घट्यो सेयर बजार, २१ अर्बमा झर्यो कारोबार
काठमाडौं : नेप्से परिसूचक मंगलबार ८.१८ अंकले घटेको छ। आइतबार र सोमबार उच्च वृद्धि भएको बजार आज दिनभरको उतारचढावका बीच ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा कायम भएको हो।
आज ३३२ स्क्रिप्टको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५ लाख १० हजार ६३३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन सोमबार २७ अर्ब माथिको सेयर कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको थियो।
नेप्से परिसूचक घटे पनि मातृभूमि लघुवित्त, पिपुल्स पावर र डोल्टी पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्यो।
१३ वटामध्ये पाँचवटा समूहका सूचकमा वृद्धि भयो। बैंकिङ, फाइनान्स, इनभेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र ट्रेडिङ को सूचकमा वृद्धि भएको हो।
फाइनान्सतर्फ १.५७ प्रतिशत वृद्धि भएको छ। करिब ८२ करोडको कारोबार गर्दै नेपाल फाइनान्स अग्र स्थानमा रह्यो। आइतबार र सोमबारको तुलनामा कारोबार रकम घटेपनि कारोबारमा उत्साह कायमै देखिन्छ।