रमा प्रतिकुल मौसमका कारण छोटो समयमा तोकिए बमोजिमको काम गर्न नसक्दा प्रदेशको ७ लाख र गाउँपालिका र गैरसरकारी संस्थाको ४/४ लाख रुपैयाँ खर्च हुन सकेन।’

उद्योग तथा पर्यटन कार्यालय मार्फत विनियोजन भएको बजेटबाट खोपारदेखि खयरतर्फ जाने पदमार्गमा १ किलोमिटर २०० मिटर माटो काटेर र २४५ मिटर ढुङ्गा छापेको पदमार्ग निर्माण भएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए। ५ वटा खानेपानी भण्डारण गर्ने ट्यांकी राखिएको छ।

पैदलयात्रीलाई विश्राम गर्नका लागि १६ वटा फलामको बेञ्च राखिएको छ। लाकुशेको मुहानमा टंकी बनाएर पदमार्ग र खोपाराको सामुदायिक लजमा खानेपानीको व्यवस्थापन गरिएको छ। साझेदारीको कार्यक्रम मार्फत चमकी ओडार क्षेत्रको साँघुरो पैदलमार्गको डिलतर्फ ५३ मिटर फलामको रेलिङ राखिएको छ। 

२३६ मिटर ढुंगाको सिढी, ७९८ मिटर माटा काटेको पदमार्ग र २ ठाउँमा आश्रयस्थल बनाइएको अन्नपूर्ण गाउँपालिका–५ का प्राविधिक रोहित बस्ताकोटिले बताए। राते र सुनौलोमा १/१ वटा ट्रसले छाएको १० देखि १५ जना बास बस्न सक्ने आश्रयस्थल निर्माण भएको छ। 

खोपाराको सामुदायिक लजको नयाँ भवनको डिलतर्फ पर्खाल बनाएर संरक्षण गरिएको छ। समुन्द्रि सतहदेखि ३ हजार ६०० मिटरको उचाइमा अवस्थित खोपारालाई केन्द्र बनाएर अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग सञ्चालन भएको छ। 

सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाई र यात्रा अवधि लम्बाउन खोपारालाई वैकल्पिक गन्तव्य बनाउने उद्देश्य अनुसार पूर्वाधार विस्तार गरिएको अन्नपूर्ण–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले बताए। खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापभित्र) पर्छ। घोडेपानी, शिख, पाउद्धार र नारच्याङबाट खोपारा जोड्ने पदमार्ग रहेका छन्। खोपारामा रहेको ६० जना क्षमताको लज  समुदायले सञ्चालन गरेका हुन्। 

सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन खोपारामा सुरु गरिएको सामुदायिक लजलाई पछिल्लो समय पर्यटन सहकारी संस्था मार्फत सञ्चालन गरिएको छ। खोपाराको विकासमा अगुवाइ गरिरहेका राजु पुनका अनुसार पूर्वाधार नहुँदा र पर्यटक नआउँदा खोपारा स्थानीयबासीको भैसी गोठमा सीमित थियो। 

गुराँसको जंगलको बीचमा पहाडको टाकुरामा भिरालो भुगोलमा अवस्थित खोपारा जैविक विबिधतायुक्त ठाउँ हो। अन्नपूर्ण, धौलागिरी, निलगिरी, गुर्जा हिमाल, सुर्योदय, सुर्यास्त, पहाडी भूगोल, वनजंगल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ। खोपाराको प्राकृतिक सौन्दर्यले यात्राको थकान र दुख बिर्साउने पर्यटकको अनुभव छ। 

पाउद्धारबासीले खोपारा र खयरभारानी थान जोड्ने पदमार्गमा १ करोड ६० लाख रुपैयाँभन्दा बढी चन्दा जुटाएर पूर्वाधार निर्माण गरेका छन्। जंगल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफ्ना दिवंगत भएका आफन्तको सम्झनामा १० किलोमिटर भन्दा बढी पदमार्ग, १०० वटा चौतारी, तीन वटा धर्मशाला र १० ठाउँमा पानीका धारा बनाएका छन्। 

महाभिर पुनको अवधारणा अनुसार करिब बीस वर्षअघि सुरु भएको खोपारालाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा केही वर्षयता प्रदेश सरकार, गाउँपालिका र ‘खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष’ले पनि साथ दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.