भक्तपुरमा बाढी : ७० भन्दा बढी घर डुबानमा, ५० जनाको उद्धार
भक्तपुर : भक्तपुरमा गए रातीको वर्षापछि आएको बाढीमा परी ७० भन्दा बढी घर डुबानमा परेका छन्। त्यस्तै ५० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
सूर्यविनायक नगरपालिकामा बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको थियो ।
बाढीले बालकोटको माइक्रोबस पार्क क्षेत्रको बस्ती पनि डुबनमा परेको छ ।
बाढीमा फसेकाको उद्धार गर्न राति १ बजेदेखि प्रहरी र स्थानीय खटिएका थिए। बाढीमा फसेका ५० जनाभन्दा बढीको उद्धार गरिएको समाचार राससमा छ।
मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भएका स्थानीयले जनाएका छन् । बस्तीभित्र बाढी पसेपछि रातीबाट सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त थिए ।
यो क्षेत्रमा हनुमन्ते खोलाले नभइ कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको स्थानीयले आरोप लगाएका छन्।