आज देशैभर पानी पर्ने, भारी वर्षा हुने स्थानमा सतर्क रहन अनुरोध
काठमाडौं : आज बिहानै बाट देशका सबै प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको छ।
आज (बुधबार) दिउँसो भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मुसलधारे वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।
त्यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने धेरै नै ठूलो पानी पर्ने विभागले उल्लेख गरेको छ।
आज राती पनि देशभर नै सामान्य वर्षा हुने जनाउँदै कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार र शुक्रबार पनि देशैभर मनसुनको प्रभाव कायमै रहने छ। अन्य साधारण वर्षा भए पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाले उल्लेख गरेको छ।
देशका सबै प्रदेशमा वर्षा हुने तथा केही स्थानमा धेरै ठूलो पानी पर्ने भएकोले सम्भावित संकटबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ।