महिलालाई ३३ र दलितलाई १० प्रतिशत अनिवार्य गरौं : आरजु राणा
काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने बताएकी छन्।
पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका-२०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सभागिताको नीति लिएको भए पनि प्रत्यक्ष निर्वाचनमै यसको सुनिश्चितताको माग गरेकी हुन्।
'समावेशीताका विषयमा म पहिल्यैदेखि भन्ने गरेको के हो भने प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाउँ, यो मेरो सुझाव हो,' उनले भनिन्। उनले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशीतासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा राखिन्।
केन्द्रीय सदस्य राणाले स्थानीय तहमा लैङ्गिक र सामाजिक समावेशीताको पनि सामाजिक अडिट गर्नुपर्ने, स्थानीय तहमा रहेका पार्टीका जनप्रतिनिधिले गरेका कामका साथै पार्टीको केन्द्र र प्रदेश तहमा भए गरेका समग्र कामको अनुगमन तथा मूल्याङ्कन गर्न एक छुट्टै संयन्त्रको निर्माण गर्नुपर्ने बताइन्।