कुशको शव बनाएर थालियो दाहसंस्कार
वीरगन्ज/चितवन : बिहानै ७ बजे नारायणी नदीकिनारमा सुरक्षाकर्मीको ड्युटी सुरु हुन्छ। त्रिशूली र नारायणीको खोंच, किनारैकिनार पुग्छन्। कतै माखा भन्किएको, केही गन्हाएको जस्तो लागे त्यसमा नजर लगाउँछन्। बिहानैदेखि साँझसम्म आँखाले देखुञ्जेल नदीको किनारैकिनार खोज्दै हिँड्छन्। गत साता शुक्रबार पहिरोले दुई वटा बस बगाएपछि बससहित यात्रुको खोजीमा सुरक्षाकर्मीको खटाइ यस्तो छ।
दुई वटा बसमा चालक दलका सदस्यसहित ६२ जना थिए। तीन जना पौडिएर बाँचे। अहिलेसम्म २३ जनाको शव फेला परेको छ। ३६ जना अझै बेपत्ता छन्। हरेक दिन खोजी कार्य जारी छ। घटनास्थलबाट करिब १०५ किलोमिटर टाढा रहेको भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा समेत शव फेला पारिएको छ। केही शव गण्डक नहरमा पनि फेला परेको थियो। भारतको वाल्मीकि नहरमा पनि शव फेला परेको थियो।
समय बित्दै जाँदा शव पत्ता लगाउन कठिन भएको छ। कतिपय शवको सनाखत गर्न गाह्रो भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य तीव्र पारेको छ। गोताखोरले पानीभित्र गएर खोजतलास गरिरहेका छन्। पानीभित्र खोजी गर्ने सोनार र ड्रोन क्यामेराको प्रयोग गरिएको छ। तैपनि नदीमा हराएको बसको कुनै आधार भेटिएको छैन।
तीव्र वेगको त्रिशूली, पानीको वहाव र खोंचले खोजी कार्यमा कठिनाइ भएको छ। मृतकका आफन्त प्रशासन र प्रहरीलाई खोजीका लागि आग्रह गरिरहेका छन्। पिडामा रहेका आफन्त प्रहरी कार्यालय आसपास त कहिले नदीकिनारमा भौतारिन्छन्। कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयको टोलीले देवघाटसम्म खोज्ने गरेको छ। नदीको किनार, घुमाउरो ठाउँमा खोजी गरिएको छ। घटना भएकै दिन घटनास्थलमा
गोताखोरले पानीमुनि खोज्दा गाडी भेटेनन्। गाडी बगाएको अनुमानमा केही पर मोटरबोटको प्रयोग गरेर निरन्तर खोज्दा पनि फेला पार्न सकिएको छैन।
सेतीदोभान, भोर्ले, गाईघाट, घुमाउनेमा सशस्त्रको विज्ञ टोली खटिएको छ। पानीको वेग बढी भएकोले कतिपय ठाउँमा जान मुस्किल हुने गरेको छ। कुरिनटारबाट दैनिक ७५ जना खटिएका छन्। नदीको गहिराइ र पानीको वेग बढी भएको कारण खोजी कार्यमा कठिनाइ भएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रमुख एसपी माधव पौडेलले बताए। ‘साँघुरो ठाउँमा नदी बगेको छ। कतिपय स्थानमा जान पनि सकिँदैन। तैपनि हामीले कोसिस गरिरहेका छौं। गाडी रहेको हुनसक्ने सम्भावित ठाउँमा टोली खटाएका छौं’, पौडेलले भने, ‘ त्रिशूलीको प्रकृति नै जटिल खालको छ। खोंच, वहाव र गहिराइले अप्ठेरो भएको हो। हामीले कोसिस जारी राखेका छौं।’ बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म दिनहुँ टोली खटिएको उनले बताए।
भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणघाट–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले असार २८ गते बिहान दुईवटा बस बगाएको हो। सशस्त्रले पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामराको प्रयोग गरेर बसको खोजी गरेको छ। पानीको वेगले सोनार क्यामेराबाट गरिने खोजी कार्य पनि प्रभावित छ। यो क्यामेराले तीन सय मिटरसम्मको वस्तु या आकृति कैद गर्छ। मोटरबोटमा राखेर यसको प्रयोग गरिएको छ। तर पानीको वेगले मोटरबोट हुत्याउँदा क्यामेरा हल्लिएर तस्विर कैद गर्न अप्ठ्यारो भएको छ।
‘स्थिर ठाउँमा जसरी यो क्यामेराले राम्रो काम गर्छ बगेको पानीमा क्यामेरा हल्लिने हुँदा सोचेअनुसार काम हुन पाएको छैन’, एसपी पौडेलले भने, ‘जमेको पानीमा खिच्न सहज हुन्छ। तर यहाँ मोटरबोट नै पानीले हल्लाएर खिच्नै गाह्रो भएको छ। ’
दुर्घटनाका बारेमा अध्ययन गर्न असार ३१ गते गृह मन्त्रालयले कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले स्थलगत अध्ययन गरेर फर्किएको थियो। कार्यदलले घटनास्थलको अवलोकन र चितवनमा छलफल गर्यो.। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सशस्त्र प्रहरीका तीन सयभन्दा बढी, नेपाल प्रहरीका डेढ सय र नेपाली सेना डेढ सयको संख्यामा परिचालित छन्। ‘हामीले हरेक दिन उत्तिकै सक्रियताका साथ खोजी गरेका छौं। सम्भावित ठाउँमा खोजी भइरहेको छ। हरेक दिन शव फेला परेको छ’, प्रजिअ यादवले भने, ‘सबै प्रविधि लगाएर खोजेका छौं। कुनै कसर बाँकी राखेका छैनौं। वर्षात्को कारण पनि नदीको बहाव बढी भएकाले कठिनाइ भएको हो। ’
काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल नामको यात्रुबस नदीमा बेपत्ता भएको हो। त्रिशूलीमा यसअघि पनि धेरै गाडी बेपत्ता भएका छन्। त्रिशूलीको किनार भएकै कारण यो सडकखण्डको यात्रा जोखिमपूर्ण छ।
नारायणघाट–मुग्लिन सडकखण्डमा गत वर्ष भएको ५५ दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो। ती घटनामा १ सय ५१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले बताए। पृथ्वी राजमार्गअन्तर्गत चितवनमा पर्ने सडकखण्डमा भएका १८ सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको थियो भने ६२ जना घाइते भएका छन्।
पर्सा र बाराका १६ जना
त्रिशूली नदीमा बस खसेर बेपत्ता हुने ६२ जनामध्ये पर्साका १० र बाराका ६ गरी १६ जना परेका छन्। तीमध्ये एन्जल डिलक्स बसमा १५ र गणपति बसमा १ जना सवार थिए। शुक्रबार साँझसम्म ती १६ मध्ये दुई जनाको मात्र शव भेटिएको छ। बाँकी १४ जनाको कुनै अत्तोपत्तो छैन। यस्तै दुवै बस पनि अहिलेसम्म फेला पर्न सकेका छैनन्।
घटना भएको यतिका दिनसम्म पनि शव भेटाउन नसकेपछि दुर्घटनामा परेका पर्सा र बाराका यात्रु र चालक जीवित नरहेको मान्दै उनीहरूका परिवारजन र आफन्तले धार्मिक रीतिरिवाजअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्न थालेका छन्। दुर्घटनामा परेका पर्सा र बाराका १६ मध्ये शुक्रबार साँझसम्म शव नभेटिएका १४ मध्ये ९ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।
