सांगीतिक सुवास छर्ने गुरुदेव कामत
गुरुब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ।
अर्थात् गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान् शंकर हुन्। गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म हार्दिक नमस्कार गर्दछु। संसारमा गुरु शब्दलाई ओजस्वी शब्दको रूपमा लिइन्छ। गुरु महिमाको वर्णन गर्न कुनै पनि भाषाका शब्दहरू अपूरा र अधुरा छन्। गुरु शब्द उच्चारण गर्दा परमानन्दको अनुभूति हुन्छ।
मेरा संगीतका गुरु गुरुदेव कामतमा यही भावको अनुभूति सँगाल्थें। खासमा ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्त्वको महत्त्व हुन्छ। संगीतको क्षेत्रमा त गुरुको महत्त्व र आवश्यकता अझ बढी हुन्छ। संगीत मेरो सानैदेखिको रहरको विषय। ५÷६ कक्षामा पढ्दा विद्यालयमा आफ्नै शब्द र लयमा माइक समातेर गीत गाएँ, ‘बालकैमा आमाले छाडिन् म त सानी छोरी, साथीसंगी भन्ने गर्छन् टुहुरी..।’ आमा, बुवा, हजुरबुवा, हजुरआमा हुँदा नै किन यति भावुक गीत लेखें ? अनि किन गाएँ ? थाहा छैन। श्रद्धेय गुरु कामतको सम्झनामा यी हरफहरू लेखिरहँदा सांगीतिक रूपमा आफूलाई ‘टुहुरी’ महसुस गरिरहेकी छु।
संगीतको सुरुवाती ज्ञान स्वरसंगम संगीतालयमा गुरु कुशेश्वर राईबाट सिकें। सिकाइलाई निरन्तरता दिएँ। विराटनगरमा पाँच वर्ष संगीत सिकें। संगीत अथाह सागर रहेछ। पाँच वर्ष पनि कम लाग्यो। काठमाडौं आएपछि गुरुकुल संगीत पाठशालामा श्रद्धेय गुरु गुरुदेव कामतसँग थप संगीत अध्ययन गरें। उहाँसँग सिक्ने रहर र चाहना उतै हुँदादेखिको थियो। यो तारतम्य जीवनको ठूलो उपलब्धि ठानेको छु। यो सम्बन्ध सेतुका लागि श्रीमान् आशिष खतिवडाप्रति कृतज्ञ छु। गुरुकुल संगीत पाठशालामा म गुरुदेव कामतसँग एक घण्टाको सिकाइका लागि भर्ना भएकी थिएँ। गुरुको सिकाउने तरिका, सिक्ने चाहना अनि गुरुको ममत्व र आत्मीयताले दिनभर सबै कक्षामा सहभागी हुन्थें, संगीतको अधिक ज्ञान लिन्थें। मेरो गहिरो लगाव देखेर गुरु कामत छक्क पर्नुहुन्थ्यो। त्यसैले सायद वातावरण मिलाइदिनु हुन्थ्यो। त्यसैले सायद सधैंको ऋणी भएकी छु।
संगीत साधना हो भन्ने गुरुको मूलमन्त्रलाई आत्मसात् गरी साधनामा तल्लिन रहें। गुरुसँग सिक्ने धोको कोरोना कालले ओझेलमा पारिदिए पनि मनबाट मेटिएन। सिकाइ अनन्त हुन्छ भन्ने पनि गुरुको नै वचन थियो। फेरि पनि सिकाइलाई निरन्तरता दिन गुरुकुल संगीत पाठशाला पुगेर उहाँसँग संगीत सिक्दै थिएँ। अचानक गुरुको स्वास्थ्यमा समस्या देखियो। परीक्षणमा दुवै मिर्गौला फेल भएको पाइयो। स्वास्थ्य अवस्था नाजुक हुँदाहँुदै पनि गुरुले ज्ञान बाँड्न छोड्नु भएन। त्यतिमात्र होइन, लहानमा पुगेर आफ्नो उपचार खर्च संकलनको उद्देश्यले एकल कार्यक्रमसमेत आयोजना गर्नु भयो। यद्यपि हामी गुरुको स्वास्थ्यप्रति चिन्तित थियौं।
बी एन्ड बी अस्पतालका वरिष्ठ नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. शैलेन्द्र श्रेष्ठसँग परामर्श गरी परीक्षण गर्दा तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने तथा प्रत्यारोपण तत्काल सम्भव नभए तत्कालै डायलासिस सुरु गर्नुपर्ने बताउनुभयो। त्यसपछि बी एन्ड बीमा रोटरी क्लब अफ राजधानीले अस्पताललाई भर्खरै नि: शुल्क उपलब्ध गराएको अत्याधुनिक डायलासिस मेसिनबाट गुरुको नि: शुल्क डायलासिस सुरु भएथ्यो। डायलासिसले केही दिनमा स्वास्थ्यमा क्रमिक सुधार आयो। उपचारको क्रममा आर्थिक अभाव भएपछि काठमाडौंको बसाइलाई टुंग्याएर गृह जिल्ला सिरहा जानुभयो गुरु। लहानस्थित ओमसाई अस्पतालमा डायलासिस गराउनु भयो।
हाम्रो सबै कामना र कल्पना कुल्चिएर २०८१ साउन १७ गते बिहीबार गुरु कामतले मृत्यु अँगाल्नु भयो। असामयिक निधन र त्यसपछिको अपत्यारिलो खबरले हामी सबै स्तब्ध भयौं। धर्ती भासिएजस्तो, आकाश खसेजस्तो। आज १३ दिन बित्यो, उहाँले यो संसार छोडेको। संगीत छोडेको अनि चेलाचेली र शुभचिन्तक छोडेको। तर पनि गुरु हुनुहुन्न भन्ने कुरा विश्वास गर्न सकिरहेकी छैन। सत्य आखिर सत्य नै हुन्छ, विश्वास गर्नु विकल्प छैन। गुरु भन्नुहुन्थ्यो, ‘बबिना, तिमीमा क्षमता छ, भविष्यमा संगीतको क्षेत्रमा राम्रो सफलता हासिल गर्नेमा ढुक्क छु।’ उहाँको विश्वास कायम राख्न सक्छु सक्दिनँ, यो मलाई चुनौती छ।
गुरुका यस्तै वाणी बेलाबखत गुञ्जिरहन्छन्। मुटुमा झंकृत भइरहन्छन्। गुरुको अभावमा कसरी अबको संगीत यात्रामा अघि बढाउने ? चिन्तनमा छु, चिन्तामा पनि। गुरु विद्वान् हुनाका साथै सत्यवादी, असल आचरण भएका, नैतिकवान् र अभिभावकत्व ग्रहण गर्न सक्षम हुनुपर्छ भन्ने पौराणिक मान्यता छ। त्यो अवसर पाएकी थिएँ। उसो त नेपाली शास्त्रीय संगीतमा गुरुले दिनु भएको योगदान मुलुककै लागि अनुकरणीय छ। विनयीभाव गुरुको गहना नै थियो। कहिल्यै अहंकार, आडम्बरपन र म ठूलो भन्ने भाव भेटिनँ। सधैंको सादगीपन, शाीलनता, भद्रताजस्ता गुणले आभूषित हुनुहुन्थ्यो उहाँ।
ध्यानको मूल गुरुको स्वरूप हो, पूजाको मूल गुरुको चरण हो, मन्त्रको मूल गुरुको वाणी हो भने मोक्षको मूल गुरुको कृपा हो भनिन्छ। त्यसैले गुरुको सेवा गरी गुरुबाट ज्ञानआर्जन गर्नु र जीवनलाई सफल बनाउनु नै जीवनको सार्थकता हो, जीवनको कर्म हो, धर्म हो र जीवनको सम्पूर्णता हो। गुरु हामीमाझ नभए पनि उहाँले दिएका ज्ञान हामीभित्रै छन्, दीक्षा दिएका धेरै शिष्यहरूले उहाँका सपना साकार पार्नेछन् भन्नेमा विश्वस्त छु।