महानगरले उद्योगमै फोहोर थुपार्न थालेपछि उद्योगीहरूले फेरि जनाए प्रतिबद्धता
वीरगन्ज : सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूमै वीरगन्ज महानगरपालिका फोहोर लगेर थुपार्न थालेपछि उद्योगीहरूले अबदेखि नदीमा उद्योगको रसायनयुक्त पानी र फोहोर वस्तु नफाल्ने प्रतिबद्धता जनाएका छन् ।
नदीमा प्रदूषण नगर्न पटक पटक चेतावनी दिनुका साथै आर्थिक जरिवाना गर्दा पनि नटेरेपछि वीरगन्ज महानगरपालिकाले अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटाइल्स प्रालि र मोरियम लेदर इण्डस्ट्रिजमा आइतबारदेखि दिनहुँ ट्याक्टर र ट्रिपरमा कचरासहितको फोहोर लगेर उद्योगपरिसरमै थुपारिदिएको थियो। मंगलबार पनि महानगरपालिकाले अर्निका टेक्सटाइल्समा १६ ट्याक्टर फोहोर लगेर थुपारेको थियो।
त्यसपछि मंगलबार अर्निकाका सञ्चालक गौरव गाडिया, श्रीसिद्धीका सञ्चालक अशोक मित्तल र मरियमका सञ्चालक फारुख जमइले मेयर राजेशमान सिंहको कार्यकक्षमै पुगेर अबदेखि नदीमा आफूहरूले उद्योगबाट निस्किने रसायनयुक्त पानी र अन्य फोहोरवस्तु नमिसाउने लिखित प्रतिबद्धता जनाएका हुन्।
मेयर सिंहका सामु उनीहरूले बुधबारदेखि नदीमा उद्योगले प्रदूषण नगर्ने, उद्योग परिसरमा वाटर ट्रिट्मेन्ट प्लान्ट जडान गर्ने, उक्त प्लान्टमा रसायनयुक्त पानी प्रशोधन गरेर सफा पानी मात्रै नदीमा मिसाउने लगायतको लिखित प्रतिबद्धता जनाएको मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।
त्यसक्रममा मरियमका सञ्चालक जमइले यसअघि महानगरपालिकाले गरेको ३ लाख रुपैयाँको जरिवाना २४ घण्टाभित्रै तिर्ने प्रतिबद्धता पनि जनाएको फुयाँलले बताए ।
मंगलबारको छलफलमा मेयर सिंहले भने यसअघि पनि उद्योगीहरूले आफैं महानगरपालिकामा आएर यस्तै प्रतिबद्धता जनाएको भए पनि नदीमा फोहोर पानी मिसाउने कार्य नरोकेकाले अहिले पनि उद्योगीहरूले जनाएको प्रतिबद्धता कार्यान्वयन हुनेमा आफू विश्वस्त हुन नसकेको बताए ।
यसअघि महानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगहरूमा सिल नै गर्ने तयारी गरेपछि गत वैशाख ९ गते पनि ९ वटा उद्योगका उद्योगीहरूले महानरपालिकाको कार्यालयमै पुगेर मेयर सिंहसँग १५ दिनको समय माग्दै नदी प्रदूषित नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए।
तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बित्दासमेत उद्योगले नदी प्रदूषित गरिरहेपछि आइतबारदेखि महानगरपालिकाले ती उद्योगहरूमा सहरबाट संकलन गरिएका कचरासहितका फोहोर ट्याक्टर र ट्रिपरमा लगेर थुपार्न थालेको थियो ।