गर्मीले युरोपमा बर्सेनि १ लाख ७५ हजारको मृत्यु
कोपनहेगन (एएफपी) : विश्वका अन्य देशहरूको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण बर्सेनि १ लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ।
डब्लूएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका ४ लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा १ लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ। स्वास्थ्य निकायका अनुसार यस क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ। डब्लूएचओको युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्यएसियाका केही देशहरू पनि समावेश छन्। डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले भने, ‘मानिसहरूले अन्तिम मूल्य चुकाइरहेका छन्।’
डब्लूएचओका अनुसार विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा ३० प्रतिशतले वृद्धि भएको छ। क्लुजले भने, ‘तापक्रमको चरम सीमाले मुटु, श्वासप्रश्वास, ‘सेरेब्रो–भास्कुलर डिजिज’, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ।