‘समृद्ध नेपाल,सुखी नेपाली’को लक्ष्य पूरा गर्न देश र जनताको हितमा समर्पित भएर काम गर्छु : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई पूरा गर्न देश र जनताको हितहरुप्रति समर्पित भएर काम गर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्नको लागि आफू प्रतिबद्ध रहेको बताएका हुन्।
उनले संघीयता र गणतन्त्रसहितको व्यवस्थालाई असर कुनै पनि काम सरकारले नगर्ने स्पष्ट पारे। निकै संघर्ष गरेर अहिलेको प्रणाली ल्याउन सफल भएको भन्दै अहिलेको व्यवस्थालाई असर कुनै पनि काम सरकारले नगर्ने स्पष्ट पारे।
एमाले अध्यक्षसमेत रहेको ओलीले संविधान संशोधनमा दुई तिहाइको बल प्रयोग नगर्ने धारणा राखे। उनले भने,‘दुई तिहाइ त यसै पनि चाहिन्छ। तर, जसोतसो दुई तिहाइ पुर्याऔं भन्ने होइन। संविधानको सर्वस्वीकार्यतालाई ध्यानमा राखेर अघि बढ्छौँ।’
उनले संविधानको सर्वस्वीकार्यताको पक्षलाई ध्यानमा राखेर सबै दलहरुबीच सहमति कायम गरेर संविधानको संशोधन गरिने जिकिर गरे।ओलीले लोकतान्त्रिक व्यवस्था विरोधी प्रवृत्तिहरु देखा पर्न थालेकाले त्यस्ता प्रवृत्तिबाट देशलाई मुक्त गर्नका लागि गम्भीर भएर अघि बढ्ने उल्लेख गरे।
देश र जनताका हितलाई सर्वाेपरी राखेर यस प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे। ‘यसबीचमा प्रतिगमनका लागि संविधान संशोधन हुँदैछ भनेर केही भ्रम फैलाउन खोजिएको छ। हामीले जेका लागि सङ्घर्ष गरेका छौँ र सपथ लिएका छौँ। वाचाबन्धन गरेका छौँ। हामीले नै लोकतान्त्रिक प्रणाली मासेर जान सक्दैनौँ। तानाशाहीका पक्षमा हामी थियौँ भने राणा शासन र अधिनायकवादविरुद्ध लड्ने थिएनौँ। हाम्रो विश्वास लोकतन्त्रमाथि भएकाले नै लोकतन्त्रका लागि टाउको र गर्धन थापेर हामी लडेका आएका हौँ।’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधनीय दस्तावेज हो। लोकतन्त्रका मूल्य, मान्यतालाई अझ बढी सुदृढ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारीरुपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा यसको संशोधन गर्न सकिन्छ। तर यो संविधानको अवयवका रुपमा रहेका संघीयता र गणतन्त्रका विषयमा प्रतिकूल हुने गरी संशोधन हुन सक्दैन। संशोधन गर्दा राजनीतिक र बौद्धिक छलफलका साथै सदनको दुई तिहाइ र सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर संशोधन ल्याइनेछ।’
प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट पारे। उनले अन्य विधेयकहरुलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए।