अमेरिकामा 'आदिवासी जुर्मुराउँदा' गीत सार्वजनिक
अमेरिका : 'आदिवासी जुर्मुराउँदा' बोलको गीत सार्वजनिक भएको छ। विश्व आदिवासी दिवसको अवसर पारेर ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।
ममता राईको शब्द रहेको गीतमा राजेश पायल राई र सुनिता थेगिमको स्वर रहेको छ। स्टुडियो भर्सनको म्युजिक भिडियो स्टुडियो किङमा खिचिएको हो। यस गीतमा मूलबासी-आदिबासीहरूको योगदान, संस्कार र संस्कृतिको प्रवर्द्धन गरिएको छ। जुनसुकै देशमा पुगे पनि आदिबासीहरूले आफ्नो पहिचान र संस्कृतिले सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउने गर्छन्। ममता राईद्वारा रचना गरिएको गीतमा यिनै कुराहरू दर्साउन खोजिएको छ।
ममता लामो समयदेखि अमेरिका बस्दै आएकी छन्। अमेरिकामा बसेर पनि उनले आदिवासीको पहिचानलाई प्रवर्द्धन गर्दै आएकी छन्। सोही कुरालाई गीतमा समेटेर उनले अगस्ट ९ मा उक्त सार्वजनिक गरेकी हुन्। गीतमा पवन बान्तावा राईको संगीत रहेको छ भने मनोज साङसोन राईले संगीत संयोजन गरेका छन्।