पूर्वीय संस्कृतिमा नागपूजा

पूर्वीय संस्कृतिमा नागपूजा

ऋग्वेदमा नागमतबारे स्पष्ट उल्लेख नपाइए तापनि यसबारेमा केही उल्लेख भने पाइन्छ। यसमा इन्द्रलाई सर्प (अहि) का शत्रु हुन् भनी उल्लेख गरेको पाइन्छ। त्यस्तै यसमा अहि हत्या र फणयुक्त अहिको बारेमा पनि वर्णन गरेको पाइन्छ। अथर्ववेदमा पनि नागमतबारे उल्लेख छ। काठक संहिताले पितृ, सर्प, गन्धर्व, जल एवं औषधीहरूलाई पञ्चजन भनेका छन्। एतरेय ब्राम्हणमा पनि देव, मनुष्य, गन्धर्व, सर्प एवं पितृलाई पञ्चजनको संज्ञा दिएका छन्। वृहदारण्यकोपनिषद् ४.४.७. मा नागको केंचुलबारे वर्णन गरिएका छन्। यजुर्वेदमा नागहरूलाई नमस्कार गरिएको छ।

सूर्योपासनाको प्राचीन परम्परा जसमा सर्प सूर्य रश्मिमण्डलको प्रतीक स्वरूप छ भने बाट पनि सर्प पूजाको प्राचीनता थाहापाउन सकिन्छ। अझ ऋग्वेदमा सूर्य अहिको रूपमा वर्णित छ। पछि कालान्तरमा सर्पोपासनाको रूपमा विश्वव्याप्त हुन गएको हो कि भन्ने देखिन्छ। सर्पलाई वैभवमय मातृत्वको प्रतीक स्वरूप पनि मानिन्छ। वेदले सर्पका केंचुल सदृश मानेका छन्। सर्प केंचुलको परित्याग गरी नित्य नवीन बन्छ भनेको छ। यो अमरत्वको प्रतीक र विलासको प्रतीक हो भनी पुराणले पनि मानेको छ। वेदको अनुसार सूर्य रश्मिहरू तिमिरको विनाश गर्छन् भनेको छ। मानव शरीरको शक्ति मूलको रूपमा रहेको षट्चक्रमध्येका मूलाधारमै सर्पिणीको जस्तै आकृति भएको कुण्डलिनी शक्ति अवस्थित छ। सर्प सूर्यको प्रतीक हो। यसले के देखाउँछ भने मानिसलाई आफ्नो षट्चक्रमध्येको मूलाधार भएको सर्पिणी जस्तै आकृति भएको कुण्डलिनी शक्तिलाई निरन्तर अगाडि बढाउने दिशामा अग्रसर हुनुपर्छ भन्ने कुरा बुझाउन खोजेको देखिन्छ।

वायु र विष्णु पुराणमा पनि दश नागराजबारे उल्लेख छ। वाकाटक, गुप्तवंशीय र मथुराका अभिलेखहरूमा नागवंशीय शासकहरूको उल्लेख पाइन्छ। मथुरामा पाइएका मुद्राहरूको अध्ययनबाट केही नाग कुशानहरूका सामन्त भएको थाहा पाइन्छ। गुप्तवंशीय राजाहरूले नागराज गणपति नागसेनलाई परास्त गरेका थिए र चन्द्रगुप्त द्वितीयले नागकन्या कुबेर नागसित विवाह गरेका थिए। नागराजाहरूले कुशान क्षेत्रहरूलाई परास्त गरी वाराणसीस्थित गंगा तटमा अश्वमेध यज्ञ गरेका थिए भन्ने कुरा वाकाटक अभिलेखबाट थाहा पाउन सकिन्छ।

