जल यातायात सञ्चालन हुने गरी काम गर्नुस् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने कार्यमा प्राथमिकता दिन आग्रह गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन आग्रह गरेका हुन्।
नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे।
पानीजहाजबाट सीमापारदेखि सामानहरु ल्याउन–लान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ थियो। ‘पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ । ठूला भन्सार पनि खोलौँ। सबै काम त्यहीँबाट हुन्छ। यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ।’
पानीजहाजसँगै रेल यातायातमा जानुपर्ने बताउँदै उनले हाल सञ्चालित कुर्था–जनकपुर रेलमार्गमा दुई वटा रेल थप्नुपर्ने बताए। ‘त्यहाँको मार्गलाई बर्दिबाससम्म ल्याउनुपर्छ। पूर्व पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ। काठमाडौंमा जमिनमुनि रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुपर्छ’, उनले भने।
प्रधानमन्त्री ओलीले पूर्व पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरू पनि ग्वाँटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने बताए।