शुक्रबार मात्रै एन्जल बसका चालक पर्साको वीरगन्ज–१६ का ३६ वर्षीय जवाहिर महतो, बाराको कलैया–१४ की स्वास्थ्यकर्मी २५ वर्षीया सृष्टि यादव र बाराकै देवताल–३ का २२ वर्षीय अरबिन्द पण्डित दुबेको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
यस्तै, दुर्घटनामा एकै परिवारका तीन जना परेका पर्साको सखुवाप्रसौनी–३ का ५८ वर्षीय हृदयनारायण राउत चौधरी र उनकी पत्नी ५३ वर्षीया कुसमी देवीको पनि शव नभेटिएपछि बिहीबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको थियो। उनीहरूका छोरी २८ वर्षीया चन्द्रप्रभाकुमारी चौधरीको भने शव गत बुधबार दुर्घटनास्थल भन्दा १०३ किलोमिटरको दूरीमा भेटिएको थियो। त्यसैदिन उनको देवघाटमा अन्त्येष्टि गरिएको थियो। यस्तै, एन्जल बसमै सवार बाराको प्रसौनी–१ का ५५ वर्षीय ताराचन्द पटेल र उनकी पत्नी ५० वर्षीय कुसमी देवीको पनि शव नभेटिएपछि परिवारजन र आफन्तले गत बुधबार नै कुशकोे छुट्टाछुट्टै शव बनाएर दाहसंस्कार गरिसकेका छन्।
पर्साको बहुदरमाई– ८८ का १९ वर्षीय सुजितकुमार साह र उनका सहपाठी त्यही गाउँका २१ वर्षीय ओमहरि यादवको पनि कुनै अत्तोपत्तो लाग्न नसकेपछि परिवारजनले गत मंगलबार कुशको शव बनाएर अन्त्येष्टि गरेका थिए। एन्जल बसमा सवार बाराको विश्रामपुर– ३ का ४० वर्षीय परमानन्द पण्डितको भने शव भेटिएको थियो। उनको पनि अन्तिम संस्कार भइसकेको छ। गणपति बसमा सवार बाराकै जितपुरसिमरा–१६ का ४५ वर्षीय नरबहादुर विकको अवस्था अझै अज्ञात छ। यस्तै, एन्जल बसमा सवार पर्साको सखुवा प्रसौनी– ३ का स्वास्थ्यकर्मी २२ वर्षीय रैफुल आलम, पर्साकै पर्सागढी–७ का ६३ वर्षीय सलिम मियाँ र उनकी पत्नी ६२ वर्षीय सैनुफ खातुन पनि अहिलेसम्म अज्ञात नै छन्।
‘यतिका दिनसम्म कुर्दा पनि न सास भेट्यौं, न त लास नै’
घटना घटेको झन्डै एक साता बितिसक्यो। तर दाइ–भाउजूमध्ये कसैको पनि अवस्था पत्ता नलागेको बारा प्रसौनी–१ का रमेश पटेलले दुःखेसो पोखे। दाजु भाउजू जीवित रहेको आस मारेर हिन्दू रीतिरिवाजअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको पटेलले बताए।
उनले भने, ‘यतिका दिनसम्म न सास भेट्यौं, न त लास नै। अब मेरा दाइ–भाउजू जिउँदै हुनुहोला भन्ने आस नै मारिसक्यौं हामीले। त्यही भएर कुशको शव बनाएर दाहसंस्कार गरिदियौं। १३ दिने काजकिरियाको काम पनि अगाडि बढाइसक्यौं।’ रमेशका अनुसार दुर्घटनामा परेका उनका दाजु ताराचन्द र भाउजू कुसमीदेवीका दुई छोरी र दुई छोरा छन्।
