अमेरिकामा सर्वाधिक पुरस्कार राशीका नेपाली फुटबल र भलिबल खेल हुने

अमेरिकामा सर्वाधिक पुरस्कार राशीका नेपाली फुटबल र भलिबल खेल हुने
सुन्नुहोस्

न्यूयोर्क : अमेरिकास्थित नेपालीमूलका नेपालीहरूका लागि सर्वाधिक पुरस्कार राशीका फुटबल र भलिबल खेलहरू आयोजनाको घोषणा गरिएको छ । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले हरेक वर्ष नेपालीमूलका उत्तर अमेरिका(क्यानडा र अमेरिका) मा बसोवास गर्ने युवायुवती एवं खेलप्रेमीहरूका लागि आयोजना गर्ने गरेको इन्ट्रा कप फुटबल (सकर)तथा भलिबल प्रतियोगिता यसपटक अगष्टको अन्तिम सातादेखि सेप्टेम्बरको दोस्रो साताको अन्तिमसम्म अमेरिकाका दुई राज्यहरूमा हुने भएका हुन् । 

खेलको घोषणा गर्दै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले  प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको एवं नेपाली भाषी समुदायको हुनैपर्ने अनिवार्य व्यवस्था गरिएको बताए । खेलमा अमेरिका र क्यानडा निवासी नेपालीभाषी खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन्।

सोमबार कोलम्बसमा आयोजित पत्रकार सम्मेलनमा इन्ट्र कप फुटबल प्रतियोगिता सन् २०२४ को अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा र इन्ट्र कप भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा हुने जानकारी गराइएको थियो। दुबै खेलमा पुरुष र महिलातर्फका छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ । 

पुरुष फुटबल युथतर्फ विजेताले १५ हजार अमेरिकी डलर, रनिंग गोल्ड कप (१० तोला सुनको) र उपविजेताले १० हजार अमेरिकी डलर पाउनेछन्।  फाउण्डेसनका अध्यक्ष अधिकारीले मातृ-पितृभूमिभन्दा टाढा रहे पनि आफ्नो समुदायका बीच आपसी सद्भाव अभिवृद्धि गर्ने, नेपाली जातिका युवाहरूमा खेलको भावना विकास गर्ने,आपसमा स्वच्छ प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्टता हाँसिल गर्ने,आपसी भाइचाराको विकास गरी समुन्नत एवं स्वस्थ नेपाली समुदायको निमार्ण गर्ने तथा भावी पुस्तालाई समेत खेलका माध्यमबाट समुदायको सेवामा अभिप्रेरित गर्ने अभिप्रायले खेलहरू आयोजना गर्न लागिएको बताए।

फाउण्डेसनका अनुसार,पुरुष फुटबल(सकर) सिनियर युथतर्फ (३० वर्षदेखि माथि)- विजेताले १० हजार अमेरिकी डलर, रनिंग गोल्ड कप र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी पुरुष फुटबल(सकर) भेट्रान्सतर्फ (४० वर्षदेखि माथि) — विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । 

महिलातर्फ विजेताले ८ हजार अमेरिकी डलर, रनिंग गोल्ड कप र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । यी तीनवटै क्याटगोरीका प्रतियोगिताका बिजेताले १० तोला सुनसहितको रनिंग गोल्ड कप पनि जित्नेछन् । रनिंग गोल्ड कपको पूर्ण स्वामित्वका लागि तीनपटक लगातार खेल जित्नुपर्नेछ ।

फुटबल खेल अमेरिकाको ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्पेक्समा अगष्ट ३० तारिकदेखि सुरू हुनेछ । खेलको समापन सेप्टेम्बर २ तारिक सोही स्थानमा हुनेछ ।

भलिबलतर्फको पुरुष तथा महिलातर्फका दुबै खेल पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गस्थित स्पोकी नूक स्पोर्ट्स कम्पेक्समा सेप्टेम्बर १३ देखि १५ तारिकसम्म हुनेछ । फाउण्डेसनका अनुसार,भलिबलका पुरुष विजेता टिमले १२ हजार अमेरिकी डलर र उपविजेताले ८ हजार डलर एवं महिलातर्फ विजेता टिमले ८ हजार र उपविजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेसनले विगत ४ बर्षदेखि यी खेलहरु हरेक बर्ष गर्दै आएको छ ।

फाउण्डेशनको सहकार्यमा पीस जोन क्लबले १६ वर्षमुनिका किशोरकिशोरी खेलाडीको लागि पनि फुटबल आयोजना पनि सोही स्थान र मितिमा हुने भएको छ । कार्यक्रममा बोल्दै नेपालका वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले नेपाली गीतसंगीत र खेलकुदका माध्यमबाट नेपालीलाई जोड्ने फाउण्डेसनको प्रयासको प्रशंसा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.