धुवाँरहित भान्सा बनाउन विदुरका ३४० परिवारलाई विद्युतीय चुल्हो
नुवाकोट : प्रदूषण र धुवाँरहित बनाउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका १ मा विद्युतीय चुल्हो वितरण गरिएको छ। सो वडाका तीन सय ४० घरपरिवारलाई विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गरिएको हो।
सर्वसाधारण भान्सा प्रदूषण र धुवाँरहित बनाउनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो। विदुर १ को वडा कार्यालयमा आयोजित कार्यक्रममा उपमेयर प्रभा बोगटीले विद्युतीय चुल्हो वितरण गरिन् ।
उनले नपामा धुवाँरहित बनाउन तथा महँगो वस्तुको प्रतिस्थापन गर्नका लागि विद्युतीय चुल्होको प्रयोग गराउने अभियान प्रभावकारी रहेको बताइन्। विदुर १ वडाबासीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत रकम अनुदान र स्थानीयवासीले ३० प्रतिशत व्यहोरी विद्युतीय चुल्हो वितरण गरिएको हो।