कागबेनी ‘यार्तुङ’ महोत्सवमा सिंकी घोडा प्रथम
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा शनिबार आयोजित खुला घोडा दौड प्रतियोगितामा ‘सिंकी’ नामको घोडा च्याम्पियन बनेको छ। वारागुङ मुक्तिक्षेत्र-४ र कागबेनी गाउँको संयुक्त आयोजनामा सञ्चालन भएको छैठौं यार्तुङ महोत्सवको घोडा दौड प्रतियोगितामा २१ वर्षीय युवा उज्जव सुनारले हाँकेको सिंकी घोडा प्रथम भएको हो।
गाउँपालिकाअन्तर्गत १२ वटा घोडा दौडमा सहभागी मध्ये वारागुङ-१ झारकोटका नम्डु गुरुङको निजी घोडाले सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि च्याम्पियन बनेको यार्तुङ मेला आयोजक समितिका संयोजक युण्डुक गुरुङले बताए। कागबेनी खेलमैदानदेखि एक्ले भट्टीसम्मको करिब ५ किमी दूरीमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा नम्डु गुरुङले पालेको सिंकी घोडा प्रथम भएको हो।
प्रतियोगितमा वारागुङ-१ छेङ्गुरका पुनम गुरुङले हाँकेको ‘लक्की’नामक घोडा दोस्रो र वारागुङ-१ झारकोटकै नाम्ग्या वाङ्दी गुरुङले हाँकेको ‘कालु’ नामक घोडाले तृतीय स्थान हासिल गरेको छ। प्रथम भएका उज्वल सुनारले नगद ३५ हजार, दोस्रोलाई १० हजार तेस्रो हुनेलाई ५ हजार नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र जितेका छन्।