यस्तै, शुक्रबार कुश बनाएर दाहसंस्कार गरिएकी बारा कलैया–१४ की स्वास्थ्यकर्मी सृष्टि यादवका बुवा जगदीश यादवले भने, ‘छोरीको लास पाइहाल्छ कि भनेर सात दिनसम्म कुर्यौं तर भेटिएन। लासमात्रै भए पनि पाइदिएको भए मन बुझाउनु हुन्थ्यो। अब पक्कै पनि जीवित छैन होलि भनेर आज कुशको शव बनाएर हिन्दू रीतिरिवाजअनुसार दाहसंस्कार गरिदियौं।’ कुशको शव बनाएर दाहसंस्कार गरे पनि छोरीको अन्तिम बिदाइ गर्दा पनि उनको मुख हेर्न नपाएको पिडाले नमरेसम्म आफूहरूलाई सताइरहने पिडा उनले पोखे।
- दुई वटा बसमा चालक दलका सदस्यसहित ६२ जना थिए। तीन जना पौडिएर बाँचे। अहिलेसम्म २३ जनाको शव फेला परेको छ। ३६ जना अझै बेपत्ता छन्।
- त्रिशूली नदीमा बस खसेर बेपत्ता हुने ६२ जनामध्ये पर्साका १० र बाराका ६ गरी १६ जना परेका छन्। तीमध्ये एन्जल डिलक्स बसमा १५ र गणपति बसमा १ जना सवार थिए।
पर्साको पर्सागढी नगरपालिका–७ रघुनाथपुरका सलिम मियाँ र उनकी पत्नी सैनफ खातुनका परिवारजन भने जीवितै नभेटिए पनि शव भेटिन्छ कि भन्ने आसमा छन्। सलिमका सहोदार भाइ हमिद मियाँ भन्छन्, ‘दाइ–भाउजू यतिका दिनसम्म पनि जिउँदै होलान् भन्ने आस त छैन अब। तर कमसेकम लास त पाइन्छ होला भनेर आस अझै मरेको छैन। लासमात्रै भए पनि पाइदिए हुन्थ्यो। किनकि आफ्नो रीतिरिवाज अनुसार लास दफनाइयो (अन्त्येष्टि) भने मात्रै दाइ–भाउजूको आत्माले शान्ति पाउँथ्यो।’
पीडितलाई स्थानीय र प्रदेश सरकारको राहत
त्रिशूली दुर्घटनामा परेकाहरूको परिवारका लागि सम्बन्धित पालिकाका जनप्रतिनिधिले राहतको घोषणा गरेका छन्। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दुर्घटनामा परेका एन्जल बसका चालक जवाहिर महतोका तीन छोरा–छोरीको शिक्षादीक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने बताएका छन्।
गत बुधबार बिहानै वीरगन्ज–१६ नगवास्थित महतोको घरमै पुगेर पीडित परिवारसँग भेट्दै मेयर सिंहले महतोका दुई छोरा र एक छोरीको पठनपाठनको सम्पूर्ण जिम्मा महानगरले लिने बताएका हुन्। यस्तै वडाध्यक्ष परशुराम चौरसियाले पनि चालक महतोको १३ दिने किरियामा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताए।
यस्तै दुर्घटनामा परेका पर्साको सखुवा प्रसौनी गाउँपालिकामा घर भएका चार जना र त्यहाँ कार्यरत बारा घर भएकी एक स्वास्थ्यकर्मी गरी पाँच जनाको परिवारलाई जनही १ लाख २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गाउँपालिका अध्यक्ष यशवन्त यादवले बताए। यसका अतिरिक्त दुर्घटनामा परेका महुवन स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट रैफुल आलमको उनकै वडामा गाउँपालिकाले सालिक निर्माण गरिने उनले जानकारी दिए।
