महोत्तरीमा बाढीले भत्काएको सडक एकतर्फी सञ्चालनमा आयो
बर्दिवास : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा बाढीले भत्काएको सडक एकतर्फी सञ्चालनमा आएको छ । भारी वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको भीषण बाढीले बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय जनकपुरले सडक बगाएको ठाउँमा ग्राबेल माटो हुरेर एकतर्फी सडक सञ्चालनमा ल्याएको छ । सडक बगाएको ठाउँमा ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले जानकारी दिए ।। उनका अनुसार राजमार्ग सञ्चालनमा आएपछि अलपत्र परेका सवारी साधनहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
मंगलबार खोलामा आएको बाढीले बहाव परिवर्तन गरेपछि राति सडक बगाएको डिभिजन कार्यालय जनकपुरका इन्जिनियर विकास झा बताउँछन् । ‘मंगलबार बाढीले पुल नजिकै रुख बगाएर ल्याएको रहेछ । रुखले पानी ब्लक भएपछि बाढीले बहाव परिवर्तन गरेर बुधबार बिहान सडक बगायो,’ इन्जिनियर झाले भने,‘यो पुल पनि ३०–३५ वर्ष पुरानो हो । यस्को स्पान पनि सानो छ । त्यसकारण पनि समस्या भयो ।’
पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा ३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गरिएको थियो । साना सवारी साधनहरू डाइभर्सनमा गुडेपनि ठूला मालबाहक सवारी साधनहरू अलपत्र परेका थिए । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीमा पर्ने अधिकांश पुलहरू जीर्ण अवस्थामा रहेको छ ।