पार्टीभित्र शुद्धीकरणको विषयलाई गम्भिरतापूर्वक लिन्छौं : थापा
काठमाडौं : कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको विचार उच्च भए जनसमर्थन बढ्दै जाने बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले पार्टीभित्र उठेको शुद्धिकरणको विषयलाई युवा नेताहरुले गम्भीरताका साथ लिने बताएका हुन्।
उनले पार्टी नेतृत्वले गल्ती कमजोरीहरु सच्याएर अघि बढ्न सक्नुपर्ने धारणा राखे। थापाले भने,‘पार्टी भित्रको शुद्धीकरणको विषयलाई गम्भिरतापूर्वक लिन्छौं। गल्ती कमजोरीहरू सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्याउँछौं।’ थापाले पार्टीले गर्ने निर्णयहरूको कारणले गर्दा कसैको शीर निहुरिनु नहुने बताए।
महामन्त्री थापाले पदभन्दा पनि पार्टीलाई महत्त्व दिएर निष्ठाको केन्द्र बनाएरै छाड्ने प्रतिबद्धता जनाए।