दोस्रो पुस्ताप्रति डेनमार्कमा नेपाली समाजको चासो
प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूलाई आफ्नो मूलथलोको महत्त्व र रहन सहन भुल्न नदिन डेनमार्कस्थित नेपाली समुदायले एकपछि अर्को बालबालिका केन्द्रित कार्यक्रमहरू आयोजना गर्न थालेका छन् ।
दोस्रो पुस्तालाई एकजुट गराई आपसमा परिचित गराउन तथा नेपाली भाषा, कलासंस्कृति, परिकार, परम्परा, चाडपर्व आदिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजनमा ती कार्यक्रमहरू निकै अर्थपूर्ण देखिएका छन् । नयाँ पुस्तालाई नेपाल र नेपालीसँग नजिक गराउने हेतुका केही कार्यक्रमहरू उल्लेखनीय छन् ।
नेपाली पाठशाला
डेनमार्कको राजधानी कोपन्हेगनमा केही वर्ष पहिलादेखि नै सञ्चालित नेपाली पाठशाला पूर्णतया बालबालिका केन्द्रीत कार्यक्रम हो । नगरपालिकाकै व्यवस्थापनमा सञ्चालन हुने सो पाठशालाका प्रमुख प्रशिक्षक दिपक कुमार तिवारी हुन् । विद्यालयको अनिवार्य अध्ययनपछि आफ्नो मातृभाषा र नेपली कलासंस्कृति रहनसहनबारे ज्ञान लिन पाउने यो अतिरिक्त कक्षामा नेपाली बालबालिकाहरूले निस्शुल्क भर्ना पाउँछन् । हरेक वर्ष दर्जनौंको संख्यामा नेपाली बालबालिकाले यो सुविधामार्फत नेपाली भाषा लेख्ने, बोल्ने, पढ्ने मौका नेपाली पाठशालामार्फत पाउने गरेका छन् । हाल कोपन्हेगन बाहिरका नेपाली समुदायको बाक्लो बसोबास रहेको अन्य नगरहरूमा पनि नेपाली अतिरिक्त कक्षाहरूको थालनी भएको पाइएको छ । यसले नयाँ पुस्तालाई नेपाली नबिर्साउन अहम् भूमिका खेलेको पाइन्छ ।
बाल हाजिरीजवाफ
गत जुनको २३ तारिखमा विभिन्न संघसंस्थासँगको सहकार्यमा एनआरएनए डेनमार्कले बाल हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्यो । यसपटक कार्यक्रम एलेक्स पोखरेलले संयोजन गरे । गैर आवासीय नेपाली संघ डेनमार्कले हरेक वर्ष नेपाली बालबालिकाहरू माझ हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ। बढीभन्दा बढी नेपाली बालबालिकाहरू सम्मिलित गराउने लक्ष्यसहित नेपालकै इतिहास, भूगोल, कलासंस्कृति, परम्परा, राजनीति, भाषासाहित्य आदिका प्रश्नावलीहरू सो हाजिरीजवाफका विषय हुने गरेका छन् । प्रतियोगितामा भाग लिनुअघि तयारीका लागि अध्ययन सामग्री समेत उपलब्ध गराइनुले बालबालिकाले पढेर नेपालबारे धेरै कुराको जानकारी पाउँछन् । यसले पनि नयाँ पुस्तामा नेपाल सम्बन्धि धेरै ज्ञान सम्प्रेषण गर्न मदत गरेको पाइन्छ।
नेपाली फेमिली फेस्टिभल
