प्राधिकरणले गर्‍यो हवाई सुरक्षा लागूदरमा कडाइ

प्राधिकरणले गर्‍यो हवाई सुरक्षा लागूदरमा कडाइ

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा लागूदरलाई कडाइका साथ नियमन गर्ने भएको छ। आन्तरिक उड्डयन कम्पनीहरूको हवाई सुरक्षालाई नियमन गर्न प्राधिकरणले उक्त लागूदरको अडिट सुरु गरेको हो।

प्राधिकरणले अहिलेसम्म अडिट गरेका हवाई कम्पनीहरूमध्ये दुईको हवाई सुरक्षा लागूदर ६० प्रतिशतभन्दा कम पाइएको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरको हवाई सुरक्षा लागूदर ६० प्रतिशतभन्दा कम भएको भूलले बताए। उक्त लागूदर न्यूनतमभन्दा पनि कम भएकोले यी दुई हेलिकोप्टरको उडानमा रोक लगाएको छ। 

उनीहरूलाई प्राधिकरणले स्पष्ट कार्ययोजनासहित उडान सञ्चालन अनुमति (एओसी) किन खारेज नगर्ने सम्बन्धमा स्पष्टीकरण सोधेको भूलले बताए। प्राधिकरणले ७२ घण्टाको अल्टिमेटमसहित बिहीबार नै सम्बन्धित कम्पनीहरूलाई चिठी पठाएको छ। यी हवाई कम्पनीहरूको कार्ययोजना सन्तोषजनक भए एओसी निलम्बन नहुने तर उडान भने लागूदरको ६० प्रतिशतमाथि भएपछि मात्र सुचारु गरिने उनले बताए। यदि हवाई कम्पनीहरूको सफाइ सन्तोषजनक नभए एओसी खारेज गरिने र लागूदर ६० प्रतिशत कटेपछि मात्र पुनः दिने बताइएको छ।

प्राधिकरणले हवाई सुरक्षा लागूदरमा मुख्यता संस्थाको संरचना र सुरक्षा व्यवस्थापनको प्रतिबद्धता, सुरक्षा जोखिम (सेफ्टी रिस्क), सेफ्टीका डकुमेन्टेसन र व्यवस्थापकीय गरी चार पक्षमा जाँच गरिने बताइएको छ। गत साउन ९ गते दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सलाई प्राधिकरणले उडानमा रोक नलगाएको भूलले बताए। दुई जहाज भएको सौर्यमा एउटा जहाज दुर्घटनामा नै उच्च पदस्थ कर्मचारी गुमाएका कारणले स्वचालित रूपमा नै जहाज ग्राउन्डेड भएको बताइएको छ।

हवाई दुर्घटनामा सुधार नहुँदा हवाई सुरक्षामा प्रश्न उठ्ने गरेको छ। गत साउन ९ गते सौर्य एयरकोे विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाए। काठमाडौं विमानस्थलमा नै भएको दुर्घटनापछि प्राधिकरणले सुरक्षा निर्देशिकाको अडिट सुरु गरेको बताएको छ। प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को सुरक्षा निर्देशिकाअन्तर्गत सेफ्टी म्यानेजमेन्ट सिस्टम र क्वालिटी म्यानेजमेन्ट सिस्टमको लागूदर निकाल्ने काम भइरहेको हो। सन् २०२३ को लागूदरले अहिले मूूल्यांकन गर्न नमिल्ने भन्दै प्राधिकरणले २०२४ को पछिल्लो सात महिनामा आन्तरिक हवाई कम्पनीहरूले हवाई सुरक्षाका इन्डिकेटरहरूमा कसरी काम गरेका छन् भनेर अडिट भइरहेको छ।

प्राधिकरणले अडिट गर्दा हवाई सुरक्षा लागूदर ६० प्रतिशतभन्दा तल आएकाको उडान रद्द गर्ने, ६० देखि ७५ प्रतिशतभित्र भएकालाई आवश्यकता अनुसार केही परिवर्तन गर्न लगाउने र त्यसमाथि आएकालाई उडान गर्न दिने भन्ने छ। अडिटको काम चलिरहँदा नै अर्को साउन २३ गते एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए। प्राधिकरणले आन्तरिक उडान भर्ने ठूला जहाज र हेलिकोप्टरहरूको सुरक्षा अडिट गरिरहेको हो। प्राधिकरणका अनुसार ठूला जहाज कम्पनी नौ र हेलिकोप्टर कम्पनी १२ सञ्चालनमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.