बालबालिकामा त्यागको भावना
पहिलो घटना– तोत्तो चान फाउन्डेसन स्थापना गरी बहिरा तथा अपांगता भएका संसारभरिकै बालबालिकाको शिक्षा र क्षमता अभिवृद्धिका निम्ति काम गरिरहेको संस्था तोत्तो फाउन्डेसनकी संस्थापक जापानी सुप्रसिद्ध कलाकार तेच्चुको कुरोयानागी (उनलाई बाल्यकालमा तोत्तो चान भनिन्थ्यो) स्कुल पढ्दाताकाको एक घटना याद छ। तेच्चुको एक दिन आफ्नी आन्टीको पुरानो लुगामा भएको फूल निकालेर बनाइएको रिबन ढल्काएर स्कुल गइन्। त्यो रिबनको सबैले प्रशंसा गर्दा उनको मुख उज्यालो भएको थियो।
केही दिनपछि स्कुलमै प्रधानाध्यापकले उनलाई बोलाएर भने, ‘तोत्तो तिमीले यो रिबन कहाँ पायांै ? आफूलाई मन पर्ने शिक्षकले आफूले लगाइरहेको रिबनको बारेमा सोधेको सुनेर उनी झनै दंग परिन् र सगर्व सुनाइन्। आफ्नो आन्टीको पुरानो लुगा जुन विदेशबाट ल्याइएको हो र त्यसकै फित्ता काटेर आन्टीले यो रिबन बनाई दिनुभएको हो। यो सुनेर प्रधानाध्यापकको अनुहार अँध्यारो भयो। उनी केही भन्न खोजे जस्तो तर भन्न नसके जस्तो गरेर हात बाँधेर उभिइरहे। उनको यस्तो हालत देखेर तोत्तो छक्क परिन् र सोध्न थालिन्, ‘खास कुरा के हो सर ?’
उनी नम्र भएर बोले, ‘हेर, मेरी छोरी मियोले तिम्रो जस्तै रिबन चाहियो भनेर हैरान पारी। मैले सहरका कुनाकाप्चा सबैतिर खोजें तर यस्तो रिबन पाउन सकिनँ। यो त विदेशबाट ल्याएको रहेछ नि ? के तिमी कृपा गरेर यो रिबन स्कुल आउँदा नलगाउन सक्छ्यौ ?’
तोत्तोले पुलुक्क प्रधानाध्यापकको अनुहारमा हेरिन्। यतिखेर उनको अनुहार प्रधानाध्यापकको भन्दा पनि छोरीका कारण अप्ठ्यारोमा परेको बाबुको जस्तो देखिएको थियो। उनी फेरि बोल्न थाले, ‘तिमीलाई यो कारण दुःख त लाग्दैन नि हगि ?
तोत्तोले केहीबेर सोचिन् र भनिन्, ‘हुन्छ, म यो रिबन स्कुल आउँदा लगाउँदिनँ।’ यो थियो स्कुलमा सिकाइएको संस्कार। तोत्तोले अध्ययन गरेको स्कुल तेमोएमा सिकाइन्थ्यो एकअर्कालाई मद्दत गर्नुपर्छ र उनीहरूको समस्या बुझ्नुपर्छ। यो उनीहरूको नियमित कार्यभित्रै परिसकेको थियो। त्यही दिन घर फर्केर त्यो रिबन उनले आफूलाई मनपर्ने टेड्डीको घाँटीमा बाधिदिएकी थिइन् रे।
लाग्छ, तोत्तोको यो सानैदेखिको सहयोगी भावनाले उनलाई समाजसेवामा अगाडि बढ्न मद्दत गरिरहेको थियो। हामी प्रायः भन्छौं, बालबालिकाको मन मारिदिन हुँदैन। कलिलो मनमा नराम्रो असर पर्छ तर हामी यो सोच्दैनौं कि हामीले परिस्थिति कस्तो छ ? त्यसबारे राम्ररी जानकारी गराइदियो भने उनीहरूले किन बुझ्दैनन् ? बुझ्छन् र त्यहीअनुसार अगाडि पनि बढ्दै जानेछन्। भविष्यमा परिआउने परिस्थितिहरूसँग जुध्न पनि उनीहरूलाई थप सहयोग हुनेछ।