यही अगष्ट ३ तारिख शनिबारको दिन कोपन्हेगनमा फेमिली फेस्टिवल सम्पन्न भयो । यसपलीको इभेण्ट प्रमिला अधिकारी र देव गिरीले संयोजन गरे । डेनमार्कका विद्यालयमा बालबालिकहरूको लामो छुट्टी हुने अवसर पारेर वर्षमा दुई पटक नेपाली पारिवारिक महोत्सव आयोजना हुन थालेको पनि केही वर्ष भयो । हाल कोपन्हेगनमा हुने गरेको सो उत्सवमा नेपाली अभिभावक र बालबालिकाहरू एकसाथ उपस्थित भएर मौलिकताका विभिन्न आयामहरू प्रस्तुत गरिन्छन् । नेपाली परम्परागत प्रदर्शनी, नेपाली परिकार, भेषभुषा, वाद्यवादन, खेलकुद र रमाइला थुप्रै गतिविधिहरूमार्फत अभिभावक र बालबालिकाहरूले एकसाथ प्रवासमा नेपालको झझल्को मेटाउँछन् । पहिलो पुस्ताका नेपाली अभिभावकहरूको स्वयंसेवी स्वस्फूर्त सहभागिता र सामूहिक आयोजनामा हुने सो कार्यक्रमले नेपाली बालबालिकालाई नेपालसँग नजिक्याउन अझ विशेष र छुट्टै भूमिका खेलेको मान्न सकिन्छ ।
किड्स फुटबल
गत २७ जुलाईका दिन कोपन्हेगनमै बालबालिकाहरू सम्मिलित टीमको फुटबल खेल सम्पन्न भयो । नेपाली जनसम्पर्क समिति नामक संस्था राजनीतिक पृष्ठभूमिकै भएपनि हरेक वर्ष यसले आयोजना गर्ने गरेको बाल फुटबल प्रतियोगिताले नेपाली बालबालिकाहरूलाई फेरि एक ठाउँमा ल्याउने गरेको छ । नेपाली दोस्रो पुस्ताबीच एकआपसको परिचय र सामूहिक सहभागिताको निरन्तरतामा यसले पनि राम्रो भूमिका निर्वाह गरेको छ ।
ग्राजुएसन समारोह
दोस्रो पुस्ताका नेपालीहरूलाई उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि शुभकामना तथा बधाइ दिँदै प्रोत्साहन स्वरूप अघिल्ला वर्षहरूमा कक्षा १२ उत्तीर्ण भएका र यस वर्ष उत्तीर्ण हुने विद्यार्थीहरूलाई यही अगष्टको १० तारिख शनिबारको दिन कोपन्हेगनमा एकै ठाउँ भेला गराई एनआरएनए डेनमार्कले सम्मान गरेको छ । यसपटक सो समारोहको संयोजकको भूमिका सन्तोष बस्नेतले निभाए । पहिलो पुस्ताका प्रवासी नेपालीहरूले नेपालबाट ल्याएका वा डेनमार्कमै जन्मिएका बालबालिकाहरू अब डेनमार्कमा धमाधम उच्चशिक्षा हासिल गर्न थालिसकेका छन् । केहीले त पूरा गरिसकेका पनि छन् । यस्तोमा गैर आवासीय नेपाली संघ डेनमार्कले यस बर्षदेखि नयाँ र उल्लेखनीय कार्यक्रमको थालनी गरेको छ । नेपाली दोश्रो पुस्ताको ग्र्याजुएसन सेरेमोनी भनिएको सो कार्यक्रमले पनि नेपाली बालबालिकाहरूलाई आफ्नो समुदायसँग नजीक गराउन गजबकै भूमिका खेल्यो भन्न हिच्किचाउनु पर्दैन। उद्देश्य उत्तम हुँदाहुँदै पहिलो वर्षको पहिलो अनुभवलाई सुधार्दै समेट्न छुटेका विद्यार्थीहरूलाई पनि समेटेर भविश्यमा यसले निरन्तरता पाएमा नयाँ पुस्तालाई नेपाली हुनुमा साँच्चै गर्वको महसुश हुनेछ।
यी केही उदाहरण हुन् । यसका अलावा गैरआवासीय नेपाली संघले आयोजना गर्ने दसैं, तिहार, सांस्कृतिक कार्यक्रम, क्रियटिभ नेपालिज विमन्स इन डेनमार्कले आयोजना गर्ने तीज विशेष कार्यक्रम,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्ने गीत तथा नृत्यका कार्यक्रमहरू आदिमा पनि नेपाली बालबालिकाहरूका आकर्षक प्रस्तुतिहरूलाई महत्वका साथ स्थान दिने गरेको पाइएको छ।
यस हिसाबले प्रवासमा हुर्किएको नेपाली दोस्रो पुस्ताले पनि नेपाललाई हृदयमा सँगै लिएर हिँडून् भन्ने सचेतनाका लागि डेनमार्कको नेपाली समुदाय र यहाँका केही सामाजिक संघसंस्था सजग पाइएका छन् ।