त्रिशूली दुर्घटनामा परेका बाराको प्रसौनी गाउँपालिका— १ का ताराचन्द पटेल र उनकी पत्नी कुसमी देवीको परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले बताए। दुर्घटनामा परेका पर्सा र बाराका अन्य पालिकाका यात्रुका लागि भने ती पालिकाले अहिलेसम्म राहतको कुनै घोषणा गरेका छैनन्। मधेस प्रदेश सरकारले भने दुर्घटनामा परेका मधेसवासीका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
सरकारप्रति पीडित परिवारको आक्रोश
स्थानीय र प्रदेश सरकारले राहतको घोषणा गरे पनि दुर्घटनामा परेकाहरूका आफन्त र छिमेकीहरू सरकारको रवैयाप्रति आक्रोशित छन्। त्रिशूलीमा ६२ जनासहितको बस खसेको एक साता बितिसक्दा पनि खोज तथा उद्धारमा सरकारको गम्भीर पहल नभएको उनीहरूको गुनासो छ। स्थानीय र प्रदेश सरकारले राहतका नाममा १ लाख रुपैयाँमात्रै दिने घोषणाले उनीहरू झन् आक्रोेशित छन्।
दुर्घटनामा परेका एन्जल बसका चालक जवाहिरका छिमेकी वीरगन्ज–१६ नगवाका जितेन्द्र पटेलले ६२ जनाको ज्यान लिने गरी दुर्घटना हुँदा पनि सरकार र नेताहरूले खोजी तथा उद्धार कार्यलाई गम्भीरताका साथ नलिएको बताए। उनले भने, ‘जुन दिन दुर्घटना भयो त्यो दिन काठमाडौंमा सरकारमा रहेकाहरू र नेताहरू प्रधानमन्त्री र मन्त्री बन्नमा व्यस्त थिए। घटनास्थलमा कोही मन्त्री वा नेता पुगेनन्। आज एक साता बढी भइसक्यो तैपनि न त प्रधानमन्त्री न त कुनै मन्त्री दुर्घटनास्थल पुगेका छन्।’
काठमाडौंका मात्रै नभई आफ्नै क्षेत्रबाट जितेका सांसद र विधायक पनि पीडितहरूको घरमा अहिलेसम्म मुख देखाउन पनि नआएकोमा पनि उनले आक्रोश पोखे। उनले भने, ‘प्रदेश सरकारले एक लाख दिन्छु भनेको छ। त्यसले के नै हुन्छ र ? जवाहिरका तीन जना छोरा छोरी छन्। त्यो एक लाखले उनीहरूको पालनपोषण र शिक्षादीक्षा के हुन्छ ? अब केन्द्र सरकारले भए पनि कम्तीमा १० लाख रुपैयाँ राहत दिने घोषणा गर्नुपर्छ।’
अर्का छिमेकी मधु चौरसियाले पीडित परिवारको भरणपोषणका लागि सरकारले ध्यान दिनुपर्ने बताए। मधेस सरकारले घोषणा गरेको एक लाख रुपैयाँको राहत झारा टार्ने काम मात्रै भएको भन्दै उनले भने, ‘त्यो एक लाखले के नै हुन्छ र ? घरमूली नै नरहेको अवस्थामा एक लाखले श्रीमती र बालबच्चालाई कहिलेसम्म थेग्छ ? यो एक लाखको घोषणा गरेर मधेस सरकारले झारा टार्ने काममात्रै गरेको छ।’
कम्तीमा पनि पीडित परिवारका एक सदस्यलाई सरकारी जागिरको व्यवस्था गरिदिनुपर्ने उनले बताए। यस्तै, जीविकोपार्जनका लागि बैंकबाट लिएको ऋण पनि सरकारले मिनाहा गरिदिनुपर्ने उनको माग छ। बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले केन्द्र सरकारले हालै कुनै पनि प्राकृतिक दुर्घटनामा परेकाहरूका लागि १० दिनसम्म पनि अवस्था पत्ता लाग्न नसकेमा पीडित परिवारलाई जनही २÷२ लाख रुपैयाँ राहत दिने घोषणा गरेको बताए। त्यसका कारण त्रिशूली घटना भएको १०औं दिन आइतबार पुग्ने र त्यसपछि सरकारले घोषणा गरेको उक्त राहत उपलब्ध गराउन सम्बन्धित पीडित परिवारलाई सम्पर्क गरिने उनले बताए।