हिन्दु सनातन धर्ममा भएका देवताहरूमा मात्र नभई बौद्धमूर्तिहरूको शिरमा र जैन तीर्थङ्करहरूको मुकुटाकारमा सर्पका आकृतिहरू निर्मित गरिएका छन्। जैन धर्ममा यो परम्परा कहिलेदेखि सुरु भयो भन्ने सन्दर्भमा एउटा कथा लोकप्रिय छ। जैन धर्मका २३औं तीर्थङ्कर पाश्र्वनाथले एकपटक यज्ञमा जल्न लागेका एक सर्पयुग्मको रक्षा गरेका थिए। कालान्तरमा त्यही सर्पयुग्म धीरेन्द्र र पद्मावतीको नामले प्रख्यात भई तिनका प्रथम शिष्य भए। त्यसै बेलादेखि जैन तीर्थङ्करहरूका आकृतिहरूको शिरमा सर्पाकार मुकुट बनाउने चलन चलेको हो। यिनै पाश्र्वनाथले आर्य एवं नाग जातिहरूबीच समधुर सम्बन्धको सुत्रपात गरे भन्ने भनाइ पनि छ।

पाण्डुपुत्र अर्जुनले नागकन्या उलूपीसित विवाह गरका थिए। जरतकारुमुनिले वासुकी नागकन्यासित विवाह गरेका थिए। रघुवंशमा नागकन्याहरूको विवाह रघुवंशीहरूसित भएको कुरा उल्लेख छ। राजतरङ्गिनीमा किरा नागको प्रतीक मानिएको छ। कर्काेटक नागराज विनतापुत्र गरुडको आक्रमणबाट त्राण पाउन कौलमार्गी देवता भगवान् मत्स्येन्द्रनाथको शरणमा परे। मत्स्येन्द्रनाथले तिनलाई आफ्नो घाँटीमा मालाको रूपमा लगाई गरुडको आक्रमणबाट रक्षा गरे। यसैले गर्दा मत्स्येन्द्रनाथको घाँटीमा नागराज कर्काेटक मालाको रूपमा रहेको हो भन्ने आख्यान प्रचलनमा छ।

नेपालमा रहेको पशुपति सूर्यघाटस्थित उत्तरप्राचीनकालीन संवत् ४२७ को अभिलेखमा लिच्छवि राजा मानदेवकी रानी भोगिनी भनी स्पष्टरूपले उल्लेख छ। सोही समयको श्रीमानांक अभिलेख अंकित मुद्राको पृष्ठभागमा भोगिनी लेख उत्कीर्ण गरिएको पाइएबाट उपर्युक्त समयमा नेपालमा लिच्छवि शासकहरूले नागहरूसित वैवाहिक सम्बन्ध जोडी आफ्नो राजनीतिक पकडलाई मजबुत तुल्याएका थिए भन्ने कुरा थाहा पाउन सकिन्छ। हाल भक्तपुरमा मनाइने बिस्केट जात्रामा पनि नागको विशेष उल्लेख भएको पाइन्छ।

यो दिन नागपूजा गर्ने परम्परा किन प्रचलित भयो भन्नेबारे विभिन्न आख्यान पाइन्छ। वराह पुराणमा ब्रह्माले नागहरूलाई श्राप एवं वर दुवै यही दिन दिए। जसले गर्दा त्यस दिनदेखि नागपूजा गर्ने परम्परा चलेको थियो। यसबाहेक अर्काे आख्यानअनुसार यसैदिन आस्तिकको सदुपदेशबाट परिक्षितपुत्र जनमेजयलाई आफ्नो अपूर्ण नागयज्ञ समाप्त गर्नुप¥यो। त्यसै दिनदेखि यो तिथि नागपञ्चमी भनिन् थालियो। भविष्य पुराणमा वर्णित गरेअनुसार आफ्नो आज्ञालाई पालना नगरेको कारण नागमाता कद्रुले छोराछोरी सबैलाई उपर्युक्त जनमेजयको नागसत्रमा जलेर मरुन भनेर श्राप दिएकी थिइन्।

