धनुषामा कुटपिटबाट पुरुषको मृत्यु, दुईजना पक्राउ
ढल्केवर(धनुषा) : धनुषामा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-२ मंगलपुरका अन्दाजी ४५ वर्षीय भोगेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ।
कुटपिटबाटै भोगेन्द्रकी श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए। उनका अनुसार श्यामुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको छ।
सोमवार बिहान सोही ठाउँका सुर्जी मुखिया र उनका छोरा नागेश्वरले भोगेन्द्र र उनकी श्रीमती स्यामुलाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट भोगेन्द्रको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि जनकपुर ल्याइएकोमा दिउँसोको पौने १ बजेको समयमा चिकित्सकले भोगेन्द्रलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक अवाले जनाए।
अहिले सूर्जी र उनका २१ वर्षीय छोरा नागेश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अवाले बताए। 'कुटपिटका क्रममा धारिलो हतियार प्रयोग भएको भन्ने कुराहरू पनि आएको छ। अनुसन्धानले थप कुराहरू खुल्दै जान्छ,' प्रहरी नायव उपरीक्षक अवाले अन्नपूर्णसँग भने 'उनीहरूको पुरानो रिसिबी रहेको भन्ने छ।'
ठाकुरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको धनुषा प्रहरीले जनाएको छ।