बाबुराम कार्की । पाल्पामा ३ वटा ठूला अस्पताल भएकाले सधैंं रगतको अभावले बिरामीलाई परेको समस्या समाधानका लागि जिल्लाको नवनिर्वाचित सिँगो रेडक्रसकर्मी लागिरहेका छौं। पाल्पामा वार्षिक ४ हजार युनिट रगतको आवश्यकता पर्छ। १८ महिनादेखि नवनिर्वाचित कार्यसमितिले पाल्पामा ‘हाम्रो ब्लड बैंक हामी बनाउँछौं’ अभियान चलाइएको हो।
ब्लड बैंक सञ्चालन गर्ने निर्णय त भयो तर हामीसँग एक पैसा रकम थिएन। हामी रकम संकलनको अभियानमा लागेका छौं। रकम संकलनका लागि केन्द्रको नियमअनुसार २ थरी सदस्यता खुलाएर र स्मृति कोषमार्फत सहयोग संकलन अभियान चलाएका छौं। जसमा सदस्यहरूबाट सहयोग उठाइरहेका छौं।
रकम सहयोग गर्ने व्यक्ति संघसंस्थालाई रेडक्रसको सदस्यसँगै ब्लड बैंक सहयोगी दाताका रूपमा ताम्रपत्रमा नाम उल्लेख गरिने छ। व्यक्तिगत, तथा विभिन्न संघसंस्थाबाट अहिलेसम्म ब्लड बैंकका लागि करिब ४० लाख रुपैयाँ नगद संकलन गरिसकेका छौं। सहरी विकास तथा भवन डिभिजन कार्यालयबाट १ करोड ५३ लाख र स्वास्थ्य मन्त्रालयबाट ५० लाख रुपैयाँ भवन तथा उपकणका लागि बजेट विनियोजन भएको छ।
स्वदेश तथा विदेशमा रहेका पाल्पालीहरू तथा संघसंस्थालाई सहयोगका लागि अपिल गर्दै आएका छौं। ब्लड बैंक सञ्चालनका लागि करिब ५ करोड ७५ लाख ६४ हजार रुपैयाँ बजेट आवश्यक पर्नेमा ३ करोड रुपैयाँ मुद्दतीमा राखेर कर्मचारी र प्रशासनिक खर्च चलाउने र पौने ३ करोड रुपैयाँ भवन र जग्गामा खर्च हुनेछ। आउँदो मंसिर महिनाभित्र ब्लड बैंक सञ्चालनका लागि हामी सबै दिनरात नभनी खटिएका छौं।
(कार्की, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति हुन्।)