पूर्ण स्तनपानका समस्या र चुनौती
विगतका वर्षहरूमा जस्तै विश्व स्तनपान सप्ताह यस वर्ष पनि Closing the Gap: Breast feeding support to all अर्थात् 'स्तनपानमा समानता : सबैको सहयोग र सहभागिता' भन्ने मूल नाराका साथ मनाइएको छ। इतिहासलाई फर्केर हेर्दा सन् १९९२ देखि World Alliance for Breast feeding Action (WABA) को पहलमा हरेह वर्ष अगष्ट १ देखि ७ सम्म सप्ताहव्यापी रूपमा स्तनपान सप्ताह मनाइँदै आएको पाइन्छ। नेपालमा पनि आमा र बच्चासँग सरोकारवाला संस्थाहरूको सहकार्यमा स्तनपान सप्ताह निरन्तर मनाइँदै आएको छ।
स्तनपान आमा र बच्चा दुवैको लागि अति नै फाइदाजनक छ। स्तनपान गर्न पाउनु बच्चाको नैसर्गिक अधिकार पनि हो। आमाको दूध बच्चाका लागि 'अमृत समान' हुन्छ, जसबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धिदर हनुका साथै स्वस्थकर र पचाउन सजिलो हुन्छ। अझ कम तौल र समय अगावै जन्मिएका aच्चाहरूलाई आमाको दूध अत्यन्तै उपयोगी हुन्छ। यसले आमा र बच्चाबीच माया ममता बढाउँछ। स्तनपान गराउँदा आमाले आराम पाउनुका साथै आमाको दूध सस्तो र सजिलो समेत हुन्छ। कुनै पनि झन्झट वा बिना कुनै तयारी स्वस्थकर पोषणयुक्त खाना बच्चाले पाउँछ।
विभिन्न अध्ययनअनुसार स्तनपानले स्तन र पाठेघर क्यान्सरजस्ता प्राणघातक रोगहरूको जोखिमबाट बचाउँछ। साथै पूर्णरूपमा स्तनपान गराउन सके महिनावारी ६ महिनासम्म नहुने हुँदा गर्भ रहने जोखिम हुँदैन। विश्व स्वास्थ संगठनका अनुसार पूर्ण स्तनपान जम्मा ४८ प्रतिशतले मात्र गरेको देखिन्छ। जबकि २०३० को लक्ष्य ७० प्रतिशत छ। नेपालको तथ्याङ्कलाई हेर्दा नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०२२ अनुसार पूर्ण स्तनपानको आँकडा घट्दो रूपमा देखिन्छ। सन् २०११ मा ७० प्रतिशत रहेकोमा २०१६ मा ६६ प्रतिशत र २०२२ मा ५६ प्रतिशतले मात्र पूर्ण स्तनपान गरेको देखिन्छ।
नेपालमा स्तनपानका लागि विभिन्न नीति नियमहरू बनेका छन्। ९८ दिनसम्म दिइने तलबी प्रसूति बिदाले पनि स्तनपानलाई सहयोग गरेको देखिन्छ। त्यसैगरी प्रसूति भएको ६ महिनासम्म पनि यदि कुनै आमाले बिदा लिन चाहेमा बेतलबी बिदाको सुविधा छ। ५० भन्दा बढी महिलाहरू कार्यरत रहेको संस्थामा नर्सिङ यूनिट बनाउन सकिने प्रावधानसमेत छ, जसले गर्दा आफ्नो बच्चालाई पूर्णरूपमा स्तनपान गराउन सहज हुने देखिन्छ। विभिन्न अस्पतालहरूलाई स्तनपानमैत्री, अस्पतालको रूपमा घोषणा गरी लिखित नियमहरू बनाई पालना गरिएको समेत देखिन्छ। जसमा नवजात शिशुहरूमा आमाको दूधबाहेक बोतल तथा अन्य खानेकुराहरू नखुवाउने उल्लेख छ। अन्तर्राष्ट्रिय स्तरमा विगत लामो समयदेखि Milk Bank को धारणा र अभ्यास रहे पनि नेपालको सन्दर्भमा २०२२ मा परोपकार प्रसूति गृह थापाथलीमा 'अमृत कोष' स्थापना भएको छ। जसबाट रोजगारीमा रहेका र स्तनपान गराउन नसक्ने आमाहरूको लागि पूर्ण स्तनपान गराउने सुनौलो अवसर मिलेको छ।
अमृत समान रहेको स्तनपानका लागि विभिन्न कठिनाई तथा चुनौती छन्। स्तनपानसम्बन्धी जनचेतनाको कमी, रोजगारी अर्थात् कार्यक्षेत्रमा रहेका विभिन्न कठिनाइ, समस्याहरू नेपाल सरकारका स्तनपान सम्बन्धि नीति नियमहरू पूर्णरूपमा कार्यान्वयनमा नआउनु, निजी क्षेत्रहरूलाई समेट्न नसक्नु, पर्याप्त र उपयुक्त जानकारी नहुनुजस्ता चुनौतीहरू हाम्रासामू रहेका छन्।
यी विविध चुनौतीहरूको समाधानका लागि स्तनपानसम्बन्धी जनचेतना जगाउन आमा, परिवारका सदस्य र सरोकारवालाहरूमा स्तनपानसम्बन्धी नीति र कार्यक्रमहरू पूर्णरूपमा पालना गराउने, पूर्ण स्तनपानको लागि सहयोग र सहभागिताको सुनिश्चितता गर्ने साथै आमाको दूध निकालेर भण्डारण गरी बच्चालाई खुवाउने व्यवस्था गर्न सकिन्छ।
विश्व स्वास्थ संगठनका अनुसार आमाको दूधलाई रेफ्रिजेरेटरमा १८ सेल्सियसमा कम्तिमा ६ देखि १२ महिनासम्म, ४ सेल्सियसमा ४ दिनसम्म र सामान्यतया कोठाको तापक्रममा ४ देखि ६ घण्टासम्म प्रयोग गर्न सकिने विश्व स्वास्थ संगठनलगायत विभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ।
अन्त्यमा पूर्णरूपमा स्तनपान सफल बनाउनु हरेक व्यक्ति, परिवार, समाज, कार्यस्थल लगायत सरकार र सम्पूर्ण सरोकारवालाको जिम्मेवारी हो। साँच्चै नै विश्व स्वास्थ्य संगठनको २०३० सम्मको ७० प्रतिशत पूर्ण स्तनपान गराउने लक्ष्य पूरा गर्न सबैको सकरात्मक सहयोग र सहभागिता अपरिहार्य छ।
सह प्राध्यापक शर्मा र उप प्रध्यापक थपलिया पोखरा नर्सिङ क्याम्पसमा कार्यरत छन्।