सर्पहरूको उपासना नेपाल र भारतमा मात्र नभई अन्य देशमा पनि भएको कुरो अश्विनीकुमारलाई जस्तै रोमवासीहरूले एसकुलपिपसलाई देव वैद्यको रूपमा मान्छन्। यी एसकुलपिपसका हातमा दुइटा सर्पहरू राखिएको हुन्छ। मिश्रबासिको हार्मिस, बेबिलोनियाको बेल आदि सबै सर्पका प्रतीक मानिएर तिनीहरूको पूजा गरिन्छ। अलेक्जेन्डर नागवंशीय थिए भन्ने भनाइ छ। इजरायलका राजा योथभले नागपूजाका लागि एक मन्दिरको निर्माण गरेका थिए। एसिया माइनरका प्राचीन मुद्राहरूमा सर्पका आकृतिहरू बनाइएका छन्। बाइबलको आरम्भमै आदम र इबको आख्यानमा सृष्टि रचनाको समयमा एउटा सर्प रूखमा टाँसिराखेको देखाइएको छ। भारतवर्षमा जस्तै अमेरिकामा पनि नागवंशीहरू थिए।

महादेवको मुखबाट नागपूजा देवताहरूका लागि पनि दुर्लभ भएको कुरा व्यक्त भएबाट नागपूजाको महिमा र यसको महत्वबारे प्रस्ट हुन्छ। शिवको पूजा रिखेश्वरको रूपमा पार्वत्य इलाकाहरूमा नागपञ्चमीको दिन गर्ने गरिन्छ। नेपालको टिष्टुंग भेकमा ऋषेश्वर महादेवको मन्दिर छ। यसले पनि नागको महिमा दर्शाएको छ। शिव नागहरूद्वारा घेरिएर बसेका हुन्छन् र यिनको शिरमा नागको छत्र हुने गर्छ। स्वयं भगवान् बासुदेवले नागराज वासुकीलाई स्वयं आपूm नै मानेका छन्। गणेश एक हातमा नागवाण छ र तिनको कटिमा नागको आवरण दिइएको छ। श्रीकृष्णका दाजु बलराम र श्रीरामका भाई लक्ष्मणलाई शेषनागको अवतार मानिएको छ। शेषनागले सम्पूर्ण पृथ्वीलाई धारण गरिराखेको र भगवान् विष्णु क्षीर सागरमा शेषशैय्यामा अवस्थित रहन्छन्। यिनै कारण यज्ञद्वारा भगवान्ले सर्प पूजाको विधान गरे।

यसप्रकार नागपञ्चमीको पूजा विभिन्न ठाउँमा नागलाई सम्मान प्रकट गरिएबाट केही शिक्षा पनि प्राप्त गर्न सकिन्छ। विभूति पूजा र साम्य दृष्टि यो योनिमा उत्पन्न प्रतापी जीव विभूतिवान्को रूपमा लिइन्छ। भगवद्गीताको अध्ययनमा यस कुराको पुष्टि छ। प्राचीन मनीषिहरूले विभूतिपूजाको आज्ञा दिएका छन्। विभूतिपूजाको अभिप्राय शरीरद्वारा परमात्माको अंशको जत्ति विकास र त्यसको पूजा हो। यही सिद्धान्त वासुकि आदि द्वादश नागहरूको पूजामा लागु भएको छ। नागपूजाको विभूतिवान सर्प हो।

यस आदर्शअनुरुप नागपञ्चमीको मूल आर्यहरूको सभ्यता तथा धर्मपरायणतामा दूध दिने गाईको मात्र पूजा त सबैले गर्छन् तर विष ओकल्ने सर्पको पनि पूजा गर्नुनै आर्यहरूको उच्च आदर्श हो भन्न सकिन्छ। नागको पूजाको विधि अनुरूप सबैले नागको फोटोहरूलाई हरेक वर्षको श्रावण शुक्लपक्षको पञ्चमीको दिन घरघरको ढोकाढोकामा गाईको गोबर र दुबो राखेर टाँसेर धुपबत्ती, अबिर, अक्षता, फलपूmल, पैसा, दूध चढाइ गर्ने गरिन्छ। त्यस्तै खेतहरूमा पनि नागको पूजा गर्ने गरिन्छ। घरमा यसरी नाग टाँस्नाले र पूजा गर्नाले घरमा चट्याङ पर्नेबाट बचाउँछ भन्ने मान्यता छ। खेतमा गरिने नागको पूजाले यथेष्ट मात्रामा बालिनालीलाई चाहिने पानी नागले पु¥याइदिन्छन् भन्ने पनि जनविश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.