दोस्रो घटना– म बाटोमा हिँड्दा सिग्नलमा पेन, पानी बेच्दै हिँड्ने अझ अशक्तहरूले बेचिरहेको भेट्दा सधैं गच्छेअनुसारले तिनीहरूसँग किन्दिरहेकी हुन्छु। आफ्नो छोरोसँगै भएको बेलामा पनि यो काम मैले धेरैपटक गरेकी थिएँ र अहिले पनि गर्छु। खासमा मलाई थाहै थिएन कि मैले गरिरहेको यो काम मेरो छोराले याद गरिरहेको छ। र उसलाई देखाउन पनि मैले त्यो गरेकी थिइनँ। तर राम्रा नराम्रा कामहरू बालबालिकाले कसरी पत्तै नपाई टिपिरहेका रहेछन् भन्ने एउटा सानो तर निक्कै अर्थपूर्ण उदाहरण राख्दैछु। केही समय अगाडि म छोरासँगै साँझतिर घुम्न घरछेउमै निस्केकी थिएँ। उसले केही पर आफूलाई मनपर्ने खानेकुरा पाइने बतायो। यसो गोजी छामे ५० रुपैयाँ रहेछ।
‘यतिले त आउला नि ?’ मैले सोधें, ‘आइहाल्छ नि।’ उसले भन्यो। आमाछोरा गफ गर्दै नजिकैको चोकमा पुग्यौं। त्यहाँ एउटा किशोर हातमा पानी बोकेर किन्दिनुस् न भन्दै घुम्दै थियो। तर सबैलाई आफ्नै हतारो चटारो त होला, कसैले ऊप्रति ध्यानै दिएन। यतिकैमा बाबु बोल्यो, ‘त्यो पानी हामी किनिदिउँ न है मामु ? म छक्क परें। सोधें, ‘अनि यो किनेपछि तिमीलाई मनपर्ने खानेकुरा किन्न त पुग्दैन नि !’ उसले अलिकति पनि अनुहार नबिगारी भन्यो, ‘अर्काे दिन खाउँला नि।’ उसको अनुहारमा सन्तुष्टिको भाव मैले पढ्न सकें। ऊ त्यति गर्न पाएकोमा अति नै खुसी भएको महसुस गरें। मेरो शरीर खुसीले ढक्क भएर फुल्यो।
खासमा यो एउटा बालबालिकाले अभिभावकबाट पाएको संस्कार थियो। मेरो साथी भन्नुहुन्छ, ‘खासमा बालबालिकालाई ‘यस्तो गर, उस्तो गर’ भनेर सिकाउनै पर्दैन। आफूले उनीहरूका अगाडि राम्रा काम गरिदिए पुग्छ। उनीहरू आफैं सिक्छन् अनि अनुसरण गर्दै जान्छन्। गर भन्यो भने त झनै दबाब पो हुन्छ उनीहरूलाई। यो कुरा मलाई सधैं साँच्चो लाग्छ।
तेस्रो घटना– विदेशमा बस्ने साथीले मेरो छोराको कुरा सेयर गरिरहँदा भनेकी थिई, ‘मेरी छोरीले पनि यस्तो गरी सुन न। मैले चाख लिएर सोधें, कस्तो गरी ?
उसको भनाइअनुसार छोरीको स्कुलमा च्यारिटीका लागि बालबालिकाले चकलेट बेच्ने र त्यो पैसा बुझाउनु पर्ने रहेछ। यो प्रायः स्कुलले गराइरहने रहेछ। एकदिन उसलाई कुनै पाहुनाले ल्याइदिएको उसलाई अति मनपर्ने चकलेट जुन ऊ घरकालाई पनि नदिई खान्थी रे, त्यो पनि बेचेर च्यारिटीमा जम्मा गरी रे। अनि उसकी आमाले सोध्दा उसले जवाफ दिई रे, ‘पैसा अलि जम्मा गर्न पाइन्छ नि त यसो भए। यो सिक उसलाई ट्रस्टले दिलाएको थियो। यसमा उसलाई स्कुल र अभिभावकले उत्तिकै साथ दिइरहेका थिए।’
यिनै माथि सुन्दा साना लाग्ने तर गहिरा र अर्थपूर्ण उदाहरणबाट प्रस्ट हुन्छ कि बालबालिकालाई बुझाउन सकियो भने उनीहरूले हामीले सोचेको भन्दा धेरै माथि उठेर काम गर्न सक्ने रहेछन्। आफूलाई मनपर्ने कुरासमेत त्याग गर्न सक्ने रहेछन्। तर हामी छोराछोरीको कलिलो मन दुख्ला कि भनेर जसोतसो उनीहरूका माग मात्रै पूरा गरिरहेका हुँदैनौं बरु उनीहरूलाई कम आँकिरहेका हुन्छौं। उनीहरूलाई आफूसँगै परिस्थितिहरूमा डुलाएर त हेरौं। हामीमा त्यागको भावना के हुन्छ ? उनीहरू झन् अघि हुँदा रहेछन्।